भोटेओडार(लमजुङ)– वरिष्ठ पत्रकार नवराज पहाडी यहाँ सम्मानित हुनुभएको छ । सिर्जनात्मक साकोसको २७औं बार्षिकोत्सव एवम् २४ औं साधारणसभाको उदघाटन सत्रमा पहाडी सम्मानित हुनु भएको हो । सहकारी रजिष्टारको कार्यालय, गण्डकी प्रदेश पोखराका शाखा अधिकृत चोलाकान्त वाग्ले र आयोजक संस्थाका अध्यक्ष रामजी कँडेलले संयुक्त रुपमा उदघाटन सत्रको विशेष समारोहमा कार्तिक १८ गते सम्मान गर्नु भएको हो ।
भक्ति नमूना माविको सभाहलमा आयोजना गरिएको सभामा सिर्जनात्मक साकोसका अध्यक्ष कँडेलले टीका र दोसल्ला ओढाएर र सहकारी रजिष्टारको कार्यालय, गण्डकी प्रदेश पोखराका शाखा अधिकृत चोलाकान्त वाग्लेले सम्मान पत्र हस्तान्तरण गर्दै सम्मान गर्नु भएको हो । जिल्लाको पहिलो, वरिष्ठ पत्रकार पहाडीले निडर र निर्भिक रुपमा सत्य, तथ्यमा आधारित रहेर समाचार संप्रेषण गर्ने गर्नु भएकोमा सम्मान गरिएको सिर्जनात्मक साकोसका सचिव मेन घलेले बताउनु भयो । उहाँलाई आफ्नो पेशागत मर्यादा बढाउन थप प्रेरणा मिलोस् भन्ने धेयका साथ सम्मान गरिएको सिर्जनात्मक साकोसका अध्यक्ष कँडेलले बताउनु भयो ।
सम्मानित भएपछि यो प्रतिनिधिसँग संक्षिप्त कुराकानी गर्दै वरिष्ठ पत्रकार पहाडीले आफ्नै जिल्लामा बसेर पत्रकारिता गर्नुपर्छ भन्ने पवित्र उद्देश्यले आफू पत्रकारिता पेशामा लागेको बताउनु भएको छ । उहाँले आफूसँग पत्रकारिताको अनुभव ४३ वर्ष भएको र आफैले सम्पादन/प्रकाशन गर्न थालेको अन्तरङ्ग ऐले ३२ वर्षमा चलिरहेको स्मरण गर्नुभयो । उहाँले पेशा सुरु गर्दै गर्दा यस्ता सम्मानको आशा थिएन तर काम गर्दै जाँदा यस्तो अवसर पनि मिल्दो रहेछ यो सहकारी संस्थाका अध्यक्ष सहित सबैलाई कृतज्ञता अर्पण गर्दछु भन्नुभयो । पत्रकारितका बारेमा प्रकाश पार्दै सूचना र समाचारमा आकाश जमिनको फरक छ । हिजो आज फेसबुकतिर देखिने र गैरपत्रकारले पोष्ट गर्ने सूचना मात्र हो, त्यो समाचार होइन । कुनै पनि घट्नासँग सम्बद्ध प्रमाण तथा घटनाक्रमका मागेको जति सूचनाहरू नपाएमा मैले समाचार लेख्ने गरेको छैन । लेख्दिन पनि उहाँले भन्नुभयो ।
यसैगरी, लमजुङको पत्रकारिताका के कस्तो छ ? भन्दै राखिएको जिज्ञासामा उहाँले हाम्रो जिल्लामा प्रायः ‘प्रायोजित पत्रकारिता’ चल्ने गरेको छ । प्रविधिले पत्रकारलाई अल्छी बनाएको छ । विषय वस्तुका बारेमा गहिरिएर सोधखोज गरेर समाचार बनाउनु भन्दा पनि सम्बद्ध संघसंस्थाका अध्यक्ष/प्रमुखले ‘यसरी यो यो लेखिदिनु’ भनेर आदेश गरेका कुराहरूका मात्र प्रायः समाचार बन्छन् लमजुङमा । सबै संघसंस्था(सरकारी वा गैरसरकारी)मा राम्रो मात्र काम भएको छ भन्ने हुँदैन, छैन । उदाहरणका लागि सहकारीहरूकै कुरा गर्दा जिल्लाका आधा दर्जन बढी सहकारी संस्थाहरूको ढोका बन्द हुँदैछ । तर ती संस्थाहरूका समाचार कति लेखिने गरेको छ ? कति पढ्न पाउनु भएको छ ? यसबाट पनि लमजुङको पत्रकारिता कता जादैछ ? भन्ने प्रष्ट हुन्छ पहाडीले उल्लेख गर्नु भयो ।
