काठमाडौं– हमास समूहको सहस्त्र आक्रमणबाट युद्धग्रस्त बनेको इजरायलबाट २५३ जना नेपाली स्वदेश फर्किएका छन् । उनीहरू राति साढे १ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछन् । उनीहरूलाई नेपाल वायु सेवा निगमको नाइनएन– एएलजेड एअरबस ३३० विमानबाट नेपाल ल्याइदै गरेको परराष्ट्र मन्त्रालयले असोज २५ गते जनाएको छ । इजरायलको तेल अबिब विमानस्थलमा करिब दुई घण्टा समय बिताएको नेपाल वायु सेवा निगमको विमान २५३ जना नेपाली बोकेर राति साढे १ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने भएको छ ।
नेपालबाट सुदूरपश्चिम विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र कृषि विश्वविद्यालयबाट इजरायलसँग सरकारले सम्झौता गरेको ‘लर्न एण्ड अर्न’ कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका कृषि विज्ञान अध्ययनरत २६५ जनाभन्दा बढी नेपाली विद्यार्थी सो क्षेत्रमा फसेका थिए । परराष्ट्र मन्त्रालयको इजरायलमा करिब ४ हजार पाँच सय नेपाली रहेको अनुमान छ ।
हाल इजरायलमा २६२ जना विद्यार्थीसहित चार हजार पाँच सय घरेलु श्रमिक कार्यरत छन्। नेपालबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना, सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका हुन्। यसरी सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना विद्यार्थी इजरायलको दक्षिणी क्षेत्र किबुजमा रहेका थिए । त्यसमध्ये १० जनाको निधन भएको हो ।
इजरायल उडेको नेपाल वायुसेवा निगमको विमानमा २५३ जना मात्रै फर्किएका छन् । विमानको सीमित सिट क्षमताका कारण सबैलाई एकैपटक नेपाल ल्याउन नसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै, कतिपयले फर्किने विषयमा पुनर्विचार समेत गरेका कारण नाम दर्ता गराएका जति सबै फर्किने सम्भावना कम रहेको इजरायल स्थित नेपाली राजदूतावासले जनाएको छ ।
हमास समूहको आक्रमणमा परेर द्वन्द्वग्रस्त गाजासँग सीमाना जोडिएको इजरायलको दक्षिणी क्षेत्रमा असोज २० गते बिहानदेखि हमास समूहको आक्रमण सुरु भएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीहरू अलपत्र परेका थिए ।
दश जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने एक जना विद्यार्थी अझै सम्पर्कविहीन छन् ।
नेपाल फर्किन चाहेका नागरिकलाई स्वदेश ल्याउनका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैं नेपाल वायुसेवा निगमको विमानबाट इजरायल पुग्नु भएको हो । उहाँलाई इजरायली विदेश मन्त्रालयका चिफ अफ प्रोटोकल र नेपाली राजदूत कान्ता रिजालले स्वागत गरेका थिए ।
मन्त्रिपरिषद्ले इजरायलबाट नेपाल फर्किन चाहने नेपालीहरूको खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको थियो ।
परराष्ट्र मन्त्रालयले पहिलोपटक इजरायलमा रहेका विद्यार्थीहरूको मात्र उद्धार गरिने जनाएको छ ।
उद्धारको पर्खाइमा रहेका नेपाली विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सारियो :
आक्रमण सुरु भएपछि उनीहरूलाई त्यहाँबाट सुरक्षित ठाउँमा स्थानान्तरण गर्नसमेत हम्मे परेको थियो । नेपाली विद्यार्थीले आफू असुरक्षित रहेको भन्दै सुरक्षित स्थानमा सार्न आग्रह गरेको करिब चार दिनपछि मात्रै उनीहरूलाई पूर्ण रूपमा उद्धार गरिएको थियो ।
इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना नेपाली विद्यार्थीहरूलाई इजरायली सुरक्षा संयन्त्र समेतको सहयोगमा उद्दार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो ।
यस्तै इजरायलको उत्तरी सिमाना आसपासमा उद्धारको पर्खाइमा रहेका ७२ जना नेपाली विद्यार्थीहरूलाई समेत सुरक्षित ठाउँमा सारिएको थियो ।
आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका ४ जनाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ । हराइरहेका नेपाली विद्यार्थी विपिन जोशीको खोजी भइरहेको जनाएको छ । स्थानीय प्रहरी, अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा खोजीकार्य अझ तीब्र पारिएको नेपाली दूतावासले जनाएको छ ।
मृत्यु भएका १० जनाको शव ल्याउन समय लाग्ने :
मृत्यु भएका १० जनाको शव ल्याउन समय लाग्ने स्थिति उत्पन्न भएको छ । शवहरूको पोस्टमार्टमलगायत कानुनी प्रक्रिया पूरा गर्न समय लाग्ने भएका कारण शव ल्याउन समय लाग्ने देखिएको इजरायलमा रहेको नेपाली राजदूतावासले जनाएको छ । सो दूताबासका अनुसार इजरायल सरकारले शव हस्तान्तरण नगरेसम्म ल्याउन नमिल्ने भएका कारण अझै समय लाग्ने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले आज आयोजित नियमित पत्रकार सम्मेलनमार्फत बताउनु भएको हो ।
मृतकका परिवारलाई नेपाल सरकार र विभिन्न प्रदेश सरकारहरूले छुट्टाछुट्टै राहतको घोषणा :
इजरायलमा मृत्यु भएका नेपालीका परिवारलाई नेपाल सरकार र विभिन्न प्रदेश सरकारहरूले छुट्टाछुट्टै राहतको घोषणा गरेका छन् ।
नेपाल सरकारले २२ गतेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । यसैगरी, मधेश प्रदेशले धनुषाका मृतकको परिवारलाई पाँच लाख रुपैयाँ, त्यस्तै कर्णाली प्रदेशले उक्त प्रदेशका एक मृतकको परिवारलाई तीन लाख रुपैयाँ, सुदूरपश्चिम सरकारले उक्त प्रदेशका सात मृतकका परिवारलाई प्रतिपरिवार दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेका छन् ।
प्रकाशित मिति २०८० आश्विन २५, बिहीबार २२:५९ गते