बेसीशहर– लमजुङको सदरमुकाममा सेराचोक स्थित कालिका बचत तथा ऋण सहकारी संस्था लि(साकोस)को ठगी काण्डले नयाँ मोड र उचाई लिएको छ । जसले लमजुङमा प्रहरीको गोप्य सूचना के कसरी चुहहिन्छ ? भन्ने थप खुलासा गराएको छ । लमजुङ जिल्ला अदालतले प्रहरीको माग अनुसार मंंसिर १५ गते थप २६ जनाका नाउँमा पक्राउ पूर्जी कोटन्का लागि दिएको अनुमति रातारात सार्वजनिक भएपछि त्यस्तो खुलासा भएको हो ।
किन र कसरी चुहिन्छ प्रहरीकोे सूचना ?
प्रहरीले आफैले पक्राउ गर्नका लागि माग गरेका नामको पक्राउ पुर्जी पाएर पनि सहज स्थितिमा पुर्जीवाला अधिकांश व्यक्तिहरूलाई पक्राउ गर्न सक्ने अवस्था हुँदाहुँदै सो कार्य नगरी भारतीय फिल्मी शैलीमा प्रहरीले सूचना चुहाउने काम गर्नुले जिल्लाको प्रहरी पीडितका पक्षमा नभई पीडकहरूको पक्षपोषक रहँदै आएको छ भन्ने धेरै अघि देखि सुनिदै र देखिदै आएको अड्कलवाजी फेरि छताछुल्ल भएको छ । यसले प्रहरीको गोपनीयता तथा वफादारितामा थप चुनौति थपिएको आंकलन गरिएको छ । यसअघि पक्राउ पूर्जी जारी भएको भनिएका मृगेन्द्र घिमिरे दम्पती फरर हुनुमा पनि प्रहरीको सूचना चुहिन्छ भन्ने अर्को ज्वलन्त उदाहरण हो । यस प्रकार किन र कसरी चुहिन्छ प्रहरीकोे सूचना ? भन्ने अनुसन्धानको विषय बनेको छ ।
आफै जाकिने खाडल खन्न थप उद्दत पीडकहरू :
अर्को कुरा ती पुर्जीवाला नाम पनि प्रहरीलाई पीडकहरूले पढाएका आधारमा तयार गरिएको भन्ने आम बुझाई छ । उदाहरणका लागि तैमाया गुरुङ आफै पीडित हुन् । उनले समेत पीडकका विरुद्ध उजुरी दिएकी छन् तर उनकै विरुद्ध पक्राउ पुर्जी जारी हुनुले त्यो भन्दा बिडम्बना अर्को के हुन सक्छ ? यसको कारणमा पनि प्रष्टै के छ भने गण्डकी प्रदेशको सहकारी रजिष्टार कार्यालयले तयार गरेको प्रतिवेदनमा तीनजनाको नाउँमा सम्पत्ती शुद्धिकरणको प्रश्न कालिका सहकारीमै हालिमुहाली भएकाहरूले लेख्न लगाएको प्रष्ट छ । अन्य दुईजना शुद्धिकरणको कुरा उठ्ना साथ पीडकका विरुद्ध मुद्दा दिन तयार भएर पनि पछि हात उठाएर थन्किए । तर तैमाया पनि त्यसरी थन्किउन् भन्ने पीडकहरूको चाहनामा तुषारापात गर्दै उनी थन्किन चाहिनन् । त्यसैको उपज हो, उनी विरुद्धको पक्राउ पुर्जी । यसबाट पनि लमजुङको प्रहरी कोबाट कसरी परिचालित र प्रभावित छ भनिरहन पर्ने देखिदैन ।
अन्यथा तैमाया आफै खानदानिया परिवारको सन्तान र बुहारी ह्न् भने उनका श्रीमान् आठ वर्षसम्म राम्रो कमाई हुने देशहरू त्यसमा पनि दुर्ई वर्ष त इराक जस्तो खतरनाक मुलुकमा बसेर आर्जन गरेको सम्पत्ती हो । त्यो पनि बैंकबाट चेकमार्फत कालिकामा जम्मा गरेबाट उनीप्रति शुद्धिकरणको तिर सोझ्याउनु आफ्नै लागि खाडल खन्नु सहर हो र हुनेछ । यदि भोलि कुनै दिन सर्वसाधारणका पनि कुरा राम्रोसँग सुनुवाई हुने र न्याय पाउने अवस्थाको सुनिश्चित भयो भने ती दिनले सिद्ध गर्ने नै छ भन्ने उनको