पर्यटन दिवस ! देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९७० सेप्टेम्बर २७ का दिनलाई संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापनाको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउन लागेको हो । यो बर्षको विश्व पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् ४४ औँ विश्व पर्यटन दिवस नेपालमा पनि ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ विविध कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ । विश्व पर्यटन दिवस मुलुकको पर्यटन प्रवद्र्धन गर्ने महत्वपूर्ण आधार हो । विश्व पर्यटन दिवसले नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका हुन्छ ।
पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२३ को आठ महिनामा छ लाख एक हजार तीन सय ६० पर्यटकहरू नेपाल आएका छन् । नेपालमा यतिखेर मुख्य पर्यटकीय सिजन सुरु भएको छ । विभिन्न मुलुकबाट पदयात्री पर्यटक उल्लेख्य सख्यामा नेपाल आउछन् । बडादशैँ, तिहार, छठलगायत पर्वले पर्यटकहरूमा रौनकता बढाउँछ । विश्वमा व्यवस्थित पर्यटनको इतिहास करिव १ सय ८२ वर्ष भएको छ । सर्व प्रथम सन् १८४१ मा बेलायती नागरिक थोमस कुकले व्यवस्थित र संगठित रुपले मानिसहरूलाई घुमाउन सुरु गरेपछि नै पर्यटनको इतिहास सुरु भएको मानिन्छ । थोमस कुकले सुरुमा आफ्नै देश बेलायतका नागरिकलाई आन्तरिक पर्यटकका रुपमा घुमाएका थिए । यसरी व्यवस्थित ढंगले नागरिकलाई मन परेको ठाउँमा घुम्न जाने र बिदा मनाउन जाने व्यवस्था मिलाएर उनले ‘ट्राभल बिजनेस’ अर्थात् भ्रमण व्यवसाय सुरु गरेका थिए । अहिले विश्वका धेरै देशको अर्थतन्त्र पर्यटनले नै धानेको छ । प्राकृतिक सुन्दरता र भौगोलिक बनोटका कारण नेपालमा पनि पर्यटनको ठूलो सम्भावना छ । तर सम्भावना भएपनि पुर्वाधार बन्न नसक्दा सोच अनुसार पर्यटन क्षेत्रको विकास हुनेको छैन । पर्यटनका लागि पहिलो आवश्यकता पूर्वाधारको विकास हो ।
नेपालमा विश्वलाई तान्ने पर्यटकीय स्थलहरू धेरै छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमै छ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मथलो यहिँ हो । सगरमाथा र पूर्वदेखि पश्चिमसम्म फैलिएका हिमश्रृखला पर्यटन स्तम्भका आधार हुन् । जैविक विविधता, ऐतिहासिक धरोहर, मठ मन्दिरका कारण पनि नेपालमा पर्यटन उद्योगको गतिलाई बढाउन सकिन्छ । साथै र्याफ्टिङका लागि विश्वप्रसिद्ध नदीहरू, विश्वप्रसिद्ध अन्नपूर्णलगायत अन्य पदयात्रामार्गहरू, विविध जनजातिका संस्कृतिहरू, चाडपर्व, रीतिरिवाज, साहसिक पर्यटन आदि सबैको संयोजनले नेपाललाई संसारकै उत्कृष्ट गन्तव्यस्थल बनाएको छ । तर यस्ता पर्यटकीय सम्भावनालाई प्रवद्र्धन गर्न सकिएको छैन । केवल विश्वले पर्यटन दिवस मनाएकै भरमा नेपालमा पर्यटक आउने पनि होइनन् । पर्यटनलाई कोठे वैठक र सेमिनारमा सीमित राखेर यसको प्रवद्र्धन पनि हुँदैन । यसका लागि नेपालमा भएका पर्यटकीय स्थलको चिनारी दिन सक्नुपर्छ ।
