लमजुङ– जिल्लामा प्रहरीले बडादशैं, तिहार र छठ लगायतका चाडपर्व लक्षित विशेष सुरक्षा योजना साथै यात्रु सहायता कक्ष स्थापना गरेको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको प्रमुख आतिथ्यतामा बेसीशहर नगरपालिका– ७ मनाङ्गे चौतारामा सो कार्यको असोज २५ गते बिहान थालनी गरेको हो ।
सो अवसरमा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी तथा अतिथिहरूद्वारा सवारी चालकहरूलाई पुष्प गुच्छा प्रदान गर्नु भई यात्रु र चालकको सहज यात्राको लागि शुभकामना व्यक्त गर्दैै यात्रु सहायता कक्षको शुभारम्भ गरिएको छ ।
यसैगरी, आजै जिल्ला प्रहरी कार्यालय र मातहत कार्यालयहरू समेतमा गरी जिल्ला भर ९ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङ सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईले बताउनु भयो । उहाँका अनुसार उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेको अध्यक्षतामा भएको हो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी साथै सशस्त्र प्रहरी बल आश्रित गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक खेमनाथ शर्मा, राष्ट्रिय अनुसन्धान कार्यालयका वरिष्ठ अनुसन्धान सहायक नरेश शाह, पत्रकार लगायत विभिन्न यातायात प्रा.लि.का प्रतिनिधी, चालक र सह चालक सर्बसाधरण समेतको उपस्थिति थियो ।
प्रकाशित मिति २०८० आश्विन २५, बिहीबार १७:१८ गते