
पाउँदी(लमजुङ)– वरिष्ठ पत्रकार, साहित्यिक एवम् सामाजिक व्यक्तित्वका धनी नवराज पहाडीले आफ्नो जन्म दिनको अवसरमा सर्वोदय सेवाश्रममा रहनु भएका बा– आमालाई आज विहानीको खानाको प्रवन्ध गर्नु भई आफूलेसमेत सँगै खानु भएको छ । बडादशैंको रामनवमीका दिनमा जन्मनु भएका उहाँले यहाँ स्थित सर्वोदय सेवाश्रममा आएर कार्तिक ६ गते बिहान सो कार्य गर्नु भएको हो ।
उहाँले सो अवसरमा आयोजित एक अनौपचारिक कार्यक्रममा मन्तव्य राख्दै मैले हिन्दूधर्मको महत्व बुझेदेखिनै मिति नभई तिथिमा जन्म दिन मनाउँदै आएको छु भन्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो संस्कार संस्कृति सबै हिन्दूत्वसँग जोडिएको छ, या त संस्कार संस्कृति मान्नु भएन मान्ने हो भने त्यसको मान्यता, मुल्य एवम् भावनाको सक्दो कदर गरिनु पर्छ भन्ने लाग्छ । त्यसैले पनि आफूलाई हिन्दू वा बौद्धिष्ट भन्ने सबैले मितिमा भन्दा तिथिमा जन्मदिन मनाउनु बुद्धिमानी हुनेछ ।’ हुन त हिजोआज कतिपयले आफ्ना लागि भन्दा पनि अरुलाई देखाउनका लागि धर्म गर्ने प्रचलन छ । मलाई लाग्छ त्यो धर्मको बर्खिलाप हो । जस्तो कि, हिजोआज एक छिने विवाहले समस्या निम्त्याउने गरेको छ । पण्डितहरु पनि पैसाका पछि लागेर जुनबेलामा पनि सिन्दूर पहिराउँछन् । हिन्दू संस्कार संस्कृति अनुसार सिन्दूर लगनमा मात्र पहिराउनु पर्छ । हामीले विवाहको गाडी दुर्घटनामा परेको सुन्छौं, देख्छौं त्यस्ता घट्ना कुबेला अर्थात काल बेलामा सिन्दूर पहिरिनाले भएको हो, कालबेलामा सिन्दूर हाले पछि ती बेहुला बेहुली नमरे को मर्छ ? यसैले धर्म देखाउनका लागि गरिनु हुँदैन उहाँले जोड दिदै भन्नुभयो । उहाँले आज यो संयोग जुर्यो, आफ्नो जन्म दिनको हर्ष भन्दा पनि बडादशैं जस्तो चाडमा परिवारसँग विछोडिएर विरक्तिदै बस्नु भएका बा–आमाका साथमा बसेर खुशीमा खुशी थप्ने र खुशी साट्ने उद्देश्यले आज यहाँ आउने सोच बनाएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सोही सोच अनुसारको अबसर जुर्यो, जुट्न सक्यो, यसका लागि आश्रमका संस्थापक अध्यक्ष कृष्ण ओलिया, आफ्ना परिवारजन अनि यस क्षणमा साथ दिनु हुने बा– आमा, माया बैनी सहित सबैप्रति कृतज्ञता व्यक्त गर्दछु ।’ उहाँले थप भन्नुभयो, ‘कृष्ण ओलिया यो आश्रमको अध्यक्ष नहुनु भएको भए पनि सायद म यहाँ आउन्नथे होला भन्दै यसको जस ओलिया सरलाई नै छ ।’
बडादशैंको बेला व्यस्तता रहने, यो बेलामा कहिले आफू लमजुङ नरहने, रहँदा पनि बडादशैंमा हुने मरण या नवजात शिशुको जन्म(सुत्केरो)ले बडादशैं छेकिदा आफ्नो जन्मदिवस समेत छेकिने गरेको विगत स्मरण गर्दै उहाँले भन्नुभयो, ‘यो वर्ष कतै गइएन, यो संयोगका लागि पनि अन्यत्रको योजनाले प्राथमिकता नपाएको हुन सक्छ ।’ यो कार्य ओलियाजीको महाअभियानमा इटा थप्ने जमर्कोमात्र भएको उल्लेख गर्दै अभियानलाई निरन्तरता दिन विभिन्न टुल्सहरूको आवश्यक पर्छ र त्यसमा पैसाले मात्र महत्व राख्छ भन्ने लाग्दैन, साकारत्मक सोच र भावनाबाट अभियान थालियो भने पैसाले बाटो छेक्न सक्दैन भन्ने कतिपय अभियानको आफू साक्षी रहेको स्मरण गर्नु भयो । यो आश्रमको सञ्चालनमा पनि पैसाभन्दा बढी भावनाले काम गरेको छ भन्ने विश्वास लाग्छ उहाँले भन्नुभयो ।
