काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्डबाट विभूषित हुनु भएको छ । बेलफास्ट बेलायतमा जारी द वन योङ वर्ल्ड समिटमा सांसद गौतमले रोबर्ट एफ. केन्नेडी ह्युमन राइट्सकी अध्यक्ष केरी केन्नेडीको हातबाट अवार्ड ग्रहण गर्दै असोज १८ गते सम्मानित हुनु भएको हो ।
सांसद गौतमले बेलायतमा अवार्ड ग्रहण गर्दै चुनावी प्रतिस्पर्धामा रहँदा आफूले पुरानो पुस्ताको आशिर्वाद, युवा पुस्ताको आशा र भावी पुस्ताको सपना सम्झिएको स्मरण गर्नु भयो । उहाँले १६ देखि ४० वर्ष उमेर समूहका ४० प्रतिशत युवा रहेको देशको संसदको सबैभन्दा कान्छो निर्वाचित सदस्यको रूपमा अवार्ड प्राप्त गर्दा खुशी लागेको उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो, ‘म अहिले डेढ वर्ष पुरानो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व गरिरहेको छु जसले निर्वाचन गर्ने तरिकामा परिवर्तन गरी देशमा राजनीतिक आँधीबेहरी ल्याएको छ ।’
उहाँले विपद् व्यवस्थापन र पूर्वतयारी, गरिबी र भ्रष्टाचारको उन्मूलन, लोकतन्त्र र विधिको शासनलाई सुदृढ गर्ने र जलवायु परिवर्तनका असरहरूलाई सम्बोधन गर्ने लगायत हाम्रा साझा विश्वव्यापी सरोकारहरूलाई सम्बोधन गर्ने दिशामा आफू दृढ रहेको बताउनु भयो । उहाँले थप भन्नुभयो, ‘त्यसैले म यो पुरस्कार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ का जनतालाई समर्पित गर्दछु, जसले आफ्नो प्रतिनिधिका रूपमा २७ वर्षीया युवतीलाई विश्वास गरे ।’
नेपालबाट दैनिक लगभग दुई हजार युवाहरू राम्रो रोजगारीका अवसरहरू खोज्दै देश छाडिरहेका उल्लेख गर्दै आफू विश्वबाट प्रतिभा आयात गर्ने देश बनाउन कडा मेहनत गर्न प्रतिबद्ध रहेको बताउनु भयो । संस्थाले नेपाली इतिहासमा प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सबैभन्दा कान्छी सांसद र रास्वपाको संस्थापक सदस्यको रूपमा गौतमलाई सर्ट लिस्टमा छनौट गरेको थियो । उहाँलाई बिजुली नपुगेको गाउँमा जन्मिएकी र राम्रो स्रोत साधन नभएको सरकारी विद्यालयमा पढेकी सोबिता आफ्नो भाषण सामाजिक सञ्जालमा अत्यधिक रुचाइएसँगै राजनीति उदाएकी पात्रको रूपमा चिनाइएको छ ।
आयोजक ‘वन योङ वर्ल्ड’का अनुसार प्रतिस्पर्धीहरू मध्येबाट गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अष्ट्रेलियाकी अयोर मकुर चुओट र न्यूजील्याण्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड हात पारेका छन् ।
द वन योङ वर्ल्ड युवा नेतृत्व सशक्तिकरण र विकासका लागि स्थापित बेलायती संस्था हो । चिलीकी महिला तथा लैंगिक समतामन्त्री एन्टोनिया कस्मिका लगायत विभिन्न देशका १५ सांसद, मेयर लगायत सर्टलिस्टमा समेटिएकोमा ५ जनाले यो अवार्ड पाएका हुन् ।
आफ्नो समुदाय र देशमा युवा मानिसमा सकारात्मक प्रभाव पार्न भूमिका खेलिरहेका विश्वका उच्च राजनीतिज्ञमध्ये पाँच जनालाई यो उपाधि दिने गरिएको हो ।
प्रकाशित मिति २०८० आश्विन १८, बिहीबार १७:३३ गते