युद्ध मैदानबाट फर्किए २५४ जना नेपाली विद्यार्थीहरू, दिए ‘सरकारलाई धन्यवाद !’

युद्ध मैदानबाट फर्किए २५४ जना नेपाली विद्यार्थीहरू, दिए ‘सरकारलाई धन्यवाद !’

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज २६ गते शुक्रबार ०६:३५

इजरायलको नेपाली दूतावासको अनलाइन प्रणालीमा ५५७ जनाले आफ्नो विवरण उपलब्ध गराएका छन् । जसमध्ये ५०३ जनाले नेपाल फर्किन अनुरोध गरेकामा आज २५४ जना स्वदेश फर्किएका हुन् ।

आवश्यकता अनुसार थप जहाज पठाइने

काठमाडौं– युद्धग्रस्त इजरायलमा फसेर जीवन र मरणको दोसाधमा रहेका २५४ जना नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका छन् । नेपाल एयरलाइन्सको जहाज आरए २३५४–२३० बाट बिहान २ः४२ ती नेपालीहरू त्रिभुवन विमानस्थल काठमाडौंमा अवतरण गरेका हुन् । उनीहरूले जब आफ्नो प्रतिक्षामा रहेका आफन्तहरूसँग भेटे तब भावुक बन्दै खुसीका आँसु असोज २६ गते बिहान साटे र दिए ‘सरकारलाई धन्यवाद !’
उनीहरू कोही एक महिना अगाडि त कोही दुई महिना अगाडि मात्र इजरायल गएका थिए ।
त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै खुसी व्यक्त गरे र अधिकांशले भने– ‘धन्यवाद नेपाल सरकार !’
धेरैले आफ्नो खुसीको आँशु लुकाउन सकेनन् । जीवन र मरणको दोसाधको कठिन समयमा पनि आफूहरूको उद्धार भएकोप्रति उनीहरू कृतज्ञ थिए । उनीहरूले नेपाल एयरलाइन्सलाई पनि धन्यवाद दिएका थिए । मिसाइल आक्रमणको प्रच्यक्षदर्शी बनेकी एक हुनुहुन्छ– रेश्मा श्रेष्ठ । लर्न ल्याण्ड अर्न कार्यक्रम अन्तरगत उहाँले भन्नुभयो, ‘त्यहाँ ठूलो क्षति भएको छ । भगवानको मलाई बचाउने इच्छा रहेछ, नत्र जुन घरमा म बस्दै थिएँ ११ महिनासम्म टेलिफार्ममा काम गरेर, त्यो घरको पछाडि जिउँदै जलाइदिए । अगाडि पुरै ध्वस्त भयो । मेरो फिलिपिनो साथीले भन्दै थियो, यदि तिमी यहाँ भएको भए मारिन सक्थ्यौं ।’
१० जना नेपालीको मारिनुका साथै एक नेपाली अझै सम्पर्कबिहीन रहेको भन्दै उनले आफूहरुका बारेमा चासो चिन्ता राख्ने सबैप्रति आभार व्यक्त गर्दै भावुक मुडमा भन्नुभयो, यो गुन हामीले कहिल्यै तिर्न सक्दैनौं ।’
कोही बङ्कर बासको अनुभव सुनाइरहेका थिए, कोही इजरायलका आकाशमा देखिएका मिसाइलका झिल्कालाई नेपालमा तिहारमा देखिने आतसबाजीसँग तुलना गर्दै थिए । कोही भने अब इजरायल कहिल्यै नफर्किने बताउँदै थिए । कोही इजरायलले कृषिमा गरेको आधुनिकीकरणका उदाहरण सुनाइरहेका थिए । कोही बेपत्ता रहेका विपीन जोशीको समेत सम्झना गर्दै थिए ।
केहीले भने, ‘सकेसम्म नेपालमै बस्ने हो । विदेशी भूमि आफ्नो जस्तो हुँदो रहेनछ ।’
असोज २० गते प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परेर १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । इजरायलमा रहेका नेपालीहरूको उद्धारका लागि सरकारले नेपाल एयरलाइन्सको विमान लिएर परराष्ट्रमन्त्री एनपी साउद आफै इजरायल पुग्नु भएको थियो ।
