सद्भावको संस्कृतिलाई निरन्तरता दिन कांग्रेसको कोजाग्रत पूर्णिमामा चियापान

सद्भावको संस्कृतिलाई निरन्तरता दिन कांग्रेसको कोजाग्रत पूर्णिमामा चियापान

अन्तरङ्ग न्युज

@antaranganews

२०८० कार्तिक ९ गते बिहिबार ०७:२५

काँग्रेसले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा र एमालेले पनि आफ्नै पार्टी कार्यालय च्यासलमा चियापन आयोजना गरेको जानकारीमा आएको छ ।

निम्ता कार्ड १० हजारलाई वितरण

काठमाडौं– नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गरेको चियापानका निम्ति १० हजारजनालाई निम्ता कार्ड बाँडिएको छ । कांग्रेस सदस्य एवं शुभेच्छुकसहित सर्वसाधारलाई सार्वजनिक रूपमा आमन्त्रण गरिएको पार्टीले जनाएको छ । कोजाग्रत पूर्णिमाका अवसरमा चियापान विपिकै पालादेखि कांग्रेसले गर्दै आएको छ । यो वर्ष त्यो मिति कार्तिक ११ गते परेको छ ।
चियापानमा राजनीतिक दलका नेताहरू, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, सांसदहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुखहरू, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारकर्मी, गैरआवासीय नेपाली संघ–संस्थाका प्रमुखहरूलाई आमन्त्रण गरिएको छ ।
कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भन्नुभयो, ‘हामीले सद्भावको संस्कृतिलाई निरन्तरता दिएका हौँ । चियामार्फत शुभकामना आदानप्रदानले राजनीतिक तिक्ततालाई सद्भावमा बदल्ने र सामाजिक विसंगतिलाई कम गर्न मद्दत पुग्ने अपेक्षा गरेका छौँ ।’ उहाँका अनुसार यस्ता कार्यक्रमले दलहरू बीचको तिक्तता हटाउन, भ्रातृत्व बढाउनका लागि मद्दत गर्छ कांग्रेसका प्रचार विभाग प्रमुख विश्वकर्माले थप बताउनु भयो । उहाँले जलपानका लागि १० हजार निमन्त्रण कार्ड बाँडिएको जानकारी दिनु भयो ।
कांग्रेसले विपिले आफ्नै पालामा सुरु गर्नु भएको चियापान संस्कृतिलाई त्यस यता कांग्रेसले कोजाग्रत पूर्णिमाकै दिन संस्कृतिका रूपमा चियापान आयोजना गर्दै आएको छ ।
त्यसो त पछिल्लो समय नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)सहितका दलहरूले पनि सो कार्यको अनुकरण गर्दै आएका छन् । एमालेले यो वर्ष कार्तिक १४ गते चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ ।
काँग्रेसले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा र एमालेले पनि आफ्नै पार्टी कार्यालय च्यासलमा चियापन आयोजना गरेको जानकारीमा आएको छ ।

एमालेको चियापान कार्यक्रम कार्तिक १४ गते :
संसद्को प्रमुख विपक्षी दल एमालेले कार्तिक १४ गते चियापान कार्यक्रम आयोजना गरेको छ । चियापान पार्टी केन्द्रीय कार्यालय च्यासलमै गरिने पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताउनु भयो । उहाँका अनुसार राजनीतिक दलका नेता, सांसद, मन्त्रीसहित कूटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका पदाधिकारीलगायत व्यक्तिलाई चियापानमा निम्तो दिइएको छ ।
स्मरणीय छ, बीपी कोइरालाले ०३३ साल पुस १६ गते बीपी ‘राष्ट्रिय मेलमिलाप नीति’ लिएर स्वदेश फर्किएपछि ०३४ सालमा कोजाग्रत पूर्णिमाका दिन सुरु गर्नु भएको थियो । त्यस समय राजाले राजनीतिक दलहरू माथि प्रतिबन्ध लगाएको क्रम जारी थियो । बीपीले राजनीतिक दलका नेताहरू र सर्वसाधारणले एकसाथ भेट्न मिल्ने गरी कोजाग्रत पूर्णिमाका दिन चियापान आयोजना गर्न थाल्नु भएको थियो ।

प्रकाशित मिति २०८० कार्तिक ९, बिहीबार १९:२५ गते
हजुरको प्रतिक्रिया