काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज २२ गतेका लागि तय गरिएका सबै कार्यक्रमहरू रद्द गरेको छ । दुई दिन अघि अर्थात २० गते आतंककारी आक्रमणबाट इजरायलमा १० जना नेपालीको मृत्यु भएको शोकमा रास्वपाले पूर्वनिर्धारित पार्टीका सबै औपचारिक कार्यक्रमहरू रद्दको घोषणा असोज २१ गते साँझ गरेको हो ।
रास्वपाका सभापति रवि लामिछानले ‘शोकको यो दुःखद घडीमा भोलिका लागि तय भएका पार्टीका सबै औपचारिक कार्यक्रमहरू रद्द गरिएको जानकारी गराउँदछु’ भन्नुभएको छ । उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘इजरायलमा भएको आतंककारी हमलामा परि निर्दोष नेपालीहरूले अनाहकमा ज्यान गुमाउनु परेको दुःखद खबरले स्तब्ध छु । शोकको यो दुःखद घडीमा भोलिका लागि तय भएका पार्टीका सबै औपचारिक कार्यक्रमहरू रद्ध गरिएको जानकारी गराउदछु । हमलामा परेका घाइतेहरूको उपचार, बेपत्ताहरूको खोजी, सुरक्षित स्थानान्तरण एवं स्वदेश फिर्ता प्रक्रियामा सरकारले कति पनि विलम्ब नगरोस् भन्ने अपिल गर्दछु । मृतकहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्द्छु ।’
इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि, अधिकांश सुदूरपश्चिमका :
यसैबीच, आतंकवादी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परेर १० जना नेपालीको ज्यान गएको पुष्टि भएको छ । हमासले इजरायलमा गरेको रकेट आक्रमणमा परेर उनीहरूको ज्यान गएको हो । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार गाजा क्षेत्रको फार्ममा काम गर्ने नेपालीहरूको मृत्यु भएको हो ।
एनआरएनए इजरायलयका अध्यक्ष श्रीकृष्ण भण्डारीले १० जना नेपालीको मृत्यु भएको, दुई जना सुरक्षित अवस्थामा रहेको, चारजना अस्पतालमा उपचाररत र एकजनाको अवस्था अझै अज्ञात रहेको जानकारी दिनु भएको छ ।
परराष्ट्र मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार १० जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । मन्त्रालय स्रोतले करिब १० जनाको ज्यान गएको सूचना प्राप्त भएको छ, मृतकको शव संकलनको काम भइरहेको छ ।
उनीहरूमध्ये अधिकांश सुदूरपश्चिम प्रदेशका हुन् । ज्यान गुमाउनेमा कैलालीको घोडाघोडी नगरपालिका– ४ का नारायणप्रसाद न्यौपाने, कैलालीको बौनियाका आशिष चौधरी, दार्चुलाको लेकम गाँउपालिका– ५ का दिपेश विष्ट, बझाङको जयपृथ्वी नगरपालिका– ६ का गणेशकुमार नेपाली, डोटीको पचनलीका राजन फुलारा, डोटीकै लामिखालका पदम थापा छन् ।
त्यस्तै, सल्यानको शारदा– ३ का प्रवेश भण्डारी, धनुषाको सपहीका आनन्द साह, सुनसरीको मधुवनका राजेशकुमार स्वर्णकारको ज्यान गएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ का विपीन जोशी सम्पर्क विहीन छन् । सल्यानको शारदा नगरपालिका– २ का विधान सेजुवाल र दाङको दंगीशरण गाउँपालिका– ३ का प्रविण डाँगी घाइते भएका छन् । उनीहरूको खुट्टामा चोट लागेको छ ।
कैलालीको टीकापुर– ९ का धनबहादुर चौधरी र गोरखाको गोरखा नगरपालिका– ८ का हिमाञ्चल कट्टेल पनि घाइते भएका छन् ।
परराष्ट्रमन्त्री एनपी साउदका अनुसार इजरायलमा हाल चार हजार ५०० नेपाली केयरगिभरका रूपमा कार्यरत छन् । इजरायलमा २६५ नेपाली विद्यार्थी अध्ययनरत छन् । इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरू अध्ययगन गर्न गएका हुन् ।
आतंकवादी समूह हमासले अचनाक आक्रमण गरेपछि इजरायलमा ठूलो जनधनको क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा दसकौँ यताकै ठूला आक्रमण गरेको हो ।
हमासले गरेको आक्रमणको जवाफमा इजरायलले पनि आक्रमण गरिरहेको छ । इजरायलका प्रधानमन्त्री नेतन्याहुले जवाफी आक्रमणमा प्यालेस्टिनी क्षेत्रलाई ‘उजाड टापु’मा परिणत गर्ने चेतावनी दिएका छन् ।
हमास प्यालेस्टिनी सुन्नी इस्लामिक कट्टरपन्थी लडाकु एवं राष्ट्रवादी संगठन हो । सन् १९८७ मा इजरायली विरुद्धको विद्रोहको क्रममा यसको स्थापना भएको सीएनएनले जनाएको छ । उसका अनुसार इजरायलमा ज्यान गुमाउनेको संख्या ५०० नाघेको छ । दुईहजारभन्दा धेरै घाइते भएका छन् ।
औपचारिकरूपमै युद्धको घोषणा गरेको इजरायलको जवाफी कारबाहीमा कम्तीमा ३७० प्यालेस्टाइनीको मृत्यु भएको छ ।
हमासले इजरायलका सैनिकसहित सयौँलाई बन्धक बनाएको छ ।
दुबै पक्षका गरी ५ सयभन्दा बढी मानिसले लडाइँमा ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
अहिले पनि लडाइँ जारी छ ।
प्रकाशित मिति २०८० आश्विन २२, सोमबार ०८:०० गते