पोखरा– पोखरा महानगरपालिका– ४ नालाको मुख स्थित सूर्यदर्शन सहकारीका सञ्चालक समितिका अध्यक्ष सहितका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरी अझै बेपत्ता रहेकाो खुल्न आएको छ । सहकारीका सञ्चालकहरू बचतकर्ताको एक अर्ब ३५ करोड ५३ लाख ५४ हजार रुपैयाँ अपचलन गरेर बेपत्ता भएकाहरू पुस ५ गतेसम्म पनि फेला परेका छैनन् ।
बचतमा आकर्षक ब्याज दिने प्रलोभनमा सर्वसाधारण व्यक्तिहरूलाई सहकारी संस्थामा पैसा जम्मा गर्न लगाएर अपचल गरेका धेरै जसो सञ्चालकहरू पोखराका होइनन् ।
सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष तथा हालका संरक्षक गीतेन्द्रबाबु राई (जिबी राई) ओखलढुंगाका हुन् । अर्का पूर्वअध्यक्ष भुपेन्द्र राई दार्चुलाका र हालका अध्यक्ष एवं व्यवस्थापक थानबहादुर बुढामगर बागलुङका हुन् । कोषाध्यक्ष कुमार रम्तेल ललितपुरका र सञ्चालक हेमन्त थापा झापाका हुन् ।
एकीकरणको नाममा कृत्रिम सम्झौता :
कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी, खुसिबुस्थित लालीगुँरास साकोस र जावलाखेलस्थित कल्याण उपकार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभबीच मर्जर गर्ने सम्झौता गर्दै जीबी राई र उनको समूहले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि सहकारी मर्जरको कृत्रिम सम्झौता गर्ने गरेको खुलेको हो ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी, खुसिबुस्थित लालीगुँरास बचत तथा ऋण सहकारी र जावलाखेलस्थित कल्याण उपकार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभबीच मर्जर गर्ने र जीबी राई अध्यक्ष बन्ने २०७९ भदौ २४ गते सहमति भएको थियो । स्वर्णलक्ष्मीको अध्यक्षमा जीबी राई नै छन् भने अन्य दुईको नेतृत्वमा उनका ससुरालीतर्फका नातेदार हुन् । तत्कालीन गोर्खा विकास बैंकका अध्यक्ष तथा हाल गोर्खा सहकारीका सञ्चालक डीबी बम्जन जीबी राईका जेठान हुन् । राई र बम्जन समूहले देशभर सहकारीको सञ्जाल विस्तार गरेका अध्ययनमा खुलेको छ ।
सहकारीमा बचत गरेको सर्वसाधारणको रकम अपचलनमा कोषाध्यक्ष रम्तेलमात्र पक्राउ परेका छन् । बाँकी जिबी राई र पदाधिकारीसहित १८ जना फरार छन्, उनीहरूका नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । जिबी राई काठमाडौंबाट सञ्चालित ग्यालेक्सी टिभीका अध्यक्ष पनि हुन् ।
बचत गरेको रकम फिर्ता पाउन पीडितहरूले ‘सूर्यदर्शन सहकारी पीडित संघर्ष समिति’ गठन गरेका छन् । समितिका संयोजक श्रेष्ठका अनुसार उक्त समूहले सर्वसाधारणको रकम अपचलन गर्न देशका अनेक ठाउँमा सहकारी संस्था खोलेको छ ।
‘झापादेखि धनगढीसम्म यो गिरोह सक्रिय छ । काठमाडौं, भरतपुर र अन्य ठाउँमा पनि सहकारी संस्था खोलेका छन्, सर्वसाधारणको रकम अपचलन गर्न देशभर सहकारी संस्था खोलेको देखिन्छ ।’
यसअघि प्रहरीले निकालेको सूचनामा बचतकर्ता रही सहकारीबाट बचत रकम फिर्ता नपाएका र प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिन बाँकी रहेकाहरूलाई सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाण पत्र लगायतको प्रमाण र बचतकर्ताको नागरिकता समेतको परिचय खुल्ने कागज सहित जाहेरी दिन भनिएको छ । प्रहरीले भदौ १५ गते भित्र उजुरी दिन आग्रह गरेको थियो ।
कास्की प्रहरीले एक महिना म्याद दिएर सूर्यदर्शन सहकारीका पीडितबाट उजुरी आह्वान गरेको हो ।
