लमजुङ– मानिसको अन्तिम क्षणमा वा स्वर्गवास भएपछि या चितामा राख्ने बेलामा शवको शिर कता पार्ने ? उत्तर कि दक्षिण ? यो विषयले यतिबेला दिमाग चक्कर खाइरहेको छ । यो पंक्तिकारले आफ्नो जीवनको भोगाइमा पहिलो पटक मर्स्याङ्दी नदी किनारको गलत काम अर्थात दक्षिणतर्फ शिर राखेको हिजो कार्तिक १२ गते देखेको हो ।
आफ्नो अभिभावक समेत रहनु भएका वरिष्ठ समाजसेवी एवम् ठाडोभाका लोककला प्रतिष्ठान नेपालका सल्लाहकार नरेन्द्रराज ढुंगानाको अन्तिम संस्कार पाउँदी घाटमा हुँदै गर्दा अन्तिम विदाईका लागि प्रतिष्ठानको अध्यक्षको नाताले संस्थागत नेतृत्व गर्दै कार्यकारिणी टोली सहित यो प्रतिनिधि पाउँदी पुगेको हो । तर चितामा ढुंगानाको शिर दक्षिणतर्फ पारेको देख्दा अनौठो मान्यो । त्यो त यो प्रतिनिधिले त्यसबारेमा प्रश्न गर्दै प्रतिवाद गर्न खोजेको पनि हो तर त्यहाँ आवश्यक पर्दा पुराण नै वाचन गर्नु हुने राष्ट्रिय भूमि आयोगका अध्यक्ष एवम् ठाडोभाका लोककला प्रतिष्ठान नेपालका सल्लाहकार दामोदर अधिकारीले ‘यो काम गलत हो तर म विवाद गर्दिन’ भन्नु भएपछि यो प्रतिनिधि पनि मौन रहन बाध्य भयो । तर पनि त्यो कुराले नराम्रोसँग पोलिरह्यो र ऐले पनि पोल्दै छ ।
यसैले यसबारेमा आफू प्रष्ट हुन आवश्यक ठान्दै खोजबिन सुरु भयो । यसबारेमा विश्व हिन्दू महासंघका जिल्ला सचिव एवम् कर्मकाण्ड विभागका जिल्ला संयोजक कमल अधिकारीसँग सम्पर्क गर्दा ‘उहाँ हाम्रै बन्धु हो, उहाँसँग कर्मकाण्ड गर्दाको लामो अनुभव छ तर त्यस्तो दृश्य मैले पनि पहिलो पटक देखेको हुँ’ भन्नुभयो । किन केही बोल्नु भएन त ? भन्दा ‘चितामा चढाइसकेको हुँदा विवाद गर्न चाहिन’ उहाँले भन्नुभयो ।
यसपछि आवश्यक पर्दा पुराण नै वाचन गर्ने क्षमता मात्र हैन संस्कृत शब्दको पनि अक्षर अक्षरको अर्थ लगाउने विद्वता राख्नु हुने राष्ट्रिय भूमि आयोगका अध्यक्ष एवम् ठाडोभाका लोककला प्रतिष्ठान नेपालका सल्लाहकार दामोदर अधिकारीसँग सम्पर्क गरी ‘हिजो घाटमा तपाईले किन चितामा शिर दक्षिणतर्फ फर्काउन हुँदैन भन्नु भएन ? तपाई हुँदैन मात्र भनेको भए म थप प्रतिवाद गर्थे र कुनै हालतमा त्यसरी जलाउन दिन्नथे !’ भन्दा उहाँले ‘मैले त त्यहाँ धेरैलाई भने, यो काम गलत भो ! भनेर तर ती बुढा जिद्धिवाल छन् टेर्दैनन् भने, त्यसपछि विवाद बढाउन नचाहेको हुँ, काम त गलत नै हो’ भन्नुभयो । उहाँले थप भन्नुभयो, ‘शास्त्रमा उत्तराभिमुखे … ’ भनेको छ । त्यो भनेको उत्तरतर्फ मुख फर्काउनु हो भन्ने उनले अर्थ लगाए । त्यसो होइन, अल्प बुद्धिले अर्थ लगाउने भएपछि यस्तै हुन्छ ।’ ‘मलाई त समाचार लेख्न म छ’ भन्ने थप जिज्ञासामा ‘लेख्दा राम्रै हुन्छ !’ उहाँले भन्नुभयो ।
उहाँको भनाईबाट पनि जिज्ञासा अझै शान्त हुन सकेन । त्यसपछि काठमाडौंमा बसेर ‘हिन्दू जागरण अभियान’को नेतृत्व गर्नु भई देशभर अभियान सञ्चालन गर्नु भएका विद्वत् परिषदका संयोजक पं. रामकृष्ण उपाध्यायसँग सम्पर्क गर्दा, उहाँले ‘ऐले तपाई घाटमै हुनुहुन्छ, हो ?’ भन्नुभयो, ‘हिजोको घट्ना हो ?’ मैले भने । ‘मलाई उत्तिबेलै किन भन्नु भएन ?’ भन्दै उल्टै उपाध्यायले हकार्नु भयो । ‘त्यस्तो हुँदैन, त्यो गलत काम हो’ उहाँले भन्नुभयो । ती पण्डित दुर्गाप्रसाद अधिकारीले पु्राणको जिकिर गरे मैले भने । उपाध्यायले उनले आफू वा आफन्तजन मर्दा पनि त्यसो गर्न सक्छन् रे ? भन्नुभयो । ‘त्यो त गर्छन् होला नि ! गराउँदै हिड्नेले !’ भन्ने मैले भने । उनीहरू बैष्णव हुन् ? उपाध्यायले भन्नुभयो, पण्डितको बारेमा थाहा भएन, ढुंगाना परिवार त बैष्णव होइन भने । त्यसपछि उहाँले भन्नुभयो, ‘शास्त्रमा त आत्महत्या पनि गर्न हुन्छ भनेर कतै कतै भनेको, विधि समेत उल्लेख गरेको छ त्यसो भए के आत्महत्या गर्न मिल्छ ? पाइन्छ ? त्यस्तै, यदि भाउजुको जायजन्म भएको छैन र कथंकदाचित दाजुको स्वर्गबास भयो भने त्यस्ती भाउजुलाई देवरले विवाह गर्न हुन्छ भनेको छ, त्यो गर्न मिल्छ अहिले ? ‘त्यस्ता पण्डितलाई बहिस्कार गर्नु पर्छ ।’ उहाँले भन्नुभयो ।
त्यसपछि पं. उपाध्यायले ती पण्डितको नाम, नंबर माग्नु भयो । उहाँले ती पण्डित अधिकारीसँग सोद्धा उहाँले कैलाश दाहालले लेखेको किताबका आधारमा यस्तो काम गरेको हुँ, अरु त मलाई थाहा भएन भन्दै कायलनामा हुनु भएछ । अब आयन्दा त्यस्तो नगर्नु उपाध्यायले भन्नु भएका छ । ती पण्डितले ‘हुन्छ’ भनेका छन् उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ त्यो नाम गरेको एकजना छन् । के लेखेका रहेछन् ? उनीसँग कुरा गरेपछि थप कुरा गरौंला । उहाँले भन्नुभयो, ‘दाहालको फोन उठेको छैन ।’
प्रकाशित मिति २०८० कार्तिक १३, सोमबार १६:११ गते