नेपालमा सन् १९५३ मा तेन्जिङ शेर्पा र हिलारीले सगरमाथा आरोहण गरेपछि नेपालको पर्यटन क्षेत्रले चर्चा पाउन थालेको हो । त्यसपछि विश्वका पर्यटकको ध्यान नेपालका हिमालले खिच्यो । पर्यटन विकासको क्रममा नेपालमा सन् १९७६ मा पर्यटन मन्त्रालयको स्थापना भयो र वन्यजन्तु संरक्षण क्षेत्रहरूको घोषणा भयो । त्यसपछि जैविक विविधताका आधारमा नयाँ पर्यटकीय स्थलहरू पहिचान गरी प्रचारप्रसार समेत भएको छ । नेपाल भित्रिने कुल वाह्य पर्यटकहरू मध्ये कम्तीमा ६० प्रतिशत पर्यटक संरक्षित क्षेत्रभित्र रहेको जैविक विविधता हेर्न आउछन । राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, सिमसार तथा अन्य संरक्षित क्षेत्रमा जाने हरेक वर्ष वाह्य पर्यटकहरूको सख्या बढ्न थालेको छ । विश्वसम्पदा सूचिमा चितवन, सगरमाथा जस्ता संरक्षित क्षेत्र पर्न सफल भएको छ । विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य भनेर चितवन, सगरमाथा, बर्दिया, शुक्लाफाँटा लगायतका क्षेत्र सूचिकृत भएका छन् । यी क्षेत्र जैविक विविधताका धनी क्षेत्र मानिन्छन् ।
पर्यटक को हो ? कसलाई पर्यटक भन्ने ? पर्यटन शब्दको शाब्दीक अर्थ भ्रमण हो । एक स्थानबाट अर्को स्थानहरूमा गरिने भ्रमणलाई पर्यटन भनिन्छ । भ्रमणले संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन मात्र होइन पृथ्वीको जैविक विविधताको समेत अध्ययन हुन्छ । यो बाहेक भ्रमणबाट पर्यटकको रुचि अनुसार ऐतिहासिक, पुरातात्विक एवं धार्मिक स्थलहरूको पनि अध्ययन भ्रमण एवं अनुसन्धान गर्न सकिन्छ । नेपालमा पर्यटकहरू के का लागि भ्रमणमा आउछन त ? भ्रमणका उद्देश्य फरक हुन सक्छन् । तीमध्ये प्रमुख उद्देश्य भनेको मनोरञ्जन र जैविक विविधतामा रमाउने हो । पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका अनुसार नेपाल आएका पर्यटकमध्ये धेरै प्राकृतिक दृश्य अवलोकन र मनोरञ्जनका लागि आउने गर्दछन । यसबाट के थाहा हुन्छ भने जुनसुकै भुगोलमा रहने मानिस भएपनि भ्रमणको एउटा पक्षभित्र जैविक विविधता पर्दछ । वाह्य पर्यटकले भ्रमण गर्ने स्थानमा चितवन, शिवपुरी, बर्दिया, सगरमाथा, शुक्लाफाँटा, रारा, खप्तड, कोसी टप्पु, लामटाङ, अन्नपूर्ण, पोखरा, ढोरपाटनदेखि लिएर पर्यटकहरूले मन पराउने गन्तव्य जैविक विविधता भएका क्षेत्र बढी छन् । किन भने संसारमा लोप भइसकेका र लोप हुन थालेका वन्यजन्तु, वन, वनस्पति अझै नेपालमा सुरक्षित छन् ।
राणाकालीन समयमा नेपालमा राजकीय भ्रमण बाहेक कुनै पनि विदेशीहरूलाई नेपाल भ्रमणको अनुमति थिएन । पछि रुसी पर्यटक बोरिस सिसानेबिचले थोमस कुक एण्ड सनमार्फत नेपालमा विदेशी पर्यटकहरू ल्याउन अनुमति पाए । बोरिसलाई दिइएको यो अनुमतिले नेपालमा वाह्य पर्यटक नेपाल भित्रिन शुरु भएको हो । सन् १९५० मा फ्रेन्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले अन्नपूर्ण हिमाल आरोहण गरे । लगत्तै सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी सगरमाथाको चुचुरो पुग्न सफल भए । संसारमा १४ ओटा ८ हजार मिटर भन्दा माथि उचाईका हिमालहरू छन । त्यसमध्ये ८ ओटा हिमाल नेपालमा छन् भन्ने कुरा पत्ता लागेपछि नेपाल पर्वतारोहणको प्रमुख गन्तव्य बन्न थाल्यो । हिमाल आरोहणका लागि पनि नेपाल उत्कृष्ट गन्तव्य भएको छ । विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालमै छ ।
