
लमजुङ– बडादशैं नेपालीहरूको सबैभन्दा ठूलो तथा विशेष पर्व मानिन्छ । संस्कृत शब्द दशमीबाट प्राकृत हुँदै नेपाली भाषामा आएको तद्भव शब्द हो– ‘दशैँ’ । आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवका साथ मनाइने चाड भएको हुनाले यसलाई बडादशैं वा विजयादशमी भन्ने प्रचलन छ । ती महत्वका दश दिनमध्ये महानवमी एक हो । जे आज परेको छ । बडादशैँको आज नवौं तथा अन्तिम दिन, दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाइँदै छ ।
दशैं आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु हुन्छ र यसको पहिलो दिनलाई घटस्थापना हो । बडादशैं प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत)सम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिनलाई नवरात्री र दशौँ दिनलाई दशमी वा विजयादशमी भनिन्छ । यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानव जातिको कल्याण गरेको भन्ने किंवदन्ती छ ।
प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्री), महानवमी, विजयादशमी र पूर्णिमा (कोजाग्रत) बडादशैंका प्रमुख तिथिहरू हुन् । विजयादशमीको दिन भगवतिले दानवी शक्तिमाथि र रामले रावनमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टीका र जमरा लगाउने गरिन्छ । शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । भनिन्छ भगवान् रामले यसै दिन रावणको वध गरेका थिए । त्यसो त यो दिनमा श्रीराम लंका विजयका लागि प्रस्थान गरेका थिए भन्ने मत पनि भेटिन्छ ।
देवीपुराणमा ‘रामले आश्विन शुक्लको नवरात्रमा भगवतीको उपासना गरेर विजया दशमीको साइतमा लङ्कामा रावणका विरुद्ध युद्ध गर्न प्रस्थान गरेको’ प्रसङ्ग उल्लेख छ ।
यसै दिन वा पर्वलाई असत्यमाथि सत्यको विजयको रूपमा लिइन्छ । यसकारण, दशमीलाई विजयादशमी भनिएको हो । ठूलाबडा, मान्यजनबाट आफ्ना नाता कुटुम्बमा टीका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ– नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने– ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने, पिङ(लिङ्गे र रोहटे) खेल्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ ।
उहिले बडादशैं शुरु हुनै लाग्दा गाउँघर, बाटो घाटो सरसफाई, लिङ्गे तथा रोटे पिङ्ग बनाएर बडादशैं लागेको संकेत पनि दिने गरिन्थ्यो । यो चलन नेपालमा पिता पुर्खाकालदेखि अहिलेसम्म चलिआएको छ । नेपालीहरूले बडादशैं, तिहारलाई वर्ष दिनको मिलन र खुसियालीका रुपमा पनि लिने गर्दछन् । तर हिजोआज पिङ इतिहासका पानामा मात्र कैद हुने स्थिति बन्दैछ । मुल कारण त गाउँहरू युवा बिहीन हुनु हो ।
बडादशैं वर्षका दुई अत्यन्त शुभ तिथिहरूमा पर्छन्, चैत्र (चैत)को शुक्लको एवं कार्तिक शुक्लको प्रतिपदा तिथि । यी दिनहरूमा हिन्दूहरू नयाँ कार्य शुरु गर्दछन्, शस्त्रको पूजा गर्दछन् । प्राचीन कालमा राजाहरू यस दिन विजयको प्रार्थना गरेर रथ–यात्राको लागि प्रस्थान गर्दथे । यस दिन ठाउँ–ठाउँमा मेलाहरू समेत लाग्थे ।
नेपाली समाजमा पारिवारिक कलह, मनमुटाव, असमानता भए पनि त्यसलाई चिर्दै बर्षमा एक पटक आउने बडादशैंलाई सबै आफन्तजन मिली एकअर्कामा मिलेर पर्व मनाउने परम्परा छ । बडादशैं विशेष गरी नेपालीहरूको महान चाड हो । समयको परिवर्तनसँगै नेपालीहरूमा पनि चेतनाको स्तर बृद्धि हुदै गएको देखिन्छ । जसको फलस्वरुप आफ्ना व्यक्तिगत पीडाका साथसाथै देश दुखेका आवाजहरू र खुशी पनि यत्रतत्र मालश्री गीत मार्फत गुञ्जन थालेका छन् ।
बडादशैंका दिन देवी भगवतीको पूजा आरधना गरी पुराण लगाई पनि मनाइन्छ । देवी भगवतीले सबै दुख हरेर खुसियाली ल्याउने पौराणिक मान्यता भएकाले पनि पुराण लगाएर देवी भगवतीको पूजा आरधना गरिन्छ । घटस्थापनादेखि नवरात्रसम्म गरिने नवदुर्गा भवानीको पूजा अति प्राचीन परम्परा हो ।
अनादिकालमा महिषासुर नामको राक्षसले गरेको अत्याचार र पीडाबाट मुक्त हुन आराधना गर्दा दुर्गा भवानीले महिषासुर राक्षस मारेर खुसीयाली मनाएको विजयादशमीको दिनदेखि शुभदिनका रुपमा मानिँदै आएको हो ।
बडादशैंकै बेलामा हामी मानिसले आफू भित्र रहेका लोभ, मोह, ईर्ष्या, घृणा, तिरस्कार, दम्भ जस्ता महिषासुर तथा रावण रुपि राक्षसलाई पराजित गर्न सक्नु पर्छ । तबमात्र बडादशैं मनाउनुको सार्थकता रहन्छ ।
प्रकाशित मिति २०८० कार्तिक ६, सोमबार ०६:०५ गते