भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूमि गुञ्जी गाउँ भ्रमणमा, सरकार अनविज्ञ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूमि गुञ्जी गाउँ भ्रमणमा, सरकार अनविज्ञ

एजेन्सी

@antaranganews

२०८० असोज २५ गते बिहिबार ०४:४८

भारतले अतिक्रमण गरेको नेपाली भूमिमा आएर मोदीले त्यो भूमि भारतकै हो भनी पक्का गर्न खोजेको सीमाविद् बुद्धिनारायण श्रेष्ठले बताउनु भएको छ । श्रेष्ठका अनुसार उक्त ठाउँमा भारतले काली मन्दिर समेत बनाई दिएको छ । सोही काली मन्दिरबाट नालाजस्तो निकालेर काली नदी यहीँबाट सुरू भएको हो, लिम्पियाधुराबाट होइन भन्ने ब्याख्या भारतले गर्ने गरिआएको छ ।

गुञ्जी नेपालको चुच्चे नक्सा भत्रिको गाउँ हो, मोदीको सो भ्रमण बारेमा रास्वपाका सभापति रविले सरकारसँग जवाफ माग

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गुञ्जी गाउँमा पुगेको खबर छ । गुञ्जी गाउँ नेपाल अधिनस्त तर भारतले अतिक्रमण गरेको भूमि हो । मोदी गुञ्जी गाउँमा पुगेको टाइम्स अफ इन्डियाले असोज २५ गते आफ्नो समाचारमा उल्लेख गरेको छ ।
२०७७ जेठ ३१ गते नेपालको संसदले लिम्पियाधुरासम्मको भूमि समेटेर नयाँ नक्सा जारी गर्ने गरी संविधान संशोधन विधेयक सर्वसम्मत पारित गरेको थियो । नेपालले नयाँ नक्सा सार्वजनिक गरेको झन्डै साढे ३ वर्षपछि भारतीय प्रधानमन्त्री मोदी गुञ्जी गाउँ गएका हुन् ।
त्यहाँ मोदीले स्थानीयहरूसँग छलफल पनि गरेको समाचारमा भनिएको छ । सरकार भने यस विषयमा अनविज्ञ देखिएको छ ।
गुञ्जी जानुअघि ट्विट गर्दै मोदीले आफ्नो भ्रमणबारे सामाजिक सञ्जाल एक्समा गुञ्जी गाउँका वासिन्दासँग पनि संवादको सुअवसर मिल्ने उल्लेख गरेका थिए ।
भारतले अतिक्रमण गरेको नेपाली भूमिमा आएर मोदीले त्यो भूमि भारतकै हो भनी पक्का गर्न खोजेको सीमाविद् बुद्धिनारायण श्रेष्ठले बताउनु भएको छ । श्रेष्ठका अनुसार उक्त ठाउँमा भारतले काली मन्दिर समेत बनाइदिएको छ । सोही काली मन्दिरबाट नालाजस्तो निकालेर काली नदी यहीँबाट सुरू भएको हो, लिम्पियाधुराबाट होइन भन्ने ब्याख्या भारतले गर्ने गरिआएको छ ।
श्रेष्ठले भन्नुभयो, ‘मेरो जानकारी भएसम्म अहिलेसम्म भारतीय प्रधानमन्त्री त्यो ठाउँमा गएर पूजा गरेको थाहा छैन, हामीले नक्सा जारी गरेपछि मोदी पहिलो पटक पुगेका हुन् । उनी यो भूमि आफ्नै हो भनेर पक्कामाथि पक्का गर्न गएका हुन् जस्तो लाग्छ ।’
रास्वपाका सभापति रविले सरकारसँग जवाफ माग ः
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गरेको नेपाली भूमि गुन्जीको भ्रमणको सम्बन्धमा सरकारको जवाफ माग गर्नु भएको छ । आजको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सभापति रविले छिमेकी देशको प्रधानमन्त्री नेपाल आउँदा कुनै औपचारिक कार्यक्रम समेत नभएको उल्लेख गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि गुन्जीको भ्रमण गरेको सम्बन्धमा सरकारले संसदलाई जानकारी गराउनु पर्ने माग गर्नुभयो । उहाँले मोदी नेपाल आउँदा सरकारले कुनै स्वागत नगरेको र देशलाई कुनै जानकारी नदिइएको टिप्पणी गर्नु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो मित्रराष्ट्र छिमेकी राष्ट्रका प्रधानमन्त्री नरेन्द्र मोदी हाम्रो भू–भागमा आउनुभएको रहेछ । छिमेकी राष्ट्रको प्रधानमन्त्री हाम्रो भू–भागमा आउँदा सरकारले न कुनै स्वागत गरेको छ, न देशलाई कुनै जानकारी गराएको छ, यत्रो ठूलो भ्रमण हाम्रो देशमा यो कुटी, गुन्जी अहिले सम्माननीय सभामुख आसिन हुनुभएको चेयरको अगाडीको डेस्कको चुच्चे नक्सा भित्र नै पर्छ । हामीले नै पास गरेको, यो सदनले पास गरेको यो चुच्चे नक्शाभित्र हाम्रो भू–भाग पर्छ । त्यसकारणले त्यस भुभागभित्र गुन्जी पनि पर्छ । जहाँ छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्रीले भ्रमण गर्नुभयो भन्ने समाचार आयो । यसको आधिकारिकताका लागि प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गरियो हामी त्यहाँ जान पाउदैनौँ । हामीले पनि थाहा पायौँ भन्ने कुरा उहाँले पनि जानकारी गराउनुभयो ।’ पूर्वगृहमन्त्री समेत रहनुभएका रविले भन्नुभयो, ‘म सरकारलाई र परराष्ट्र मन्त्रालयलाई सोध्न चाहन्छु, यति ठूलो भ्रमण आफ्नो भूमिमा, आफ्नो देशमा छिमेकी राष्ट्रका प्रधानमन्त्रीको भ्रमण बारे सरकारले नेपाली जनतालाई, सदनलाई जानकारी गराउनु पर्दैन ? यत्रो ठूलो भ्रमणमा मित्र राष्ट्र, छिमेकी राष्ट्रको त्यति ठुलो व्यक्तित्व, सरकार प्रमुख हाम्रो भूमिमा आउँदाखेरी सरकारले उहाँलाई स्वागत गर्नु पर्दैन ? कुनै कार्यक्रम हुनुपर्दैन ? त्यसका औपचारिकताहरू हुँदैनन् ? त्यसकारणले यस बारेमा सम्मानित सदनलाई सरकारले, परराष्ट्र मन्त्रालयले वास्तविकता जानकारी गराउनु प¥यो ।’

प्रकाशित मिति २०८० आश्विन २५, बिहीबार १६:४८ गते
हजुरको प्रतिक्रिया