पाउँदी(लमजुङ)– लमजुङको राइनास नगरपालिका– ८ को हर्राबोट स्थित पाउँदी दोभानको मर्स्याङदी नदी किनारमा सञ्चालन गरिएको सर्वोदय सेवाश्रम योग र ध्यानको केन्द्र बन्नेतर्फ उन्मुख हुँदै आएको छ । स्वदेशमात्र नभई विदेशबाट समेत यो आश्रममा ध्यान, योगका लागि मानिसहरू आउने क्रम जारी रहन थालेसँगै त्यस्तो छनक मिलेको हो ।
यतिबेला युरोपीयन नागरिक ४२ वर्षीय लिथुनीया १५ दिनदेखि ध्यानमा छन् । साधुको भेषमा बस्न रुचाउने उनी साधुले पहिरिने धोतीको भरमा साधनारत छन् । उनलाई पोर्चुगलकी २० वर्षीया मर्जेरिडाले साथ दिदै आएकी छन् । विदेशीहरूका लागि छ महिने पर्यटकीय भिसामात्र नेपालले उपलब्ध गराउने गरिआएको छ । लिथुनीयाले यो प्रतिनिधिसँग एक वर्षको भिसा पाएमा आफू यहाँ पुरै एक वर्षनै बस्ने इच्छा रहेको बताए ।
त्यसो त उक्त आश्रम स्थापनाको उद्देश्य नै आश्रमलाई योग, ध्यान, आयुर्वेदको केन्द्रका रुपमा विकसित गर्ने हो । यहाँ सञ्चालनमा रहेको बृद्धाश्रम त यसकै एक शाखाको रुप मात्र हो आश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलियाले बताउनु भयो । उहाँका अनुसार यस आश्रममा योग ध्यानका लागि व्यक्ति एक जना मात्र नभई समूहगत रुपमा समेत आउने गरेका छन् । भारतको हिमाञ्चल प्रदेशको अलहवालियाबाट आएका ओम प्रकाशले यहाँ दुई महिनासम्म बसेर ध्यान गर्नु भएको छ । त्यस्तै, भारतकै पश्चिम बंगालबाट फरक फरक समयमा आउनु भएका हनुमान बाबाले २ महिना विताएर जानु भयो भने सुर्ययोगी उमांशंकर ५ दिन बसेर फेरि आउने वाचाका साथ जानु भएको छ ओलियाले जानकारी दिनुभयो ।
दुई वर्ष अघि काठमाडौंमै रहेको हिमालयन समर्पण ध्यानयोग नेपालको व्यानरमा १५ जनाको समूह आएर ४५ दिने शिविर सञ्चालन गरेर गयो, त्यो समूहमा उपत्यका बाहिरका मानिस पनि जोडिएका रहेछन्, उनीहरू पनि आएका थिए ।
हिमालयन समर्पणको टोली माघ १२ गतेदेखि फागुन २७ गते शिवरात्रीसम्म ४५ दिन गहन ध्यान अनुष्ठानका लागि साधक÷साधिकाहरू काठमाडौ चितवन, पोखरा, स्याङजाबाट सहभागी हुनुहुन्थ्यो । मर्स्याङदी नदीतट, धर्मनाथ धाममा यसअघि घुमघामका लागि आउँदा ध्यानको लागि बिशेष भाईब्रेसन (कम्पन) प्राप्त भएको हुनाले यो ठाउँ ध्यान साघनाका लागि अति उत्तम भएको सो टोलीको नेता साधक कपिलदेव भट्टले बताउनु भएको थियो ।
सर्वोदय सेवाश्रममा आजका दिनसम्म गुरु राधा बिहारी शरणले ५ दिवसीय ध्यान शिविर, ओशो ध्यान फलोअर्सबाट डाइनामिक ध्यान, ब्रम्हाकुमारी राजयोग, राधा माधव समिति, सत्यसाई केन्द्र, आत्मा ज्ञान प्रचार संघ, अद्वैत संस्था, सिद्धाश्रम शक्ति केन्द्र, तत्व ज्ञान परिषद् आदि बाट समेत १/१ दिवसीय सत्संगका कार्यक्रम सम्पन्न भएका छन् ।
