खुदी बेनी(लमजुङ)– धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको लमजुङको खुदी बेनीमा सांस्कृतिक मेलाको पुनःर्जागरण थालिएको छ । मर्स्याङदी गाउँपालिका– ९ का श्रद्धालु भक्तजनको पहलमा केही वर्षदेखि सञ्चालन गर्न छाडिएको मेला फेरि हरिबोधिनी एकादशीका दिन मंसिर ७ गते सुरु गरिएको हो ।
सोही वडाका अध्यक्ष हरिश्चन्द्र थापाको नेतृत्वमा मेलाको पुनर्जागरण अभियानको थालनी गरिएको हो । अब हरेक वर्ष मेलालाई व्यवस्थित गर्दै लग्ने जनप्रतिनिधिहरूको प्रतिवद्धता छ । खुदी बेनी धार्मिक महत्वले पूर्ण भएको क्षेत्र रहेछ । त्यसको खोज र प्रचारको अभावले सो स्थानको महत्व ओझेलमा परेको सो क्षेत्रका बयोबृद्ध एवम् पण्डितहरूको भनाइ छ । त्रेतायुगमा सो स्थानमा नित्य स्नान गरी हर्सिङडाँडामा तपस्या गरेर शिव र ब्रह्मालाई खुशी बनाई विश्वामित्र ऋषिले बरदान पाएर क्षेत्री(राजर्षी)बाट ब्राह्मण (ब्रह्मर्षी) बन्न सफल भएको इतिहास छ । त्यसअघि वशिष्ट ऋषि र विश्वामित्र ऋषिका बीच झगडा रहेछ । वशिष्ट ऋषिले विश्वामित्र ऋषिलाई तिमी राजर्षी हौं भन्ने र विश्वामित्रले आफू ब्रह्मर्षी भएको दावी गर्ने गरेपछि त्यो विवादको निर्क्योलका लागि विश्वामित्रले सुरुमा महादेवको तपस्या गरे छन्, ऋषिले बरदान माग भन्दा ब्रह्मर्षी कहलिन पाउँ भन्ने बरदान मागेपछि त्यो काम मेरो हैन, मेरो त जात छैन र म संस्कारित पनि छैन, यो काम ब्रह्माजीबाट हुनसक्छ तिमी उनलाई खुशी बनाउ भन्ने आदेश महादेवबाट भएछ । त्यसपछि विश्वामित्रले ब्रह्माजीलाई खुशी बनाई बरदान पाएर उनी ब्रह्मर्षी कहलिन सफल भएको शास्त्रमा उल्लेख छ । ‘हर र शिव’ भन्दा भन्दै अपभ्रंस भई उक्त स्थानको नाम हर्सिङडाँडा रहन गएको पनि बताइन्छ ।
उनै विश्वामित्र ऋषि ब्रह्र्षी भएपछि उनीबाट नै कश्यप गोत्रीयहरूको वंशविस्तार भएको भन्ने पनि शास्त्रीय मत छ । यसैगरी, गाईखुरबाट भारद्वाजको वंशविस्तार भएको मानिएको छ ।
उहील्यै खुदी बेनीमा नै एकादशी मेला लाग्ने गर्दथ्यो । पछि अमर मावि भएको स्थानमा मेला लगाउँदा विद्यालयलाई चन्दा संकलन कार्यका लागि सहज हुने भएको हुँदा मेला पनि माथि लगाउन थालिएकोे हो, खासमा मेला लाग्ने ठाउँ यही हो ८१ वर्षीय वासुदेव सुवेदीले बताउनु भयो । उहाँका अनुसार सो स्थानमा टंकेश्वर महादेव(सिद्धपिठ)को मन्दिर समेत थियो । त्यो मन्दिर ३ वर्ष अघि आएको बढीले मन्दिरलाई बगाइदिएको उहाँ लगायत स्थानीयको भनाइ छ । केही व्यक्तिले नदीले बगाएको त्यो मन्दिर ईशानेश्वर महादेवको थियो पनि भने ।