पारिवारिक स्रोतले बताएको छ । त्यस्तै,सहकारीको नियम अनुसार एक शेयर सदस्यले राखेको शेयरको पाँच गुणा भन्दा बढी बचत गर्न नपाउने भन्ने नियम रहेको छ । तैमायाको २ लाख शेयर रकम भएपछि उनले १० लाखभन्दा बढी रकम बचत गर्न चाहेर पनि सञ्चालकहरूले गर्न दिनु हुँदैनथ्यो । रोक्नु पर्दथ्यो । त्यस्तै सहकारीकै अर्को नियम अनुसार एकजना बचतकर्ताले २५ लाख रुपैयाभन्दा बडी बचत गर्न नपाइने भन्ने पनि उल्लेख छ । तर कालिकाको सञ्चालकहरूले बचत गर्ने बेलामा ती दुवै नियमको खिलापमा काम गरेको पाइन्छ । यसरी नियम विपरित काम गर्ने ती सञ्चालकलाई कानुनी कारवाही हुनु पर्दैन ? अर्को कुरा तिनलाई चाहिने बेलामा जति पनि रकम जम्मा गर्ने, गर्न लगाउने । अनि तिर्नु पर्ने बेलामा सम्पत्ती शुद्धिकरण ! गर्नु पर्छ भन्दै हाउगुजी देखाएर तर्साउने ? ती पीडिकहरूका यस प्रकारका हरकत आफूलाई मात्र मान्छे भन्ठान्ने प्रवृत्ती बाहेक अन्य केही होइन र हुन सक्दैन भन्ने पुष्टि भइसकेको छ।
अर्को कुरा के छ भने यसअघि पक्राउ पुर्जी जारी भएका आठ जनाको नाम २६ जनाको झैं त कहिल्यै पनि सार्वजनिक गरिको थिएन, गोप्य र रहस्यमै राखिएको थियो । तर यी नाम सार्वजनिक गरिनुले प्रहरीको नियतका आशंकाको खेती गर्ने सुविधालाई प्रसस्त गरिदिएको छ ।
दुई वर्षभन्दा बढीको मौका पाउँदा पनि कालिका साकोसका सञ्चालकहरूले समस्या समाधान गर्नुमा भन्दा उल्टै शेयर सदस्यहरूलाई घुक्र्याउने र धम्क्याउने गर्दै जुँगामा ताउ लगाउन थालेपछि आजको स्थिति उत्पन्न हुन गएको पूर्जी काटिएका सञ्चालक सदस्यहरूले बताएका छन् । उनीहरूका अनुसार हाम्रो काम बैठकमा उपस्थित भएर कोरम पु¥याउने बाहेक केही थिएन, ‘खानेपिने रामे चोट पाउने चामे’ भनेझैं टाउकेहरूले मोज गर्ने दुःख हामीले पाउनु पर्ने ? भन्दै आक्रोशपूर्ण शैलीमा उनीहरूले भनेका छन् । हामीलाई झोसेर टाउकेहरू आफू उम्किन खोजेका त हैनन् ? उनीहरूको आशंका छ । त्यस्तो आशंका व्यक्त गर्नेहरूमा विसम्बर अर्याल, सीता श्रेष्ठ, काजीराम बस्नेत, चिरञ्जीवी कुँवर, तैमाया गुरुङ लगायतका छन् ।
सहकारीको आदर्श, मर्म, भावना वा सिद्धान्तमा ‘स्वनियमन’ या यस्तै यस्तै जे जे फलाक्ने गरिए पनि व्यवहारतः सञ्चालक समितिको मुख्य पद ओगट्नेहरूले समितिमा रहेका सञ्चालक सदस्यलाई त सुको पैसा सुघ्न दिने नगरेको कुट याथार्थ सबैका सामु छर्लङ्ग छ भने अन्य शेयर सदस्यहरू समेत आर्थिक चलखेलमा सामेल भएको भन्ने कथनमा पत्याउन सकिने आधार देखिदैन । यसबाट पनि नेपालमा ‘सानालाई ऐन र ठूला बडा तथा पहुँचवालालाई चैन’ भन्ने उखान आजका दिनमा पनि पुष्टि हुँदै आएको छ र ‘निर्धाहरूका लागि न्याय दुर्लभ’ बनिरहेको छ । जिल्ला अदलालतबाट जारी भएका २६ जनाहरूको पक्राउ पुर्जाको सूचि हेर्दा फेरि एक पटक त्यस्तो आभास हुने थालेको छ ।
को को छन् ? पक्राउ पुर्जी जारी भएका २६ जना ?