यस बाहेक विभिन्न समयमा योग साधकहरूले एक्लै आएर एकल ध्यान, विशेष अध्ययन गर्ने गर्नु भएको छ । गुरु राधा बिहारी शरण, गुरु चैतन्यकृष्ण, पण्डित कमलनयन गौतम, डा. चिन्तामणि योगि, डा. चिन्तामणि गौतम, स्वामी निर्मल, साधक स्वप्नम्, डा. नेत्र आचार्य, आर्ट अफ लिभिंग प्रशिक्षक कञ्चन घिमिरे, साधक शंकर चापागाई, साधक पवन महतारा, साधक ऋषि लम्साल मिेतले अभ्यास गरिसक्नु भएको छ । त्यसैगरी, साधक दिपक शर्मा, डा. यस के धिताल, साधक रमेश सिटौला, कृष्णशरण (डा.टि.पि धमला), ज्योतिष दिपक सुवेदी लगायत अन्य योगी योग साधक र प्राकृतिक आयुर्वेदिक चिकित्सकहरूले यस आश्रमलाई नजिकबाट चिन्ने अभ्यास गरिसक्नु भएको छ । सर्वोदय सेवाश्रम कुनै पनि विशेष धर्म सम्प्रदायसंग आबद्ध छैन । यो त केवल मानव धर्म ‘स्वधर्म’मा विश्वास गर्दछ । सबैको उदय सर्वोदयको मुल अभियानका साथ सबैका लागि, सधैंका लागि साझा चौतारीको रुपमा सर्वोदय क्रियाशील रहेको ओलिया बताउनु हुन्छ ।
ओलियाले विगतका दिनको स्मरण गर्दै भन्नुभयो, ‘नेपालीहरू पटक पटक गरेर करिब ८० जना र विदेशीहरू पनि ६/७ जना ध्यानका लागि आइसकेका छन् । दुई वर्ष अघि जापानबाट आएर २७ वर्षीया यूकी नाम रहेकी अविवाहिता युवतीले १५ दिने ध्यान गरेर गइन् ।’ उनको साधनाका बारेको समाचार त्यही समयमा अन्तरङ्गले प्रकाशन गरेको समेत ओलियाले स्मरण गर्नुभयो ।
२०५७ सालमा ओलिया लामै बिरामी पर्नु भयो, डाक्टरले उहाँको रोग नसा च्यापिएको(साइटिका) पहिचान गरे । सरल र सहज उपचार खोज्ने क्रममा उहाँको मनसाग्नीसंग भेट भयो । काठमाडौंको पुरानो बानेश्वरको कात्यायनी मन्दिर नजिक रहेको उहाँकै प्राकृतिक अस्पतालमा पुगेर करिब डेढ महिनाको उपचारपछि ओलिया स्वस्थ हुनुभयो । त्यहाँ बस्दा मनसाग्निसँग भएको चिनजान, सम्पर्कको उपज हो, यो आश्रम ओलिया गर्वका साथ बताउनु हुन्छ । ओलियाले भन्नुभयो, ‘मनसाग्निको रेखदेखमा योग प्राकृतिक उपचार र उहाँका एक दर्जन कृतिहरू पढ्ने अबसर मिल्यो, त्यसबाट उहाँको बारेमा गहिरिएर बुझे, पछि उहाँसंग एक दिन अस्पतालमै जीव, जीवन र जगतका बारेमा घण्टौंसम्म कुराकानी भयो ।’ त्यहीँबाट उहाँसंगको संरक्षकत्वमा सर्वोदय अभियान शुरु गर्ने संकल्पका साथ हामी आज पर्यन्त संगै छौं ओलियाले गर्वका साथ उल्लेख गर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘सर्वोदयको जन्मको पृष्ठभूमि पनि त्यहि हो ।’
