बेसीशहर– लमजुङको जिल्ला सदरमकुकाम बेसीशहरमा विश्व आत्महत्या रोकथाम दिवस सचेतना कार्यक्रमका साथ मनाइएको छ । जिल्ला प्रहरी कार्यालय र कोशिश नेपालको संयुक्त आयोजनामा उक्त कार्यक्रम भदौ २४ गते गरिएको हो ।
कार्र्यक्रमका प्रमुख अतिथि जिससका प्रमुख पूर्णबहादुर गुरुङले यस्तो कार्यक्रम जिल्लाका सबै वडा र विद्यालयमा लग्नु पर्ने बताउँदै त्यस्तो कार्यक्रम सञ्चालन गर्नका लागि पालिकाहरूमा समन्वय समितिको तर्फबाट पत्राचार समेत गरेको बताउनु भयो ।
कार्यक्रममा विशेष अतिथि बेसीशहर नगरपालिकाका उपमेयर पद्मा गुरुङले पूर्ववक्ताका भनाइप्रसत ऐक्यवद्धता जनाउँछु भन्दै यस्ता कार्यमा आफूहरूले सहकार्य गत वर्षदेखि गर्दै आएको र त्यो यो वर्षपनि निरन्तर रहने बताउनु भयो ।
यसैगरी, अर्का विशेष अतिथि प्रजिअ रामकृष्ण अधिकारीले हत्या अपराध हो चाहे त्यो अर्काको होस् या आफ्नो त्यो क्षम्य हुँदैन, हत्या कानुनतः दण्डनीय भएको बताउनु भयो । उहाँले व्यक्ति र समाजका आशा बढाउन आवश्यक छ भन्नुभयो । त्यो काम परिवार, समाज, राज्यका विभिन्न अंग तथा तीनै तहका सरकारको जिम्मेवारी हो भन्नुभयो । उहाँले आत्महत्या गम्भीर सामाजिक समस्या हो, जनस्वास्थ्यको प्रमुख समस्या हो भन्नुहुँदै आत्महत्याको असर व्यापक छ यसलाई न्यूनीकरण गर्न सबै लाग्नु पर्छ त्यसका लागि आशाको सञ्चार गर्नु पर्छ, त्यो काम सरकार र राजनीतिक प्रणालीको भूमिका अहम् हुन सक्छ भन्नुभयो ।
सो अवसरमा जिल्ला न्यायाधिवक्ता पूर्णबहादुर थापामगरले आत्महत्या र हत्याका घटनाका मुद्दाहरूको प्रकृतिको उदाहरण दिदै मानिसले बोल्ने शब्दहरूको अर्थले पनि के गर्दैछ भन्ने जानकारी हुने र मनोपरामर्शदातासँगको संगतले आत्महत्याका लागि मनस्थिति तयार गरेको व्यक्तिको समेत उपचार गर्न सकिने हुन्छ भन्ने उदाहरण दिनुभएको थियो ।
सो अवसरमा स्वागत मन्तव्य राख्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रनाउ प्रकाश श्रीमलले दिवस मनाउन २००३ देखि थालिएको, यसको महत्व र संयुक्त रुपमा कार्यक्रम गरेको जानकारी दिनु भयो । उहाँले आत्महत्याको तथ्यांक प्रस्तुत गर्दै विश्वमा प्रतिवर्ष सात लाख मानिसले आत्महत्या गर्ने, नेपाल आत्महत्याको जोखिममा सातौं स्थानमा रहेको जानकारी दिनुभयो । विश्वमा प्रत्येक ४० सेकेण्डमा एकजनाले आत्महत्या गर्ने गरेको र एउटा आत्महत्या हुँदा त्यसले १६५ जनालाई असर गर्ने प्रनाउ श्रीमलले उल्लेख गर्नुभयो ।
उहाँले गाउँमा भन्दा शहरी क्षेत्रमा आत्महत्या बढी भएको तथ्यांकले पुष्टि गरेको बताउँदै लमजुङमा गत आवमा ३९ जनाले आत्महत्या गरेको बताउनुभयो । उहाँले गत साउन यता नै छ जनाले आत्महत्या गरिसकेको जानकारी दिनुहुँदै रोकथामका लागि निःशुल्क हेल्पलाइन ११६६ मा सम्पर्क गर्न सकिने बताउनु भयो ।
सो अवसरमा वरिष्ठ पत्रकार नवराज पहाडीले महत्वपूर्ण कार्यक्रमको आयोजना भएको भन्दै शहरीकरण बढ्दै जाँदा आत्महत्याको दर पनि बढ्ने गरेको छ । कारण शहरमा मानिस एक्लो हुन्छ, पीडामा पिल्सिएको मानिसले पीडा पोख्न खोज्दा पनि मानिसहरूसँग त्यो सुनिदिने फुर्सद हुँदैन । त्यसैले आफ्नो परिवारजन, साथीसँगीका कुरा सुन्ने समय दिन र उसको पीडा वा समस्याको समाधानका लागि पहल गर्न आवश्यक छ भन्नुभयो । उहाँले निरास भएको बेलामा आफूभन्दा कमजोरलाई हेरेर साहस बटुल्ने र प्रगति गर्ने बेलामा आफूभन्दा माथिल्लोस्तरका व्यक्तिलाई हेर्ने गर्नु पर्छ भन्नुभयो ।
उहाँले जिल्ला प्रहरी कार्यालयबाट प्रस्तुत तथ्यांकमा एउटा कोलम थप गर्न सुझाव दिदै पेशा पनि खुलाऔं त्यो रेकर्डमा भन्नुभयो । किनकि, शब्दको खेती गर्ने अर्थात साहित्यकारहरूले आत्महत्या गरेको रेकर्ड विश्वमै ०.०२ प्रतिशत मात्र छ, त्यसैले विद्यार्थी भाइबहिनीहरूले साहित्य पढ्न र लेख्न तथा हामी धेरै अभिभावक छौं हाम्रा छोराछोरीलाई साहित्यमा लगायौं भने उनीहरूले आफ्नो पीडा शब्दका माध्यमले कागजमा उतार्छन् र पीडा हल्का भएपछि आत्महत्या गर्ने स्थिति टर्छ भन्नुभयो ।
प्रहरी निरीक्षक बुद्धि सुवेदीले सञ्चालन गर्नु भएको थियो ।
प्रकाशित मिति २०८० भाद्र २४, आईतवार १२:४८ गते