नाइचे(लमजुङ)– मर्स्याङ्दी गाउँपालिका– ६, दुर्गम गाउँ नाईचेमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ । नवस्थापित स्वास्थ्य इकाईको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले कार्तिक १ गते एक समारोहका बीच उद्घाटन गर्नु भएको हो ।
अध्यक्ष गुरुङले स्वास्थ्य सेवा मौलिक अधिकार भएको हुँदा त्यसको प्रत्याभूतिका लागि यो इकाई स्थापना भएको बताउनु भयो । उहाँले स्वास्थ्य इकाईले प्राथमिक स्वास्थ्य उपचार, खोप सेवा, परिवार नियोजन, गर्भवती जाँच र आधारभूत स्वास्थ्य सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो, ‘गाउँबासीलाई सक्दो सेवा दिनका लागि गाउँपालिकाले ‘समृद्ध, आधुनिक, हराभरा मर्स्याङ्दी गाउँपालिकाको आधार, कला, संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उर्जा र पुर्वाधार’ नारा तय गरेको छ । त्यसलाई सार्थ बनाउने प्रयासमा हामी छौं ।’ उहाँले हाम्रो आनि बानी ब्यवाहार परिवर्तन गर्नुपर्ने, स्वास्थ्यमा विशेष ध्यान दिनुका साथै स्वास्थ्य ईकाइको भर्पुर सदुपयोग गर्न जोड दिनुभएको थियो ।
स्वास्थ्य इकाईको स्थायित्वका लागि जग्गा व्यवस्थापन भएका आउँदो वर्ष आफ्नै भवन निर्माणका लागि बजेट बिनियोजन गर्ने समेत गाउँपालिका अध्यक्ष गुरुङले प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
वडा नं. ६ का वडा अध्यक्ष मीन राशि गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानी, सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ७ का वडा अध्यक्ष तिलबहादुर गुरुङ, स्वास्थ्य शाखा प्रमुख लुलबहादुर घले, वडा सदस्यहरू, वडा नं. ६ का समाजसेवी, बुद्धिजीवी र गाउँलेहरूको सहभागिता थियो । उक्त कार्यक्रमको बाहुनडाँडा स्वास्थ्य चौकी प्रमुख रमनाथ घिमिरेले सञ्चालन गर्नुभएको थियो ।
हाल स्वास्थ्य इकाईबाट प्राथमिक स्वास्थ्य उपचार, खोप सेवा, परिवार नियोजन, गर्भवती जाँच र आधारभूत स्वास्थ्य सेवा प्रवाह हुनेछ । उक्त स्वास्थ्य इकाईमा हाल एक जना अहेव, एक जना अनमी र एक जना कार्यालय सहयोगी कार्यरत छन् ।
आफ्नो भवन नबन्दासम्म तत्कालका लागि गाउँलेले निर्माण गरेको सामुदायिक भवनमा स्वास्थ्य इकाई सञ्चालन गरिएको छ ।
प्रकाशित मिति २०८० कार्तिक २, बिहीबार ०७:३१ गते