सो स्थानको महत्वमा प्रकाश पार्नु हुँदै पं. घनश्याम सुवेदीले यो सिद्धपिठ मध्येकै एक हो भन्नुभयो । उहाँका अनुसार विश्वामित्रले तपस्या गर्दा सबैभन्दा पवित्र नदीको रुपमा सीतप्रवाह(मर्स्याङदी ) नदीलाई मानेको र तपास्या गर्ने स्थलमा हर्सिङ डाँडालाई रोजेका हुन् । त्यहाँ रहेको गुफामा उनी बस्ने गरेको पं. सुवेदीले बताउनु भयो । उहाँका अनुसार हर्सिङडाँडाबाट दिनहुँ ती ऋषि नुहाउन खुदीबेनी अर्थात सुधा(खुदीखोला) र कर्मोदा(मर्स्याङदी नदी)को संगमस्थलमा आउने गर्दथे । विश्वामित्रले तपस्या गर्दा उनले ‘हर शिव’ भन्ने गथरेको हुँदा शिवलिङ्गबाट महादेव उत्पत्ती भएको विश्वास गरिन्छ । विश्वामित्रले तपस्या गरेको स्थल भएको हुँदा हर्सिङडाँडाको नाम रहेको हो, हर भनेको महादेव र सिंह भनेको टुप्पो/पहाड भन्ने हुन्छ । पछिल्ला दिनमा भने त्यसको फरक अर्थ लगाउने गरिन्छ । कस्ले केका लागि विवाद गर्ने तर सत्य तथ्य, शास्त्रीय मतको कुरा त यही हो पं. सुवेदी बताउनु हुन्छ ।
पं. सुवेदीले मर्स्याङदी नदीको महिमा बारेमा प्रष्ट्याउँदै भन्नुभयो, ‘तिलिचो तालमा ऋषिहरूले तपस्या गर्दा विभिन्न समुद्रको पानी ल्याएर मिसाएका थिए । पानीले त्यो ताल भरिएर त्यहाँबाट बग्न थाल्यो पछि कर्मदा भनियो । जगतमा आएपछि पार्वतीले तपस्या गरेर तिर्खाएको बेलामा हातबाट जल प्रवाह(कर, मोद) गरी पानी उत्पत्ती) गरेको हुँदा त्यो मिसिएपछि मर्स्याङदीको नाम कर्मोदा भयो, त्यसपछि खुदीबेनीमा आएर सुधा नदीसँग मिसिएपछि सीतप्रवाहका नामले चिनिएको हो ।’ सोही मर्स्याङदी नदी त्रिशुलीसँग मिसिएपछि गण्डकी भएको र काली मिसिएपछि नारायणीका नामले चिनिने भएको हो पं. सुवेदीले उल्लेख गर्नुभयो ।
खुदी बेनी क्षेत्रमा टंकेश्वर महादेवको मन्दिरमात्र नभई गाईखुरे(ढाँड)मा गोखुरेश्वरको मन्दिर रहेको छ, त्यो पनि सिद्धपिठ नै हो पं. सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार तरापु माथि अर्को एक धनेश्वर महादेवको मन्दिर पनि छ, यो क्षेत्र त धार्मिक स्थलो हो, प्रचार प्रसारको अभावले ओझेलमा परेको मात्र हो । धार्मिक हिसाबले यस क्षेत्रको महत्व ठूलो छ तर चासो राख्ने मान्छेको अभाव छ उहाँले गुनासो शैलीमा भन्नुभयो । गोखुरेश्वरको मन्दिरको सुरुका दिनमा २४ मुरी गुठी रहेको (त्यो बेलामा अरुले कमाएर दिन्थे) त्यस मन्दिरका पुजारी सीताराम सुवेदीले बताउनु भयो । उहाँका अनुसार ऐले त सबै रैकर बनाइसकेको छ । यतिबेला त छ मुरी जति मात्र बाँकी त त्यो पनि हामीले नपाएको त कति भयो, भयो । माग्न जाँदा झगडा गर्नुपर्छ उहाँले गुनासो पोख्नु भयो ।
