पाउँदी(लमजुङ)– लमजुङमा एक दिवसीय तनाव मुक्त आनन्दोत्सव मनाइएको छ । राइनास नगरपालिका– ८ को मर्स्याङदी र पाउँदी दोभानको धर्मनाथ धाममा रहेको सर्वोदय सेवाश्रमको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रममा जीवन जिउने कलाका गुरु कञ्चन घिमिरेले सो कार्यक्रममा भदौ २२ गते सहजिकरण गर्नु भएको हो ।
उहाँले जीवन बदल्ने तरिकाका साथमा खुशी के कसरी प्राप्त हुन्छ ? तनाबबाट मुक्त हुन के के गर्नु पर्छ ? जस्ता व्यवहारिक ज्ञान उदाहरण सहित प्रयोगात्मक रुपमा सिकाउनु भएको थियो । उहाँले भन्नुभयो, ‘मान्छे अरुलाई बदल्ने सपना बोकेर दौडिएको छ, तर आफू बदलिनु महत्व पूर्ण छ । अरुलाई खराब देख्नु र भन्नु अघि आफ्नो खराबी देख्ने र सुधार गर्ने गर्नुपर्छ, घरलाई सुधार केन्द्र बनाउने हैन, आफै सुध्रनु पर्छ, सृष्टि खत्तम होइन, दृष्टि खत्तम हो ।’ खुशी हुने तीन उपाय छन्, ती हुन्– पहिलो मुस्कुराउने, दोस्रो अरुको कुरा नकाट्ने र अर्काको मन नदुखाउने उल्लेख गर्नु भयो ।
अरुलाई खत्तम देख्ने मान्छे आफै खत्तम हो भन्नुहुँदै उहाँले सबै प्रकारका नेताहरू राजनीति, सामाजिक, धार्मिक आदि क्षेत्रकाहरूमा अनिवार्य हुनुपर्ने पाँच गुण बारेमा प्रकाश पार्दै ती गुण नभएमा ऊ असली नेता हुन नसक्ने ठोकुवा गर्नुभयो । ती गुणहरू ‘सत्यदर्शी, समदर्शी, पारदर्शी, दुरदर्शी र प्रियदर्शी’ हुन् उहाँले भन्नुभयो ।
दुई दशकदेखि यस्तै प्रशिक्षण कार्य सञ्चालन गर्दै आउनु भएका प्रशिक्षक घिमिरेले मान्छे जीवनमा कहिल्यै रिटायर हुँदैन, शरिर बुढो हुँदैन मन बुढो हुने हो भन्ने उदाहरण सहित पुष्टि गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘जीवनमा तपाई जे खोज्नु हुन्छ त्यही पाउनु हुन्छ । जस्तो खाना र सँगत गर्नु हुन्छ त्यस्तै हुनुहुन्छ ।’
‘गायत्री जप नगर्ने, माछा, मासु, रक्सी, चुरोट, खैनी आदि खाने मान्छे ब्राह्मण र हिन्दु हुन सक्दैन’ उहाँको दृढोक्ति थियो । गायत्री जन्म सबैले हुन्छ भन्ने उहाँको धारणा थियो ।
जीवनमा प्राप्त भएको वस्तुलाई पर्यो भन्ने होइन, पाइयो भन्ने हो, भन्नुपर्छ भन्नुहुँदै यस्तो श्रीमान्÷श्रीमती, सासु/बुहारी पर्यो हैन पाइयो भन्नेमा वर्ग गर्न सक्नु पर्छ उहाँको धारणा थियो । उहाँले शरिरबाट थर र नाम हटाएपछि के बाँकी रहन्छ ? भन्ने प्रश्न गर्दै त्यो बाँकी रहेको बस्तु नै आत्मा हो त्यसैले त्यो अमर छ भन्नुभयो । उहाँले मर्नदेखि डराउने हैन, डराउन पर्दैन भन्दै त्यसका लागि योग, ध्यान, साधना गर्ने हो भने आत्मा र शरिर छुटिन सक्छ भन्ने उल्लेख गर्नुभयो । उहाँले ठोकुवा साथ थप भन्नुभयो, ‘आत्मा हो भन्ने जानी सकेपछि जात र धर्मका नाउँमा झगडा गर्नु पर्ने जरुरत नै हुँदैन ।’