प्रहरीको माग अनुसार जिल्ला अदलालतबाट पक्राउ पुर्जी जारी भएका २६ जनाहरूमा बेसीशहर नगरपालिका– ९ बस्ने हालको कालिका साकोसका सदस्य तथा साविक कालिका साकोसका सचिव हरिवावु थापा, बेसीशहर– ३ बस्ने हालको कालिका साकोसका सदस्य टिकाराम वाग्ले, बेसीशहर– ८ का हालको कालिका साकोसका सदस्य तथा साबिक कर्पुरेश्वर साकोसका सदस्य गोपालबहादुर श्रेष्ठ, सोही वडा निवासी साविक कालिका साकोसका सदस्य रमादेवी, बेसीशहर– ११ बस्ने साविक कालिका साकोसका कोषाध्यक्ष तुलसीनारायण श्रेष्ठ, बेसीशहर– ७ बस्ने साविक कालिका साकोसका सदस्य दिपक परियार, बेसीशहर– ८ बस्ने साविक कालिका साकोसका सदस्य सुकराम दुलाल, तनहुँ ब्यास नगरपालिका– ५ स्थायी बसोबास भई बेसीशहर बस्ने साविक कालिका साकोसका सदस्य लक्षीमा खनाल, सुन्दरबजार नगरपालिका– ७ बस्ने साविक कालिका साकोसका सदस्य आशाकाजी श्रेष्ठ, बेसीशहर नगरपालिका– १ बस्ने साविक कालिका साकोसका सदस्य ध्रुवदेव जोशीको नाम अंकित भएको छ ।
त्यस्तै, पक्राउ पूर्जी काटिएका अन्यमा बेसीशहर नगरपालिका– ३ का साविक सम्पदा साकोसका उपाध्यक्ष भुपती वाग्ले, बेसीशहर नगरपालिका– २ बस्ने साविक सम्पदा साकोसका कोषाध्यक्ष विश्वम्भर अर्याल, दोर्दी गाउँपालिका बस्ने साविक सम्पदा साकोसका सदस्य द्वय कमलप्रसाद गुरुङ, दुराडाँडाका प्रकाश खनिया, बेसीशहर नगरपालिका– २ का साविक सम्पदा साकोसका सदस्य काजिराम बस्नेत, सोही वडाका साविक सम्पदा साकोसका सदस्य नानीमाया अर्याल, दोर्दी गाउपालिका– ५ बस्ने साविक सम्पदा साकोसका सदस्य तैमाया गुरुङ, बेसीशहर नगरपालिका– २ बस्ने साविक कर्पुरेश्वर साकोसका उपध्यक्ष सीता श्रेष्ठ हुनुहुन्छ ।
यसैगरी, पक्राउ पुर्जी जारी हुने अन्यमा बेसीशहर नगरपालिका– ८ बस्ने साविक करपुरेश्वर साकोसका सचिव घना दनाई खड्का, सोही वडा बस्नेहरू साविक करपुरेश्वर साकोसका कोषाध्यक्ष शारदा खनिया, सोही साकोसका सदस्य त्रय रेशमबहादुर दनाई र रेशमबहादुर अधिकारी र कुसुमराज बराल, कालिका साकोसका लेखा सुपरिबेक्षण समितिका संयोजक तुलानिधी दनाई सोही समितिका सदस्य चिरञ्जीवी कुँवर र कालिका साकोस लेखा सुपरिवेक्षण समितिका सदस्य बिमला भुजेलको नाम उल्लेख छ । सो पुर्जी सार्वजनिक भएपनि उनीहरू कतिपयको भागभाग चलिरहेको बताइन्छ ।
सो पुर्जा पनि प्रहरीले गोप्य राखेर पक्राउ गर्नु पर्नेमा के कसरी त्यो लिक गरियो र अन्धाधुन्ध प्रचार गरिएको हो ? भन्ने कार्यले पनि अनेकथरी आशंका बढाउने काम गरेको छ ।
सुनौलो भाविष्य र अन्नपूर्ण पनि कालिकाकै बाटोमा :
बेसीशहरका अन्य दुई साकोस हाल मनाङे चौतारा क्षेत्रमा मुख्य कार्यालय रहेको सुनौलो भविष्य साकोस र सेरामै कार्यालय रहेको अन्नपूर्ण साकोसका सञ्चालकहरूले पनि कालिकाकै सञ्चालकहरूको बाटोमा हिडेको र उनीहरुले समेत कालिकाका सञ्चालकको जस्तै नियति भोग्नु पर्ने स्थिति बलियो बन्दै गएको ती साकोसका शेयर सदस्यहरूले बताउँदै आएका छन् ।
उनीकालिका साकोसका सञ्चालकहरूले दुई वर्ष बढी अवधिको समय पाउँदा पनि संस्थाको स्थिति सुधार्नेतर्फ ध्यान दिएनन् । त्यसरी नै यदि तत्कालै स्थिति सुधार्ने तर्फ लागेनन् भने ती दुवै सहकारीका सञ्चालकहरूको हालत पनि हालको कालिका साकोसका सञ्चालकहरूको जस्तै हुने सुनिश्चित हुँदै आएको छ । जो बेलाबिते पछि कोकोहोलो हाल्नुको कुनै अर्थ हुने छैन उनीहरूले बताएका छन् ।
प्रकाशित मिति २०८० मंसिर १७, आईतवार २२:२२ गते