काठमाडौं– यो वर्ष औसतभन्दा ढिलो मनसुन बाहिरिने भएको छ । औसत मितिअनुसार नेपालबाट मनसुन बाहिरिने दिन आज (अक्टोबर २) असोज १५ गते हो । तर, यो वर्ष नेपालबाट मनसुन बाहिरिन केही दिन ढिलो हुने भएको छ ।
अक्टोबर २ औसत मिति भन्दा केही ढिलो अथवा छिटो पनि मनसुन बाहिरिने सम्भावना हुन्छ मौसमविद् बरुण पौडेलले बताउनु भयो । उहाँका अनुसार न्यूनतम तीन/चार दिन ढिलो हुने भएको छ । उहाँले भन्नुभयो, ‘नेपालबाट मौसम बाहिरिनेक्रम अझै सुरु भएको छैन ।’
नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । नेपालमा पश्चिमबाट क्रमशः पूर्व सर्दै मनसुन पूर्वबाट बाहिरिन्छ । तर, यो वर्ष आजसम्म मनसुन पश्चिमबाट पूर्वतर्फ सर्नेक्रम सुरु भएको छैन मौसमविद बताउँछन् ।
भारतको राजस्थानको पश्चिबाट मनसुन बाहिरिसकेकोले अब मनसुन बाहिरिनेक्रम क्रमशः नेपालतर्फ सर्दै जाने मौसमविद् पौडेलको भनाइ छ । उहाँका अनुसार गतवर्ष पनि औसत मितिभन्दा १३ दिन ढिला मनसुन असोज २९ गते (१५ अक्टोबर)मा बाहिरिएको थियो ।
नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ (जेठ ३०) हो । तर यो वर्ष एक दिन ढिला गरी जेठ ३१ गते नेपालमा मनसुन भित्रिएको थियो ।
यतिबेला पनि मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
थप ३–४ दिनसम्म पानी पर्ने प्रक्षेपण :
नेपालबाट मनसुन बहिर्गमनको औसत मिति अक्टुर २ तारिख भए पनि यस वर्ष त्योभन्दा पनि ढिलो मनुसन बाहिरिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले असोज १२ गते साँझ विशेष बुलेटिन जारी गर्दै कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण गर्दै यात्रा गर्दा सतर्कता अपनाउन भनेको थियो । २४ घण्टाको अवधिमा ५० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा भनिन्छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बाहिरिने सरदर मिति अक्टुबर २ तारिख हो । तर यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो अर्थात जुन १४ तारिख (जेठ ३१ गते) मनसुन नेपाल भित्रिएको थियो । सरदर मिति अनुसार नेपालबाट मनसुन बाहिरिन अब दुई दिनमात्र बाँकी छ । कहिलेकाहिँ सरदर मितिभन्दा दुई–चार दिन ढिलो–चाँडो मनसुन बाहिरिनु र भित्रिनुलाई सामान्य रुपमा लिने गरिन्छ ।
सामान्य हिसाबमा मनसुन बाहिरिनासाथ जाडो सुरु हुनुपर्छ । जाडोको वायु पश्चिमबाट चल्छ ।
प्रकाशित मिति २०८० आश्विन १५, सोमबार १०:२८ गते