नयाँदिल्ली– भारतका पत्रकारहरूको निवासमा दिल्ली प्रहरीले छापा मारेको छ । आज बिहान पत्रकारहरू र न्यूज क्लिकसँग सम्बन्धित व्यक्तिहरूका घरमा प्रहरीले छापा मारेको हो । सो क्रममा प्रहरीले केही पत्रकारको ल्यापटप तथा मोबाइललाई नियन्त्रणमा असोज १६ गते लिएको हो ।
मिडिया रिपोर्टका अनुसार दर्जनौं पत्रकारको घर र कार्यालयहरूमा प्रहरीले छापा मारेको हो । पत्रकारका घरमा छापा मारिनु चिन्ताजनक भन्दै घटनालाई नजिकबाट नियालिरहेको प्रेस क्लब अफ इण्डियाले जनाएको छ । सो पत्रिकाका अनुसार यसबारे औपचारिक जानकारी दिन सरकारसँग मागसमेत गरेको छ ।
केही समय अगाडि न्यूज क्लिक पोर्टलमाथि चीनबाट फण्ड लिएको आरोप लागेको थियो र त्यसविरुद्ध मुद्दा दायर गरी अनुसन्धान सुरु गरिएको थियो । प्रहरीले आज मारेको छापा सोही घटनासँग सम्बन्धित रहेको बताइएको छ । न्युजक्लिकमा कार्यरत पत्रकारहरू प्रवीर पुरकायस्थ, सञ्जय राजौरा, उर्मिलेश, भाषा सिंह, औनिंद्यो चक्रवर्ती, अभिसार शर्मा र सोहेल हासमीलगायतको घरमा प्रहरीले छापामा मारेको हो ।
प्रहरीले ३० भन्दा बढी स्थानमा छापा मारेको समाचार एजेन्सी एएनआईले जनाएको छ । सो एजेन्सीका अनुसार प्रहरीले कसैलाई नियन्त्रणमा लिएको खबर भने सार्वजनिक भएको छैन । दिल्ली प्रहरीले समेत यस घट्नाकाबारेमा औपचारिक जानकारी सार्वजनिक गरेको छैन ।
दिल्ली प्रहरी आफ्नो घरमा आएर ल्यापटप र फोन समेत लिएर गएको पत्रकार अभिसार शर्माले बताएका छन् ।
भारतीय जनता पार्टी विजेपीका सांसदहरूले संसदमा नै न्युज क्लिकमाथि चिनियाँ लगानीमा सञ्चालन रहेको दावी गरेका थिए । उता, न्युज क्लिकले नरेन्द्र मोदी नेतृत्वको सरकार र भारतीय जनता पार्टीको आलोचना गर्ने गरी आएको थियो ।
प्रेस क्लब अफ इन्डियाले न्युजक्लिकसँग जोडिएका पत्रकार र अन्य व्यक्तिको घरमा छापा मार्नुलाई चिन्ताजनक भनेको छ । क्लबले समाजिक सञ्जाल एक्समार्फत क्लब पत्रकारहरूको साथमा रहेको जनाएको छ । घटनाप्रति नजर राखिएको र यसबारे थप जानकारी दिन सरकारसँग क्लबले माग गरेको छ ।
प्रकाशित मिति २०८० आश्विन १६, मंगलवार १३:१२ गते