नायक तथा मोडलबाट चर्चाको शिखरमा लमजुङका मनोज गुरुङ

नायक तथा मोडलबाट चर्चाको शिखरमा लमजुङका मनोज गुरुङ

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर २५ गते सोमबार ०६:०६

गुरुङले हालसम्म गरेका करिव ७० म्युजिक भिडियो मध्ये चलेछ्याबा, परदेशी, अमिलो कागती, ताँजे गाउँ चिनारी, क्यों बिना, डाँडापारी हिमाललगायतका म्युजिक भिडियोलाई स्रोता दर्शकले अत्यधिक मन पराइएका छन् ।

गुरुङ समुदायमा जन्मिएकोले ठूलो भएपछि लाहुरे बन्ने, लाहुरे बन्न नसके विदेश पलायन हुने सोचमा रहेका गुरुङले अहिले आफ्नै देशको कला क्षेत्रमा भविष्य देख्न थालेका छन् ।

बेसीशहर– पछिल्ला दिनमा नायक तथा मोडलबाट चर्चाको शिखरमा लमजुङका मनोज गुरुङ । उनी गुरुङ चलचित्र क्षेत्रमा स्थापित छन् । लमजुङको बेसीशहर नगरपालिका– ४ पुरानोकोटमा जन्मथलो भएका गुरुङ पछिल्लो समय व्यस्त कलाकारका रुपमा आफ्नो पहिचान बनाउन सफल छन् ।
स्कुल पढ्दादेखि नै विद्यालय तथा अन्य संघ संस्थाको आयोजनामा हुने कार्यक्रमहरूमा नृत्य गर्दै आएका गुरुङले २१ वर्षकै उमेरमा गुरुङ भाषाको ६ वटा चलचित्रमा अभिनय गरिसकेका छन् । मुख्य नायकको रुपमा ६ वटा चलचित्रमा अभिनय गरिसकेका गुरुङले झण्डै ७० वटा म्युजिक भिडियोमा मोडलिङ गरेर उनले चर्चाको शिखर चुम्न सफल भएका हुन् । २०७५ सालमा कक्षा ११ अध्ययन गर्दै गर्दा जनक गुरुङको निर्देशनमा बनेको आमाको मन नामक नेपाली भाषाको गुरुङ चलचित्रबाट उनले डेब्यु सुरु गरेका हुन् । त्यसपछि उनले क्रमशः एकपछि अर्को चलचित्र र म्युजिक भिडियोमा काम गर्ने अवसर पाएका हुन् ।
२०५९ साल फागुन २५ गते जन्मिएका २०७४ सालमा गाउँकै श्रीसेवा सदन माविबाट एसइई परीक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षा लमजुङ पढ्न लमजुङकै सदरमुकाम बेसीशहरको अर्थ्ली प्याराडाइज बोर्डिङ स्कुलमा भर्ना भए । उनले जिल्लामा आयोजना हुने नृत्य प्रतियोगितामा सक्रियताका साथ भाग लिन सुरु गरे । उनले लमजुङ टेलिभिजनले सञ्चालन गरेको रियालिटी सो लमजुङ डान्स च्याम्पसिजन टु मा अडिसन दिएका थिए । पहिलो अडिसनमा छनौट भएका गुरुङले निर्णायकको राम्रो प्रतिक्रिया पाए । त्यस बखत निर्णायक केदार बोहरा र विष्णु घलेले गुरुङको खुलेर प्रशंसा गरेको उनको स्मरणमा ताजै छ । त्यतिमात्र हैन, उहाँहरूले नै गुरुङ चलचित्रको नायक भन्दा कम नभएको भन्दै भोलिका दिनमा तिमी एउटा राम्रो कलाकारको रुपमा स्थापित हुन्छौ भनेको समेत बिर्सिएका छैनन् । उनलाई यस क्षेत्रमा लाग्न उनलाई आमा मोतीमाया गुरुङ र बुवा डम्बर गुरुङको राम्रो साथ सहयोग रहेको छ ।
संयोग मान्नु पर्छ, त्यही रियालिटी सोपश्चात् उनलाई गुरुङ चलचित्रमा अफर आएको थियो । त्यसपछि उनले निरन्तर चलचित्र र म्युजिक भिडियोमा आफूलाई उभ्याउँदै आएका छन् । उनले सुरुवातको समयमा केही म्युजिक भिडियोहरूमा कोरस नृत्यसमेत गरेका थिए ।
‘आमाको मन’बाट डेब्यु सुरु गरेका गुरुङले हालसम्म गुरुङ चलचित्र दिदी बहिनी, ङोल्स्यो माया, पूर्णिमा, सम्बन्धको डोरी, मेरो इच्छामा अभिनय गरिसकेका छन् । गुरुङले विशेष गरी गाउँ चिनारी, सालैजो, कौडा, झ्याउरे र गुरुङ भाषको गीतमा आफ्नो उत्कृष्ट नृत्य र अभिनय गरेका छन् । उनले निकट भविष्यमा बन्न लागेको कुलदेउता र अर्को एक चलचित्रका लागि सम्झौता समेत गरिसकेको बताए । गुरुङले हालसम्म गरेका करिव ७० म्युजिक भिडियो मध्ये चलेछ्याबा, परदेशी, अमिलो कागती, ताँजे गाउँ चिनारी, क्यों बिना, डाँडापारी हिमाललगायतका म्युजिक भिडियोलाई स्रोता दर्शकले अत्यधिक मन पराइएका छन् ।
अभिनयकै क्रममा गुरुङले झण्डै आधादर्जन अवार्डसमेत जितेका छन् । उनले आदिम कलामञ्च अवार्ड, गुरुङ फिल्म एशोसिशन नेपाल जिफान, सुभेक्षा फिल्म नेपाल, स्वस्ति फिल्म अवार्डबाट बेस्ट एक्टर र परफरमेन्स उपाधिसहित अवार्ड जितेका हुन् ।
गुरुङ समुदायमा जन्मिएको हुनाले ठूलो भएपछि लाहुरे बन्ने, लाहुरे बन्न नसके विदेश पलायन हुने सोच बनाएका गुरुङले अहिले आफ्नै देशको कला क्षेत्रमा भविष्य देख्न थालेका छन् । आफूले गरेको कामप्रति एकदमै सन्तुष्टि मिल्ने गरेको गुरुङले सुनाए । उनले राम्रो कथावस्तु भएको प्रोजेक्टमा जोडिएर कामगर्ने इच्छा भएको भन्दै कथावस्तु राम्रो नलागेकै कारण आफूले कतिपय चलचित्रलाई रिजेक्ट गर्ने गरेको बताएका छन् ।
गुरुङ चलचित्र र म्युजिक भिडियोमा छुट्टै पहिचान बनाउन सफल गुरुङको अब ठूलो पर्दामा देखिने गरी नेपाली चलचित्र खेल्ने ठूलो चाहना छ । त्यसका लागि उनले आँफूलाई निखार्न र तिखार्नको लागि निकै कडा मेहनत र परिश्रम गरिरहेको बताएका छन् ।

– अनुज अधिकारीका सहयोगमा ।

प्रकाशित मिति २०८० मंसिर २५, सोमबार १८:०६ गते
हजुरको प्रतिक्रिया