उक्त आश्रममा साधनका लागि अमेरिका, पोर्चुगल र ताजकिस्तानका योगी साधकहरू सर्वोदयमा साधना गर्न यतिबेला पनि आएर बसेका छन् ।
अखिल साधक– थानकोट काठमाडौं, नारायण पन्थी गुल्मी, कविराज काठमाडौं ७ दिन बस्नु भएको छ ।
पूर्वसांसद आध्यात्मिक साधक तपस्वी शंकर पाण्डे(स्याङ्जा) यहाँ दुईपटक आउनु भएर ३÷३ दिन बिताउनु भएको छ । उहाँले यहाँ बस्दा मर्स्याङ्दी नदी किनारमा ध्यान गर्दाको फोटो संलग्न छ ।
यसबाहेक गर्गशुक्ल, राधा विहारी शरण र मौनी बाबा नेपालले ७÷७ दिन बिताउनु भएको छ । स्वामी चन्द्रेश पश्चिम बंगालले यो आश्रम २ दिन तथा हनुमान बाबा पश्चिम बंगालले २ महिना विताइसक्नु भएको छ ।
यसैसन्दर्भमा सर्वोदय आश्रमसँग जोडिएर अमेरिकी नागरिक नतासा उर्फ लक्ष्मीले २०७२ सालको भूकम्पले ध्वस्त भएको राइनासकोटको पुनः निर्माणमा सहयोग गरिन् । यतिबेला राइनासकोट जिल्लामै ग्रामीण पर्यटनका लागि उत्कृष्ठ गन्तव्य मध्येको एक बन्न सफल भएको छ । 
विश्वकै हिन्दूहरूका लागि गन्तव्यस्थल बन्ने :
यो थलो आध्यात्मिक क्षेत्रका लागि पनि ख्याति विश्वकै हिन्दूहरूका लागि गन्तव्यस्थल बन्ने तरखरमा छ । विश्वमै हिन्दू धर्मावलम्बीका लागि अयन्त्र नभएको धर्मनाथ धामको नामाकरण गरेर यहाँ शिवको १२ फिट अग्लो ध्यानात्मक मूर्ति स्थापना गरिएको छ । साथमा एक सय आठ शिवलिङ्ग, एक सय आठ गोमुखी धारा लगायतका दर्शनस्थलको तयारी अन्तिम चरणमा पुगेको समेत आश्रमका व्यवस्थापक लक्ष्मीप्रसाद मिश्रले बताउनु भयो ।
उहाँका अनुसार यो आश्रमले लमजुङलाई ग्रामीण पर्यटकको गन्तव्यगस्थल बनाउने कार्यमा समेत आश्रमले इटटा थप्ने काम गरिआएको छ । उहाँले भन्नुभयो, ‘आश्रम स्थलमा एक गौशालासमेत रहेको छ, आश्रम हातामा लगाइएको तरकारी गौशालामा पालिएका गाईले दूध र हाताभित्र फलाइने तरकारीले बृद्धाश्रम आत्मनिर्भर बनिरहेको छ ।’
अझ ! अनौठो त के छ भने काली गण्डकी बाहेक अन्यत्र नपाइने शालिग्राम समेत सो आश्रमलाई पश्चिम दिशा बनाएर बहने मर्स्याङदी नदीमा फेला परेको(चित्रमा) ओलियाले जानकारी दिनु भयो । उहाँका अनुसार मर्स्याङदी नदीको झण्डै बीच भागमा शिव लिङ्ग समेत प्राप्त भएको छ । आश्रमकै एकजनालाई पसनामा म यसरी नदीमा डुबेको छु । मेरो उद्धार गरेर आश्रमको हातामा राख्नु पर्ने आदेश भएको र भोलिपल्ट विहान नदी भित्र गएर सपनामा देखेको स्थानमा हेर्दा शिवलिङ्ग फेला परेबाट यो स्थाल यसअघि पनि कुनै दिन विशेष धार्मिक स्थल हुनुपर्छ भन्ने आंकलन गरिएको ओलियाको भनाइ छ ।
प्रकाशित मिति २०८० कार्तिक ८, बुधबार १६:२० गते