त्यस्तै, सहकारी संस्थाहरू के गर्दा राम्रो हुन, प्रगति गर्न सक्छन् ? भन्ने जिज्ञासामा उहाँले आफू सहकारीको अभियन्ता पनि भएको स्मरण गर्दै लमजुङमा आफू २०४९– ५० सालमा जिल्ला सहकारी संयोजक समितिको संयोजक रहेको र २०५१ सालमा जिल्ला सहकारी संघको स्थापना गरी संस्थापक जिल्ला अध्यक्ष बनेर अर्को अधिवेशन गरी पद हस्तान्तरण गरेको, आजकै कार्यक्रममा पनि जिल्ला सहकारी संघका अध्यक्ष विशेष अतिथिको रुपमा आमन्त्रित हुनुहुँदो रहेछ, त्यो संस्था जन्माउने व्यक्ति म आफै हो उहाँले गर्वका साथ स्मरण गर्दै भन्नुभयो, ‘जुन बेलामा बचत सहकारीको अवधारणानै विकास भएको थिएन ।’
उहाँले सहकारी संस्था राम्रो हुनका लागि तीन चारवटा कुरामा ध्यान हिनु पर्छ भन्दै पहिलो सर्त सञ्चालकहरूको नियत सफा हुनुपर्छ, दोस्रो शेयरको हितको लागि राम्रा योजना (अल्प र दीर्घकालीन) बनाएर कार्यान्वयन गर्नु पर्छ भन्नुभयो । तेस्रो सहकारी संस्थाको मेरुदण्ड ऋण हो, त्यो खराबमा दर्ज नहुने गरी प्रवाह गर्नु पर्छ । संस्थाबाट लिएको ऋण सम्बन्धित विषय वा उद्देश्यका लागि खर्चिनु पर्छ, अन्यत्र खर्च गर्दा त्यो दुरुपयोग हुन्छ, ऋण दुरुपयोग भयो भने तिर्न पनि कठिन हुन्छ ऋण तिर्न नसकेपछि के हुन्छ ? भन्नेतर्फ ऋणीहरू सचेत हुनुपर्छ । चौथो, हिजोआज ‘ऋण नतिरे पनि हुन्छ, मिनाहा हुन्छ ।’ भन्ने हल्ला पनि सुनिन्छ । त्यस्ता हावादारी गफमा नभुल्दा हुन्छ । किनकि, एकातिर देश टाट पल्टिदैछ भने अर्कोतिर तपाईले लिएको ऋण, तपाई जस्तै तपाईका छरछिमेकका दाजुभाइ, दिदीबहिनीले खाई नखाई बचाएर जम्मा गरेको रकम हो, त्यसैले त्यो नतिरी सुख पाइन्छ !? भन्नेमा मलाई विश्वास छैन । अवश्य त्यस्तो सम्भव छैन÷हुँदैन । ऐले कालोसूचिका बारेमा कानुन पनि कडा बनेको छ । तपाईले लिएको ऋण तिर्नु भएन भने तपाईका छोरा, नाति, पलातिदेखि सात पुस्तासम्मले पनि नतिरी सुख्ख पाउने छैनन् । यसैले तपाईले आफ्ना सन्तानका लागि ऋणको बोझ बोकाउने कि नबोकाउने ? त्यो तपाईले सोच्ने विषय पनि हो ।
अन्त्यमा, मलाई सम्मान गर्ने संस्थाको उत्तरोत्तर प्रगति र यसका पदाधिकारीहरू सबैलाई फेरि कृतज्ञता अर्पण गर्दै उहाँहरूको उज्वल भविष्यको कामना गर्दछु भन्दै बिदा हुनु भयो ।
प्रकाशित मिति २०८० कार्तिक १८, शनिबार २३:०९ गते