यसअघि सोही आश्रमका संस्थापक अध्यक्ष ओलियाले ०३६ सालमा चिनजान भएदेखिनै आजका दिनसम्म अनवरत रुपमा हामी दुई बीच अन्तरङ्ग सम्बन्ध रहिआएको बताउनु भयो । उहाँले पहाडीजी त्यतिबेला पनि राजनीतिको अग्रपंक्तिमा जस्तै हुनुहुन्थ्यो, म राजनीतिको कहिल्यै अग्रपंक्तिमा भइन तर राजनीतिबाट दीक्षित हुने काम पहाडीजीबाटै भएको हो उहाँले उल्लेख गर्नु भयो । त्यस्तै, पहाडीजी विस्थापित भएर राजधानी रहँदा लमजुङमा पत्रकारिताको उहाँको विरासत मैलेनै थामेको थिएँ र त्यो देन पनि उहाँकै हो ओलियाले गर्वका साथ बताउनु भयो ।
पहाडीको स्वभाव खरो छ, देखेको बोल्ने, लेख्ने बानी छ, ‘कतिपयले यति लामो सम्बन्ध तेरो कसरी चलेको छ पनि भन्छन्’, उहाँको स्वभावलाई आत्मसात गर्ने क्षमता मसँग छ र हाम्रो सम्बन्ध पनि निरन्तर छ ओलियाले उल्लेख गर्नु भयो ।
राजनीतिक, पत्रकारिता, साकाहार तथा सामाजिक अभियानमा समेत हामीसँगै छौं उहाँले सगर्व बताउनु भयो । मित्रताको यो लामो यात्रा(४४ बर्ष)मा पहाडीको जन्मदिन सर्वोदय सेवाश्रममा मनाउने अवसर जुर्यो । उहाँको जन्मदिन नवदुर्गाको नवमीमा रहेछ ! उहाँले तिथिमा जन्म दिन मनाउनु हुने रहेछ । जन्मदिनलाई मानवीय सेवामा समायोजन गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्दछु भन्दै उहाँको राजनीति सहित सबै क्षेत्रमा उज्वलभविष्यको कामना गर्दछु भन्नुभयो ।
आश्रमको वस्तुस्थितिका बारेमा जानकारी दिदै आश्रमको दीगो आम्दानीको स्रोत छैन । यसको सञ्चालन यस्तै मनकारी महानुभावहरूकै दानबाट सञ्चालन हुँदै आएको छ ओलियाले उल्लेख गर्नु भयो ।
सो अवसरमा आश्रमका पण्डित लक्ष्मण गिरिले पहाडीलाई आर्शीबचनका साथ टीका र रुद्राक्षको माला पहिराउनु भई शुभकामना दिनु भएको थियो ।
४२ वर्षीय युरोपियन नागरिक लिथुनिया र पोर्चुगलकी नागरिक २० वर्षीया युवती मर्जेरिडा समेत उपस्थित सो कार्यक्रमको सञ्चालक आश्रमका व्यवस्थापक एवम् स्रष्टा लक्ष्मीप्रसाद मिश्रले गर्नु भएको थियो ।
आश्रमको भावना, सेवा र इतिहास :
मानवतावादको सिद्धान्तमा अवसर नपाएका, कमजोर, बेसहारा, अशक्तहरूको सेवा गर भन्छ । विकासवादले आम्दानी हुने काम कुरामा लगानी गर भन्छ । त्यसमा मानवतावादको सिद्धान्तमा आधारित भएर सर्वोदय सेवाश्रमको परिकल्पना भएको हो । जीव, जीवन र जगतको कल्याणमा काम गर्ने सोच नै यसको जग हो ।
दान, यज्ञ, भू–दान अभियान चलाएर आश्रमका लागि जमिनको व्यवस्थापन गरिएको हो । श्रीमद्भागवत गरेर केही धनका साथमा अथाह मन जोड्ने काम भयो । त्यही जगमा आश्रम शुरु हुन आएको हो । औपचारिक रुपमा उक्त संस्थाको स्थापना २०५९ साउनमा भएको हो भने जेष्ठनागरिक आश्रम सञ्चालन कार्य २०६८ कार्तिकबाट सुरु भएको हो । उक्त आश्रममा हालसम्म ६५ जनाले आश्रय लिइसकेका छन् ।
हाल १८ जना रहनु भएको छ र तीमध्ये आठ जनाको मुख बोल्न सक्ने अवस्था छैन । ४० जनाको आवासीय र २०० जनासम्मको दिवा सेवा दिने क्षमता आश्रमको रहेको छ । गौशाला समेत रहेको उक्त आश्रमसंगै पछिल्ला दिनमा योग, ध्यान, आयुर्वेद र फिजियोथेरापी सहितको आरोग्य हेल्थ क्लब सञ्चालनमा छ ।
पछिल्ला दिनमा ‘धर्मनाथ धाम’ नामाकरण गरिएको उक्त आश्रम हातामा १०८ गोमुखी धारा, १०८ शिवलिङ्ग, १२ फुटे ध्यानात्मक शिव मुर्ति, कैलाश पर्बत सहितको आध्यात्मिक केन्द्र निर्माणाधिन अवस्थामा छ ।
प्रकाशित मिति २०८० कार्तिक ६, सोमबार २०:०१ गते