पर्यटन शब्दको उत्पत्ति फेन्च शब्दबाट भएको मानिन्छ । सामान्य अर्थमा पर्यटन पर्यटकको माध्यबाट सञ्चालन गरिने व्यवसाय हो । पर्यटक भन्नाले विभिन्न किसिमका उद्देश्यहरू राखी देशको भौगोलिक सीमाना भित्र वा बाहिर भ्रमण गर्ने व्यक्ति बुझिन्छ र ती व्यक्तिहरूका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउने व्यवसायलाई नै पर्यटन व्यवसाय भनिन्छ । संसारमा फ्रान्सपछि बढी पर्यटक जाने अर्को देश अमेरिका हो । अमेरिकाले सन् १८५० मा योेसेमिट राष्ट्रिय निकुञ्जको स्थापना गरेको थियो । वन्यजन्तु र झरनाहरूको कारणले यो १८ औं शताब्दीमा विश्व चर्चित भयो । आज वार्षिक ३७ लाख पर्यटकले यो राष्ट्रिय निकुञ्जको भ्रमण गर्छन् । सन् १८६० मा अमेरिकाले अमेरिकाका प्रमुख शहरहरु जोडने अत्याधुनिक रेलमार्गको विकास ग¥यो । त्यसपछि मानिसहरू त्यसबेला रेलमार्ग हुँदै सो राष्ट्रिय निकुञ्जको भ्रमण गर्न लालायित भए । यस पछि अमेरिकाले बुझ्यो भौतिक विकासबाट पर्यटकीय गन्तव्यहरूको सहज पहुँच बनाउनु नै पर्यटन विकास हो ।
प्राचीनकालमा सबैभन्दा पहिले भ्रमणको लागि निक्लने यात्रीहरूमा फेनोसियनहरूको नाम आउछ । विश्व पर्यटनको इतिहासमा यिनीहरुलाई नै आधुनिक पर्यटका रुपमा परिभाषित गरिएको छ । विश्व पर्यटनका क्षेत्रमा अठारौं शताब्दीलाई पर्यटनको सुनौलो युग मानिएको छ । विशेषगरी सन् १९४३ देखी सन् १९७३ सम्मको ३० वर्षको अवधिमा यात्राका क्षेत्रमा उल्लेखनीय प्रगति भएको मानिन्छ । चोभारको गल्छी काटेर पोखरीको रुपमा रहेको काठमाडौंलाई मानव बस्ती योग्य बनाउने मञ्जुश्री नेपालमा पहिलो पटक पर्यटकको रुपमा आएको विदेशी मानिन्छ । सन् ५९२ मा राजा अंशुवर्माकी छोरी भृकुटीले तिब्बतमा बिहे गरेर जानु नेपालबाट बाहिरिएको पहिलो पर्यटक मानिन्छ । तर पर्यटन अवधारणा भने सन् १९५३ मा सर एडमण्ड हिलारी र तेञ्जिङ नुर्बु शेर्पाले सगरमाथाको सफल आरोहणपछि पर्वतारोहण कार्यको वृद्धिसँगै विकसित भएको हो । सन् १९६० को दशकमा यूरोपेली देशहरूमा लागूपदार्थ ओसारपोसार र सेवनविरुद्धको कानूनहरु ल्याउने लहरै चल्यो तर नेपालमा भने यो कानून सन् १९७३ मा मात्र आयो । यसबीच युद्धविरुद्ध मत जाहेर गर्ने यूरोपेली युवाहरु यूरोपका तर्की, मध्यपूर्वका रशिया र इरान हुँदै नेपालको काठमाडौं र भारतको गोवाजस्ता क्षेत्रहरुमा स्वतन्त्रपूर्वक गाँजा खान आउन थाले । यूरोपतिर यस मार्गलाई त्यसबेला हिप्पी ट्रेल÷गाँजाको मार्ग भनेर समेत चिनिन्थ्यो । त्यसबेला नेपाल गाँजा खान स्वतन्त्र देशको रुपमा पनि चिनियो, हाल नेपाल पर्वतारोहणको केन्द्र भनेर चिनिन्छ ।