सो स्थानको मेला अमर मावितर्फ सारेपछि फूलको डोरी तार्ने काम पनि सोही स्थानबाट हुन्थ्यो तर ऐले पनि यस स्थानको पुनःर्जागरणका लागि काम गरौं भन्ने भएर वडाभेलाले निर्णय गरेको हो सोही वडाका सदस्य लोकबहादुर थापाले बताउनु भयो । उहाँका अनुसार मेला गर्ने त भनियो तर धेरै कुराको अभाव खड्किएको छ । जस्तो, यहाँसम्म बाटो बनाउनु पर्ने, यहाँ कुनै इमर्जेन्सी पर्यो, कोही बेहोस् भई ढली हाल्यो भने तत्कालै एम्बुलेन्समा लग्ने प्रवन्ध गर्नु पर्ने देखिएको छ, हामी विस्तारै त्यो पनि व्यवस्था गर्छौं उहाँले भन्नुभयो ।
त्यसैगरी, हुन त यो मौसम राम्रो हुने बेला हो, कुनै वर्ष पानी आइहाल्यो भने यतिका मान्छेको विजोग हुन्छ, ओतको पनि व्यवस्था हुन आवश्यक देखिन्छ स्थानीय टीकाराम पौडेलले बताउनु भयो ।
फूलको डोरीेको महत्वका बारेमा राखिएको जिज्ञासामा पं. वासुदेव सुवेदीले ब्रह्माण्ड पुराण अनुसार हरिबोधनी एकाशदीका दिनमा यसरी फूल, माला नदीमाथि अर्पण(चढाउने) गरेमा पाप नष्ट भई मोक्ष मिल्छ र दाताको बैकुण्ठबास हुन्छ भन्ने उल्लेख भएको हुँदा सो अनुसार फूलको कडारी तार्ने प्रचलन सुरु भएको हो र चल्दै आएको हो बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो स्थलमा विश्वामित्रले शिवलिङ्ग समेत स्थापना गरी पूजा गर्ने गरेको शास्त्रमा उल्लेख छ ।’
पं. वासुदेवका अनुसार त्यस स्थानमा एक प्रभावती नामकी एकल महिला आइन् । उनका श्रीमान् बिते पछि उनी आफ्ना श्रीमानलाई फिर्ता गर्न चाहन्थिन् । त्यो बरदान पाउनका लागि उनी घुमफिर गरी हिड्न थालिन् । यस्तैमा एक सिद्धसँग भेट हुँदा उनलाई एक सुकेको वेतको ट्क्रा दिन्छिन् । त्यो पलाएपछि तिम्रो श्रीमान्सँग भेट हुन्छ भनिदिएछन् । ती महिला खुदी बेनीमा आएर त्यो वेतको टुक्रालाई बालुवामा गाडेर तपास्यामा बसिछन् । केही दिनमा वेत पलाएछ । त्यसपछि उनका श्रीमान् त्यही उत्पत्ती भएर दुई दम्पत्ती मिलेर आफ्नो लोकतिर गए भन्ने किंवदन्ति रहेको उहाँले उल्लेख गर्नुभयो ।
साविक सिम्पानी गाविसका विभिन्न टोलमध्येबाट तत्कालीन वडानं– ९ मा रहेका टोलहरू र वडानं– ५, ६ र ७ का टोल मिलेर अलग अलग रुपमा फूलको डोरी तयार गरी ल्याइएको हो । तर अघिल्लो साँझ सत्यनारायणको पूजा समेत लगाई रातभर जाग्राम बसी भजनकीर्तन गरी, फूलको डोलीसमेत त्यसरी पञ्चैबाजाका साथमा भजन गाउँदै खुदी बेनीसम्म लगिएको रामप्रसाद सुवेदीले जानकारी दिनु भयो ।
सो स्थानमा रहेको बाढीले बगाएको महादेव मन्दिरलाई पुनःनिर्माणको पहल भइरहेको सथानीय समाजसेजी भद्रमोहन थापाले बताउनु भएको छ ।
खुदी बेनी अर्थात सुधा र कर्मोदाको संगम स्थलपछि मर्स्याङ्दी नदी सीतप्रवाह बनेको पवित्र स्थलमा सो ९ नंबर वडाबाट संयुक्त रुपमा करिब एक सय मिटरको दुरीमा दुई वटा फूलको डोरी टाँग्ने काम गरी हरिबोधनी एकादशी मनाउने काम गरिएको सो वडाका दयासागर घिमिरेले बताउनु भयो ।
प्रकाशित मिति २०८० मंसिर ८, शुक्रबार १८:५९ गते