काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएको छ । सुनुवाइका क्रममा सबै पक्षको बहस मंसिर १४ गते सकिएको हो ।
पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध परेको निवेदनमा उच्च अदालत पाटनले भोलि आदेश सुनाउने तयारी गरेको छ । उच्च अदालत स्रोतका अनुसार मंसिर ५ गतेदेखि जारी ७३ नम्बर निवेदनको सुनुवाइ सकेर आदेश सुनाउने तयारी गरिएको छ । स्रोतले भन्यो, ‘आज करिब बहस सकिएको छ । भोलि आदेश सुनाउने गरी तयारी गरेका छौँ ।’
उच्च अदालतमा न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको इजलासमा सुनवाइ भएको उच्चका प्रवक्ता तीर्थराज भट्टराईले बताउनु भयो । उहाँका अनुसार निवेदनहरू माथिको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखिएको छ । प्रतिवादी तर्फका वकिलको बहस दुई दिन अघिनै सकिएको पाटन उच्च अदालतका सहरजिष्ट्रार तीर्थराज भट्टराईले बताउनु भयो । उहाँका अनुसार हिजो र आज खाजा समयअघि सरकारी वकिलको बहस भएको थियो भने खाजा समयपछि प्रतिवादीका वकिलले जवाफी बहस गरेका थिए । सो सँगै सुनुवाइ सकिएको आदलतको भनाइ छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा संलग्न रहेको भन्दै सरकारले संगठित अपराध, कीर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चारवटा कसुरमा २७ करोड ५० लाख रुपैयाँ बिगो माग दाबीसहित ३० जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । तीमध्ये पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड तथा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा चलेको थियो । तीमध्ये १६ जनालाई पुर्पक्षका लागि थुनामा छन् ।
गत जेठ १० गते दायर मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत काठमडौँले असार १ गते पक्राउ परेका १८ जना प्रतिवादीमध्ये टंक गुरुङ र लक्ष्मी महर्जनलाई धरौटीमा रिहा गर्न र अन्यलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । सोही आदेशका विरुद्धमा यो सुनुवाई भएको हो ।
जिल्ला अदालतले गुरुङसँग १० लाख रुपैयाँ र महर्जनसँग ५ लाख रुपैयाँ धरौटी माग गरेकोमा बुझाएर त्यहीँ दिन थुनामुक्त भएका थिए । उनीहरूले पनि आफूहरूसँग माग भएको धरौटी रकम बढी भएको भन्दै निवेदन दिएका छन् । त्यस्तै, पुर्पक्षका लागि थुनामा रहेका अरु प्रतिवादीहरूले साधरण तारिखमा मुद्दा लड्न पाउनुपर्ने माग गरेको अदालत स्रोतको भनाइ छ ।
प्रकाशित मिति २०८० मंसिर १४, बिहीबार १९:५६ गते