काठमाडौं– आर्थिक मन्दी र महंगीको भारको मारले थिचिएको बेलामा आएको उज्यालो पर्व तिहारको बेलामा विद्युतीय झिलिमिली बत्तीको खासै माग नभए पनि ४५ करोडको झिलिमिली बत्ती खरिद गरिएको कार्तिक २५ गते खुलासा भएको छ ।
तिहारलाई उज्यालो पर्व समेत मानिन्छ । विशेषगरी तिहारमा सयपत्री, मखमली, गोदावरी फूल र दियो बत्ती पछिल्लो समय विद्युतीय झिलिमिली बत्तीको प्रयोग गरी तिहारलाई अझ विशेष बनाउने गरिन्छ ।
विगतमा नेपालीहरूको माटोको दियो बालेर तिहारमा झिलिमिली बनाउने गर्दथे भने देशमा पर्याप्त विद्युत उपलब्ध भएसँगै विद्युतीय बत्तीहरूको प्रयोग गरिन थालेको छ । हरेक वर्ष विद्युतीय व्यवसायीहरूले बजारको मागअनुसार झिलिमिली बत्तीहरू आयात गर्ने गरेका छन् । तिहारमा हरेक वर्ष १० प्रतिशतले आयात वृद्धि हुँदै गएको व्यवसायीहरूको भनाइ छ ।
केही वर्षदेखि तिहारमा सबैभन्दा बढी विद्युतीय बत्तीहरूको प्रयोग गर्ने प्रचलन बढेको छ । तिहार लागेसँगै हरेक पसल तथा घरलाई झिलिमिली बनाउनको लागि झिलिमिली बत्तीको प्रयोग गर्ने गर्दछन् ।
तिहारको लागि गत वर्ष ३६ करोड बराबरका विद्युतीय दियो, मालाबत्ती लगायत झिलिमिली बत्तीहरू आयात भएकोमा यो वर्ष १० प्रतिशतले वृद्धि भएर लगभग ४० देखि ४५ करोड रुपैयाँ बराबरको बत्ती आयात भएको विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले बताउनु भयो । उहाँका अनुसार यस वर्षको तिहारका लागि करिव ४५ करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ । उहाँले भन्नुभयो, ‘आर्थिक मन्दीका कारण यस वर्षको तिहारमा आयात भएअनुसार झिलिमिली बत्तीको व्यापार धेरै नहुने अवस्था देखिएको छ ।’ अध्यक्ष देवकोटाले थप भन्नुभयो, ‘एउटै झिलिमिली बत्तीमा ७ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ ।’
तिहारको लागि ९० प्रतिशत विद्युतीय झिलिमिली बत्ती चीनबाट आउने गरेको छ । केही सामानहरू भारतबाट पनि आयात गरिन्छ ।
प्रकाशित मिति २०८० कार्तिक २५, शनिबार १४:४५ गते