
लमजुङ– नेपालीहरूको महानाचाड बडादशैं आजदेखि प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज असोज २८ गते घर– घरमा घटस्थापना गर्ने गरिन्छ ।
घटस्थापनाकै दिनदेखि शुरू हुने नवरात्र पर्व विजयादशमीका दिन प्रसादका रूपमा टीका र जमरा ग्रहण गरेपछि कोजाग्रत पूर्णिमाको दिन बिसर्जनसँगै वडादशैं पर्व पनि समापन हुन्छ ।
आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । आजकै दिन अर्थात आश्विन शुक्ल प्रतिपदादेखि बडादशैँ सुरु हुन्छ । समितिका अनुसार यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने छ ।
घटस्थापनाका दिन दुई महत्त्वपूर्ण कृत्य गरिन्छ । एक कृत्य यस दिन जमरा राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी–देवताको आह्वान गरिन्छ ।
जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी(सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजाआजा गरिन्छ । ब्रह्मवैवर्त पुराण भन्ने ग्रन्थका अनुसार वर्णन गरिएका नवदुर्गाहरू यी हुन्ः प्रकति–पूर्व, चण्डिका–आग्नेय, भद्रकाली–दक्षिण, सर्वमुला–वायव्य, वैष्णवी– उत्तर, शिवप्रिया–ईशान, जगदम्बिका– जल, थल र आकाश । यी नामहरूले दुर्गाहरू विभिन्न दिशाका अधिष्ठात्री देवीहरू भएको कुराको चाल पाइन्छ । हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवीदेवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन्, जुन कुरा कालिका पुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ । यसका अतिरिक्त घटकलश अष्टमुलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ । आधारहरूको कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दशैं पूजाको थालनी गरिएको हो । यसैले दशैंको अवसरमा आ–आफ्नै आगमस्थित देवी भगवती जगदम्बाको पूजा गरिनुबाहेक अन्य देवीस्थलहरूमा गई देवीदेवताहरूको पूजा–उपासना, पुकार तथा दर्शनको लागि जानु आवश्यक नपर्ने वास्तविकतातिर औंल्याएको पाइन्छ ।
यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती(चण्डी), स्त्रोत्ररत्नावली, कालिकास्तोत्र, दुर्गाकवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ । पूजा गरिसकिएपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ । बलि दिइसकेपछि यस दिनको कार्य समापन गरिन्छ
यसै अवधिमा शक्तिरुपा देवीहरूको पूजा अर्चना तथा जपतप आदि गर्ने गरिन्छ । तिनै नौ स्वरूपका भगवतीलाई हामी समग्रमा नवदुर्गा भन्छौं । नवदुर्गामा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी एवं सिद्धिदात्री हुन् ।
यो वर्ष असोज २९ गते पञ्चाङ्ग निर्णायक समितिले नेपालमा विजया दशमीको टीका लगाउन बिहान ११ बजेर ४९ मिनेटमा उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराईले बताउनु भयो । उहाँका अनुसार यो समय नेपालभरका लागि हो ।
नवरात्रमा अधिराज्यभरका शक्तिपीठमा ठूलो मेला लाग्ने गर्दछ ।
लमजुङमा गाउँशहर स्थित लमजुङ कालिका, उदीपुर कालिका, दुराडाँडाकी तुर्लुङकोट कालिका, थान्सिङ नेटाकी मालिका, कोइरालाफाँटकी भागिरथा लगायतका देवी मन्दिरमा भक्तजनको भिड लाग्ने गर्दछ । हामी यस अवसरमा नौवटा दुर्गाको पूजा गर्छौं, जसमा छुट््टा– छुट्टै विशेषता एवं महिमा छन् ।
बडादशैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडादशैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गर्ने गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरिन्छ ।
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने कार्य गरिन्छ । गाउँघरतिर यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा लगाउने प्रचलन छ ।
दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।
दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । यो आराधनाले वर्षभर गलत प्रवृत्तिविरुद्ध लड्ने शक्ति प्राप्त हुने विश्वास गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।
प्रकाशित मिति २०८० आश्विन २८, आईतवार ०६:४१ गते