भुपरिवेष्ठित देशका मानिस समुन्द्र देख्दा रमाँउदछन अनि सामुन्द्रिक भूगोलका मनिसहरू हिमाल र पहाड देखेर रमाँउदछन् । यो मानवको स्वभाव हो, विविधतामा रमाउने । त्यसैले त हरेक मानिस घुमफिर गर्न रमाउछ । नेपालमा वाह्य पर्यटकहरू हिमाल र जैविक विविधता अर्थात प्रकृती, वनस्पती, जनावर, चराहरु आदी हेर्न नेपाल आँउछन । नेपालमा पाँच हजारभन्दा बढी तालतलैया, दह, कुण्ड, पोखरी र सिमसार क्षेत्र छन् । यी जैविक र भौगोलिक विविधता नभएको भए यहाँ वाह्य पर्यटकहरू नेपाल आँउदैन थिए होला ? पर्यटन क्षेत्रको विकास र विस्तारका लागि प्रचार–प्रसारको साथै पूर्वाधारका लागि लगानीको आवश्यक छ । प्रचार– प्रसार एवं पूर्वाधारको विकास हुने हो भने काठमाडौं, लुम्बीनी वा पशुपति दर्शनलाई आएका पर्यटकहरूलाई मुलुकको अन्य पर्यटकीय क्षेत्र सगरमाथा आधार शिविर, रारा ताल वा तिलिचो ताल अवलोकनमा पनि पु¥याउन सकिन्छ । जसबाट उनीहरूको बसाइ एवं खर्चमा वृद्धि हुँदै जान्छ । ठूलो संख्यामा पर्यटकहरू मुलुकमा भित्रिँदा पर्यटन उद्योगमा लगानीको साथसाथै रोजगारी पनि बढ्दै जान्छ ।
हिमश्रृखलाहरू, मनोरम हरियाली, जैविक अनि सास्कृतीक विविधता र वुद्धभुमी नेपालको गहना हो । हरेक वर्ष नेपालको हिमशयलमा रमाउन, हिमालहरू आरोहण गर्न, पदयात्रा गर्न, धार्मिक पर्यटन गर्न अनि अन्य विभिन्न कुराहरू अवलोकन गर्न लाखौँ पर्यटकहरू नेपाल आउने गर्दछन । पर्यटन एक गतिशील क्षेत्र र व्यवसाय हो । यो क्षेत्रमा त्यतिकै मात्रामा चुनौतीहरू पनि छन् । नेपालमा पर्यटन क्षेत्रमा अनगिन्ती अवसरहरु रहेका छन् । समग्रमा पर्यटन क्षेत्र अवसर र चुनौती पनि हो । माउन्टेनियरिङ, जलयात्रा, धार्मिक पर्यटन, ग्रामीण पर्यटन जस्तै कैयौँ आयामहरू पर्यटन क्षेत्रमा छन् । तर पनि हामी नयाँ–नयाँ प्रविधिमा परिष्कृत छैनौँ । हाम्रो पर्यटन आन्तरिक चुनौतीमा नै अल्झिएको छ । हाम्रो सम्पदा भित्र रहेका पर्यटनको लागि नयाँ गन्तव्यहरूको खोजी गर्ने र तिनलाई प्रवद्र्वन गर्ने काम भएका छैन भन्दा पनि हुन्छ । सहज पर्यटन संसारका सबैजनाको पहुचमा हुनुपर्दछ । जस्ले गर्दा पर्यटकहरूले पृथ्वीको सौन्दर्य र विविधता अवलोकन गर्न सकुन । पर्यटक तपाई हामी मध्य सबैजना हुन सक्छौं, विदेश जानुमात्र पर्यटन हैन । आफ्नै देश भित्र पनि नयाँ नयाँ ठाउँमा गएर पर्यटन गर्न सक्दछौ । जीवनको अर्थ पक्कै पनि संकुचित छैन, ब्यापक परिवेशमा जीवनको अर्थ भनेको नयाँ कुरा बुझनु, नयाँ ठाउँ जानु अनि सकेसम्म वढी ज्ञान र अनुभवहरू प्राप्त गर्नु पनि हो ।
नेपालमा पर्यटनको विकासका लागि सरकार र निजी व्यवसायहरूको सहकार्य आवश्यक छ । पर्यटनको विकासले देशको अर्थतन्त्रमा सुधार आउन सक्छ ? यस विषमा सबै निकाय गम्भीर हुन जरुरी छ । ऐतिहासीक, पुरात्वतिक, तथा धार्मिक महत्व बोकेका पर्यटकीय क्षेत्रलाई लगानीको आवश्यकता रहेको छ । नेपालका पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा सरकारले लगानी बढाउन नसक्नु र पर्यटकको सेवा सुविधा पुर्याउन नसक्दा पर्यटकीयस्थल ओझेलमा परेको छ । सरकारले त्यस्ता क्षेत्रमा भौतीक पूर्वाधार निर्माण गर्न पर्दछ ।
फोटो : ४४ औं विश्व पर्यटन दिवसका अवसरमा बेसीशहरमा स्वागत गरिएका पर्यटनहरू । असोज १० गते, २०८० दाङ ।
(लेखक ः स्वतन्त्र पत्रकार संघ नेपालका निवर्तमान राष्ट्रिय अध्यक्ष हुनुहुन्छ । सं.)
प्रकाशित मिति २०८० आश्विन १०, बुधबार १४:४६ गते