काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय दलको बैठक आउँदो मंसिर ११, १२ र १३ गते महोत्तरीको जलेश्वरमा राख्ने भएको छ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय कार्तिक २३ गते गरेको हो ।
मधेस प्रदेशमा राख्न लागिएको संयुक्त बैठकमा पार्टीको राजनीतिक, वैचारिक दस्तावेजमाथि पार्टीले विमर्शको तयारी गरेको पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्यालले बताउनु भयो । उहाँका अनुसार ती बैठकमा पार्टीका दस्तावेजहरूलाई पूर्णता दिने तयारी भएको छ ।
रास्वपाले यसअघि जन आवाज सुन्न भन्दै पार्टी केन्द्रीय सदस्य र सांसदहरूलाई गाउँगाउँमा खटाएको थियो । सो कार्यको लगत्तै प्रबुद्ध व्यक्तित्वहरूसँग नीति मन्थन कार्यक्रम समेत रास्वपाले गरेको थियो ।
स्मरणीय छ, रास्वपाले यसअघि कार्तिक २२ र २३ गते मधेस प्रदेशमै संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकको तयारी गरेको थियो । तर, १८ गते जाजरकोटको रामीडाँडा केन्द्र गरी भूकम्प गएपछि पार्टीको टिम जाजरकोटतर्फ गएको हुँदो उक्त बैठक स्थगित गरिएको थियो ।
प्रकाशित मिति २०८० कार्तिक २४, शुक्रबार ०७:२० गते