योग साधना र प्राकृतिक चिकित्साका समेत पारखी उहाँ मानिसलाई रोग लाग्न नदिने अभियानमा हुनुहुन्छ कञ्चन घिमिरे । आफ्नो प्रशिक्षणका क्रममा उहाँले भन्नुभयो, ‘समाजमा केही हठी महामुर्ख मान्छे पनि हुन्छन्भे/टिन्छन् भन्ने उदाहरण दिदै एक दिन यौटा महामुर्खले र एक मुर्खसँग बाख्राको खुट्टा तीनवटा हुन्छन् भन्ने जिद्दी कसेछ । त्यो विवाद यति बढेछ कि भोलिपल्ट पञ्चायत बस्ने निधो भएछ । बेलुका महामुर्ख घरमा जान्छ र स्वास्नीलाई भन्छ, आज यस्तो यस्तो गरेर फलानोलाई मुर्ख बनाएँ, भोलि पञ्चायत बस्दैछ । ‘त्यसो भए त तपाईले हार्ने हुनुभयो नि !’ महामुर्खको श्रीमतीले भनिछन्, ‘म कसरी हार्छु ? म बाख्राको खुट्टा चार वटा हुन्छ भन्ने मान्दै मान्दिन, कस्ले मलाई बाध्य बनाउँछ या हराउँछ ?’’ त्यसैले अर्कोलाई खु्शी बनाउछु भन्नेतर्फ नसोच्नुुस्, नलाग्नुस् उहाँले भन्नुभयो ।
मानिस भौतिक सुख अर्थात सत्ता, सम्पत्ती, सम्मान र सम्भोगका पछि लागेका कारणले दुःख पाएको छ जो क्षणिक हो र तिनले दुःख मात्र दिन्छन् भन्दै उहाँले तपाईमा उत्साह छैन भने मान्नुस् तपाईलाई डिप्रेसन अवश्य नै छ, छ ।
गुरुको गालीमा पनि आशीर्वाद हुन्छ र मानिस आफ्नै अठोटले मात्र बदलिन्छ उहाँले भन्नुभयो । कण कणमा भगवान् छन् भन्ने विश्वास गर्ने सनातन संस्कृतिमा विश्वास गर्नेले काटमार किन नगर्ने ? अनि जाँच बिनाको खसीबोका, ब्रोइलर खाएर किन क्यान्सरको घर बढाउनु पर्यो ? उहाँले प्रश्न गर्नु भएको थियो । उहाँले विवाह, ब्रतबन्ध आदि सबै भोजका बेलामा शाकाहारी भोजनको प्रयोग गर्नुपर्नेमा जोड दिदै धर्मको परिभाषा दिनु भयो । उहाँले अरुले जे गरेको तपाईलाई मन पर्दैन उ वा अन्य प्रति तपाईले त्यस्तो नगर्नु नै धर्म हो भन्नुभयो ।
अनौपचारिक रुपमा सञ्चालन गरिएको उक्त कार्यक्रममा संविधानसभाका सदस्य जमिन्द्रमान घलेले आफू विगतका केही वर्षदेखि यो बाटोमा हिडेको स्मरण गर्नु हँुदै त्यो काम ठीकै गरेछु भन्ने लागेको छ, पछुतो छैन भन्नुभयो । उहाँले आज कञ्चन गुरुले सिकाउनु भएका कुराको सप्लाई र एप्लाई दुबै गर्न आवश्यक छ म प्रयास गर्नेछु भन्नुभयो । उहाँले उक्त कार्यक्रमको आयोजक आश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलिया, प्रशिक्षण दिनु हुने गुरु र सहभागी सबैलाई धन्यवाद दिदै कार्यक्रम समाप्त भएको घोषणा गर्नु भएको थियो ।
उक्त कार्यक्रममा सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला, राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङ, मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, क्ब्होलासोंथर गाउँपालिका अध्यक्ष सूर्य गुरुङ, प्रमुख जिल्ला अघिकारी रामकृष्ण अधिकारी, प्रनाउ प्रकाश श्रीमल सहित शिक्षा तथा सामाजिक एवम् पत्रकारिता क्षेत्रमा विशेष योगदान गर्नु हुने व्यक्तित्वहरूको सहभागिता रहेको आयोजक सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले जानकारी दिनु भयो ।

प्रकाशित मिति २०८० भाद्र २२, शुक्रबार २२:०६ गते