
बेसीशहर– नेपालीहरूको महान चाड बडादशैको सातौ दिन आज फुलपाती, हिन्दु परम्परा अनुसार देशैभरी नै फूलपाती भित्र्याउने गरिन्छ । फूलपाती स्वरूप नवपत्रलाई पूजा गरी दुर्गा पूजा गरेको ठाउँमा फूलपाती आज कार्तिक ४ गते गरिन्छ ।
बडादशैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यता अनुसार फूलपातीको आफ्नै विशिष्ट महत्व रहेको र दसैँका लागि पूजा सामग्री स्वरूप फूलपाती भित्र्याउने कार्य गरिन्छ । कृषकहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउने गर्छन् ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा फूलपाती भित्र्याउने प्रचलन रहिआएको छ ।
यस वर्षको निमित्त फूलपाती भित्र्याउनका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको साइत बिहान ७ बजेर ११ मिनेटमा छ । त्यस्तै विहान १० बजेर २४ देखि ११ बजेर ५४ मिनेटसम्ममा शुभ समय मानिएको छ । तर कतिपय क्षेत्रमा भने बेलुका फूलपाती भित्र्याउने प्रचलन रहेको छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ ।
फूलपाती भित्र्याउन के के आवश्यक पर्छ ?
शास्त्रीय मान्यता अनुसार फूलपातीको रुपमा नौ थरीका फूलपाती भित्र्याउने गरिएको छ ।
कदली दाढिमी धान्या हरिद्रा मानकं कचु ।
विल्वशोका जयन्ती च विज्ञेया नवपत्रिका ।।
शास्त्रहरूमा उल्लेख भए अनुसार नवपत्रिका(फूलताती) को रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूलका साथमा अन्य नयाँ पालुवासमेत गरी नौ थरी फूल एवम् नवपालुवा दशैं घरमा राख्ने चलन रही आएको छ । तर कतै कतै दारिम, जयन्ती, अशोक आदि नपाइने स्थान पनि छन् । तीन स्थानमा अन्य नववालुवादलाई तिनको प्रतीक मान्ने गरिएको छ ।
ती नौ थरीका वनस्पपतिका क्रमशः ब्रह्मायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्र्तिकी देवीलाई आह्वान गरेर पूजा गर्ने प्रचलन छ ।
पञ्चाङ्ग निर्णायक समितिका अनुसार तुलजा भवानी यात्राको साइत बिहान ८ः२४ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ९ः३५ बजे स्थिरासन गराउने उल्लेख छ । आजका दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ ।
आज सातौं दिन शक्ति कालरात्रिको नामद्वारा प्रसिद्ध छ । नवरात्री पर्व अर्थात दुर्गापूजाको सातौं दिन माता कालरात्रिको उपासना गर्ने दिन हो । यस दिन स्थापना र प्राणप्रतिष्ठा गरिएकी कालरात्रिको भोलिपल्ट अष्टमीको मध्यरात्रीमा तान्त्रिक पद्धतिले विशेष पूजाआज गरि विसर्जन गर्ने प्रचलन छ ।
प्रकाशित मिति २०८० कार्तिक ४, शनिबार ०५:५८ गते