बेसीशहर– लमजुङको सदरमुकाम बेसीशहरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औं जन्म जयन्तीको अवसरमा खुला कविता वाचनका साथमा प्रवचन गोष्ठी गरिएको छ । वरिष्ठ साहित्यकार गोविन्दबहादुर कुँवरको प्रमुख आतिथ्यता, लक्ष्मीनारायण सामुदायिक पुस्तकालयको आयोजनामा सोही पुस्तकालयको सभाहलमा महाकवि देवकोटाको साहित्यिक योगदानलाई स्मरण गर्दै उक्त कार्यक्रम कार्तिक २३ गते भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि कुँवरले महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली तथा संस्कृत साहित्यका धरोहर रहेको बताउनुभयो । महाकवि देवकोटा १४ भाषाका ज्ञाता, ९ भाषामा कविता रचना गर्ने साहित्यका भण्डार रहेको भन्दै नेपाली भाषा, साहित्यमा उहाँको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । वरिष्ठ साहित्यकारले नेपाली भाषा, साहित्यको क्षेत्रमा देवकोटाले नेपालमा पहिलो पटक क्रान्ति ल्याएको जानकारी दिनुभयो ।
साहित्यकार एवम् मर्स्याङदी क्याम्पसका निमित्त प्रमुख शालिकराम अधिकारीले महाकवि देवकोटाको बहुआयामिक व्यक्तित्वका बारेमा प्रकाश पार्नु भएको थियो । अधिकारीले १० वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निवन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित रहेको जानकारी दिनुभयो । उहाँले देवकोटाको बहुविधामा कलम चल्ने गरेको थियो, देवकोटाको त्यो योगदानबाट सिक्नु पर्ने औंल्याउनु भयो ।
सो अवसरमा जिल्लाका विभिन्न साहित्यकारहरूले महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मरणमा आ– आफ्ना कविता तथा साहित्यिक रचनाहरू प्रस्तुत गरेका थिए ।
आयोजक लक्ष्मीनारायण सामुदायिक पुस्तकालयका अध्यक्ष नाराइनबहादुर सुयलको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार एवम् पुस्तकालयका सल्लहकार तेजनारायण अधिकारी, उपाध्यक्ष सुशीलचन्द्र अधिकारी, सचिव सरोज दनाई, जन्मदिनमा वृक्षारोपण अभियानका संस्थापक वासुदेव सेढाँईलगायतको सहभागिता थियो । लक्ष्मीनारायण सामुदायिक पुस्तकालयका उपाध्यक्ष नारायण घिमिरेले स्वागत मन्तव्य राख्नु भएको थियो भने उक्त कवि गोष्ठीको सञ्चालन बासुदेव थापाले गर्नुभएको थियो ।
प्रकाशित मिति २०८० कार्तिक २५, शनिबार ०४:५८ गते