प्रविधिको विकाससंगै दाइँ हाल्ने परम्परा संकटमा

प्रविधिको विकाससंगै दाइँ हाल्ने परम्परा संकटमा

विराट न्यौपाने/अन्तरङ्ग

@antaranganews

२०८० कार्तिक १२ गते आईतबार ११:११

तिनताका दयरा(दाईँमा काम गर्ने)हरूलाई चाम्रे, त्यो नभए झिनुवाको चामलमा घिउ राखेर पकाएको मगमग बासना आउने खाना, साग, बोडी आलुको तरकारी, अचार आदिको बास्नादार खानाले मनै लोभ्याउने गर्दथ्यो सुन्दरबजार नगरपालिका– ६ खत्रीठाँटीका कृष्ण केसीले बताउनु भयो । उहाँले भन्नुभयो ‘जु्नेली रातका दाईँमा रमाउने दिन अब सायदै आउने छ ।’

एकापसमा धेरै मान्छे मिलेर दाइँ हाल्ने परम्परा थियो तर हिजोआज बिरलै त्यस्ता दृश्य देख्न पाइन्छ ।

लमजुङ– पछिल्लो समय प्रविधि अर्थात थ्रेसरको प्रयोग बढेसंगै गाउँघरबाट दाइ संस्कृति हराउँदै गएसँगै संकटमा परेको छ । केही वर्ष अघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएका जिल्लाका अधिकांश किसानहरू पछिल्लो समयमा आधुनिक ‘थ्रेसर मेशिन’को प्रयोग गरी दाइँ हाल्न थालेका छन् ।
आधा दशक अघिसम्म कार्तिक मंसिरमा एका बिहानै फाँटका गह्राहरूबाट धँुवा आइरहेका हुन्थे । घरकी मुल मान्छे खानाको तयारी गर्दै, गह्राभरी मानिसहरू हुन्थे कोही धान झाँट्दै, कोही गोरु धपाउँदै, कोही खानाको तयारी गर्दै त कोही पराल मियोमा हाल्दै हुन्थे ।
गाउँघरमा अर्मपर्म गरेर खेती लगाउने, खेती थन्काउने चलन थियो । दाइँ संस्कृतिले आपसमा मेलमिलाप पनि गराउँथ्यो । ‘दाइ बरादोँ ………. को भाका हाल्दै दाइँमा रमाउनुको मज्जा बेग्लै हुन्थ्यो तर अहिले त्यो संस्कृति हराउँदै जान थालेको सुन्दरबजार नगरपालिका– ४, पुरानाडिही निवासी लक्ष्मीकान्त न्यौपाने बताउनु हुन्छ । उहाँका अनुसार पछिल्लो समय प्रविधि अर्थात थ्रेसरको प्रयोग बढेसंगै गाउँघरबाटै दाईँ संस्कृति हराउँदै जान थालेको छ । उहाँले भन्नुभयो, ‘तर आफूले भने बर्षेनी गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएको छु ।’
‘थ्रेसर मेशिन’को प्रयोगले किसानको समय, श्रम र पैसाको वचत भएता पनि मौलिक संस्कृतिको भने मर्ममै प्रहार हुन थालेको भान हुन थालेको न्यौपानेले बताउनुभयो ।
आफूले गत बर्ष थ्रेसरको प्रयोग गरी धान पराल भित्र्याएको तर सन्तुष्ट हुन नसकेको उहाँको भनाइ छ । हामी भैंसी पालन गर्ने किसानहरूलाई थ्रेसरको प्रयोगले परालमा घाटा भएको र अर्मपर्म गरेर दाईँ हाल्दा एकै दिनमा धान पराल घरमा पुर्याउन सकिने तर थ्रेसरको प्रयोग गर्दा मौसम बदली भएर के हुने हो थाहा छैन, खेतमा थुप्रिएर बसेको पराल पानीले भिजाउने र खेर जाने स्थिति बनेकोले आफू थ्रेसर प्रयोगमा त्यति सन्तुष्ट हुन नसकेको उहाँ बताउनु हुन्छ ।
दाइँको तयारीका लागि ५÷७ दिन अगाडिदेखि नै फाँटको सबैभन्दा ठूलो गह्रो खुर्केर खलो बनाएरत्यसमा पाएसम्म गाईको गोबरले लिपपोत गरेर, मियो गाडेर, धानको कुनियो लगाउने गर्दथे । दाइको दिन कुनियोबाट धानको मुठा निकाली दयराहरूले झाँट्ने, खलोमा पराल छर्ने, धेरैभन्दा धेरै गोरु मियोमा बाँधेर, दाईँगीतका भाका हाल्नुको मज्जा नै बेग्लै हुने गरेको उमेर ढल्कदै गरेका अग्रजहरू बताउँछन् । उनीहरूका अनुसार खलोमा गोरु धपाउँदै, पराल माड्दै, धानको रास बनाएर त्यो धानलाई नाङ्लोले बत्ताउने, परालको भारी हाल्ने वा दाईँ गरिएकै स्थानमा पराल थन्क्याउने हो भने त्यसका लागि बनाइएको टौवामा पराल सजाउने काम हुन्थ्यो । तिनताका एकापसमा धेरै मान्छे मिलेर दाइँ हाल्ने परम्परा थियो तर हिजोआज बिरलै त्यस्ता दृश्य लेख्न पाइन्छ । तिन ताका दयरा(दाईँमा काम गर्ने)हरूलाई चाम्रे, त्यो नभए झिनुवाको चामलमा घिउ राखेर पकाएको मगमग बासना आउने खाना, साग, बोडी आलुको तरकारी, अचार आदिको बास्नादार खानाले मनै लोभ्याउने गर्दथ्यो सुन्दरबजार नगरपालिका– ६ खत्रीठाँटीका कृष्ण केसीले बताउनु भयो । उहाँले भन्नुभयो ‘जु्नेली रातका दाईँमा रमाउने त्यस्ता दिन अब सायदै आउने छ ।’
अहिले युवाशक्ति विदेश पलायन हुनु, साथै गाउँघरमा गोरु र काम गर्ने मान्छे पाउन सकस हुनु र पाइएका खेतालाको ज्याला खर्च महँगो भएकाले लमजुङका किसानहरूले धान, पराल छुट्याउन ‘थ्रेसर मेशिन’कै प्रयोग धेरै गर्न थालेका सुन्दरबजार ४ का महेश अधिकारी बताउनु हुन्छ ।
गाउँघरमै कतिपयले अहिले फाँटमा त्रिपाल बिछ्याई धान झाँटेर धान पराल घरमा भिर्त्याउन थालेका छन् । जसका कारण पहिलेजस्तो मियोमा गोरु घुमाएर दाइँ हाल्ने चलन गाउँघरबाटै हराउँदै जान थालेको छ ।
गोरु र मान्छेले दाइँ हाल्दा समय बढी लाग्छ । खर्च धेरै नै हुन्छ । तर ‘थ्रेसर मेशिन’ले दाइँ हाल्दा श्रम, समय र पैसाको बचत हुने भएकाले पनि यहाँका अधिकांश किसान अहिले ‘थ्रेसर मेशिन’को प्रयोगमा तानिएका स्थानीय किरण घिमिरेले बताउनुभयो ।

प्रकाशित मिति २०८० कार्तिक १२, आईतवार २३:११ गते
हजुरको प्रतिक्रिया