परराष्ट्रमन्त्री साउदले आज नेपाल एयरलाइन्सको चार्टर उडानमार्फत २५४ जना नेपालीलाई स्वदेश ल्याइएको बताउनु भयो । उहाँले अन्य नेपालीहरूलाई स्वदेश ल्याउन पनि आवश्यकताअनुसार इजरायल जहाज पठाउन सकिने जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्ले नै यसका लागि आवश्यक निर्णय गरिसकेको बताउँदै उहाँले नियमित र चार्टर उडानमार्फत नेपालीहरूलाई स्वदेश ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँका अनुसार नेपाली दूतावासको अनलाइन प्रणालीमा ५५७ जनाले आफ्नो विवरण उपलब्ध गराएका छन् । जसमध्ये ५०३ जनाले नेपाल फर्किन अनुरोध गरेकामा आज २५४ जना स्वदेश फर्किएका हुन् ।
उहाँका अनुसार शवहरू ल्याउन अझै समय लाग्ने भएको छ । इजरायलले कानुनी प्रक्रिया पूरा गरेर शव हस्तान्तरण गरेपछि नेपाल ल्याउन समस्या नरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘अहिले धेरै शवहरू छन्, रुजु गर्ने काम भइरहेको जानकारी हामीलाई दिइएको छ । कानुनी प्रक्रिया पूरा गरेर शव हस्तान्तरण गरेपछि हामी ल्याउँछौँ ।’
उहाँले थप जानकारी दिनुभयो, घाइतेमध्ये अर्का एक जना डिस्चार्ज भएर हामीसँगै फर्किनु भएको छ, एक जना डिस्चार्ज हुनु भएको छ, अन्य दुई जनाको उपचार जारी रहेको छ ।
उद्धार उडानको नेतृत्व वरिष्ठ कप्तान श्रवण रिजालबाट भएको थियो । जहाज इजरायलको तेल अभिभस्थित विमानस्थलबाट दुबई हुँदै काठमाडौं फर्किएको हो ।
इजरायलबाट फर्किएका नेपालीलाई उनीहरूका आफन्त तथा उनीहरूले चाहेको स्थानमा पु¥याउन सरकारले नेपाल प्रहरीका तीन वटा बसको प्रवन्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको थियो । ती बसहरूले उद्धार गरी ल्याएका नागरिकलाई उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरसम्म सेवा प्रदान गरेका थिए ।
इजरायल घटनामा गोली लागेका धनबहादुर पनि फर्किनु भो :
सो टोलीमा कैलालीका धनबहादुर चौधरी स्वदेश फर्किनु भएको छ । प्यालेस्टाइनको हमास समूहले इजरायलमा गरेको आक्रमणमा परी खुट्टामा गोली लागेका उहाँलाई स्थानीय अस्पतालले डिस्चार्ज गरिदिएपछि चार्टर विमानमार्फत फर्किनु भएको हो । उहाँको अवस्था अझै हिँड्नसक्ने भइसकेका छैन । उहाँले सो घटनामा बाँचेर फर्किन पाएको बताउनु भयो ।
‘इजरायलबाट हामी बाँचेर फर्कियौँ, तर साथीहरू गुमाउँदा पीडा छ’ :
इजरायलबाट उद्धार भएका विद्यार्थीमध्येकी एक सिरहाकी शोभा पासवानले बाँचेर फर्किन पाउँदा खुसी लागेको तर, इन्टर्नमेट साथीहरू गुमाउनु पर्दा उत्तिकै पीडा भइरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी बाँच्यौँ त्यो एक ठाउँमा छ, त्यसमा खुसी छौँ । तर, सँगसँगै साथी गुमाएको पीडा पनि छ । सरकारले उद्धार गरेकोमा धन्यवाद ।’
उहाँका अनुसार घटनापछि तीन दिनसम्म १८ जना विद्यार्थी कष्टपूर्ण रूपमा बंकरमा बसेपछि त्यहाँबाट सुरक्षित स्थानमा सारिएको थियो । त्यहाँका स्थानीयहरूले समेत यस्तो खालको घटना कहिल्यै नभोगेको बताएको भन्दै यसबीचमा निकै त्रास भोगेका छन् ।
सो घट्नाको स्मरण गर्दै भन्नुभयो, ‘खाना २४ घण्टामा एक पटक पाएका थियौँ । अहिले उद्धारपछि सकुशल नेपाल टेक्न पाउँदा निकै खुसी लाग्यो ।’ बंकरमा बस्दा रकेट प्रहारदेखि फाइरिङसम्मको आवाज निरन्तर सुन्दा अहिले पनि अत्यास लागिरहेको उल्लेख गर्नु भयो ।
१० जना नेपालीले ज्यान गुमाएको स्थान आफू रहेको स्थानबाट २७ मिनेटको दूरीमा भएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०८० आश्विन २६, शुक्रबार ०६:३५ गते
हजुरको प्रतिक्रिया