प्रहरीको उक्त आह्वानअनुसार एक हजार ३६ जनाले उजुरी गरेका छन् । प्राप्त उजुरीका आधारमा एक अर्ब ११ करोड रुपैयाँ अपचलन भएको पाइएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रवणकुमार विकले बताउनु भयो । उहाँका अनुसार अझै उजुरी आउने क्रम जारी छ ।
पोखरामा ठगी गरेको खुलासा भएपछि श्रेष्ठले जिबीको समूहले चलाएका अन्य सहकारीहरूको खोजी गरेका थिए । उनले एकै व्यक्ति तीन वटासम्म सहकारी संस्थामा सञ्चालक रहेको फेला परेको छ ।
‘यहाँ (सूर्यदर्शनमा) कोषाध्यक्ष रहेको व्यक्ति अर्को ठाउँमा सदस्य छ । यहाँ सदस्य रहेको व्यक्ति अर्को ठाउँमा पदाधिकारी छ, सहकारी कानुनविपरीत एकै व्यक्तिले देशभर धेरै वटा सहकारी चलाएको देखिन्छ ।’
सूर्यदर्शन सहकारीमा सञ्चालकसहित १९ जना दोषी देखिए पनि हर्ताकर्ता तथा नेतृत्व जिबी राईले नै गरेको अनुसन्धानमा खुलेको छ ।
‘पीडितका कथा, व्यथा लेख्ने हो भने महाभारत नै बन्छ, पीडामा कति छ कति, राम्रो सहकारी भनेर विश्वास गर्दा नराम्रो गरी ठगिएको थाहा भयो ।’ पीडितहरू भन्छन् ।
२०७९ साउनमा काठमाडौंको ‘गौतमश्री सहकारी’ का बचतकर्ताहरूले आफ्नो बचत फिर्ता नपाएपछि सहकारी विभागले उक्त संस्थालाई समस्याग्रस्त घोषणा गरेको थियो । यस सहकारीमा ५ अर्ब रुपैयाँ जम्मा भएको थियो ।
गौतमश्रीको घटनापछि अधिकांश सहकारी संस्थाका बचतकर्ताहरूले पैसा फिर्ता माग्न थालेका थिए । यसै क्रममा पोखराको सूर्यदर्शन सहकारीमा पनि बचत रकम अपचलन भएको थाहा भएको हो ।
सूर्यदर्शन सहकारीका सञ्चालकहरूले कोभिड– १९ र आर्थिक संकटको बहाना बनाउँदै ‘एक महिनापछि’ भन्दै वचन दिँदै भुलाउन थालेका थिए ।
सूर्यदर्शन सहकारी संस्थामा १८ हजार सात सय बचतखाता रहेको पोखरा महानगरका सहकारी शाखा प्रमुख भरतराज पौडेलले बताउनु भयो । उहाँका अनुसार ती खातामा सर्वसाधारणको कुल एक अर्ब ३५ करोड ५३ लाख ५४ हजार रुपैयाँ जम्मा भएको देखिन्छ । त्यस्तै, बचत रकमबाट ४३३ वटा कर्जा खातामार्फत एक अर्ब ३१ करोड ५३ लाख ८२ हजार रुपैयाँ ऋण लगानी गरेको देखिन्छ ।
महानगर सहकारी शाखाले यति ठूलो रकम अपचलन गरेर सहकारीका सञ्चालकहरूले पैसा कहाँ लगानी भन्ने लगानी गरेको देखएको कम्पनीका कार्यालय कतै पनि फेला नपरेको महानगर सहकारी समिति संयोजक रविरमण तिवारीले बताउनु भयो । उहाँका अनुसार कुनै कम्पनीका नाममा धितोबिना ऋण दिने र त्यसबाट अर्को र फेरि अर्को कम्पनीका नाममा सार्ने गरेको फेला परेको छ । उहाँले भन्नुभयो, ‘सूर्यदर्शन ब्रिज लोन’का नाममा अस्तित्वमै नभएका २३ वटा कम्पनीमा ४५ करोड रुपैया लगानी गरेको देखिन्छ । तर धितो राखेको पनि देखिँदैन ।’
छानविन प्रतिवेदनका अनुसार सूर्यदर्शन सहकारीले ‘अप्राकृतिक’ व्यक्तिसँग अस्वाभाविक कारोबार गरेको देखिएको छ । सहकारीका नाममा भवन किन्न ८ करोड ५० लाख रुपैयाँ लगानी गर्ने निर्णय भएको छ तर भवन देखिँदैन । सहकारीले किन्ने भनेको भवन पोखराका व्यवसायी शिवराज गुरुङ (महेन्द्र भोटे) का नाममा रहेको छ ।
उक्त सहकारी संस्थाले कार्यालयमा इन्टेरियर डिजाइनमा मात्र एक करोड रुपैयाँ खर्च देखाएको छ ।
सो सहकारीले लगानी गरेका कतिपय कर्जाको फाइल नभेटिएको महानगर सहकारी शाखा प्रमुख पौडेलले उल्लेख गर्नुभयो । उहाँका अनुसार कृत्रिम सदस्य खडा गरेर न्यूनतम प्रक्रियासमेत पूरा नगरी तमसुकबिनै कर्जा दिएको पाइएको छ । जिबी राई, हेमन्त थापा, महेन्द्र भोटे लगायतका व्यक्तिले पटक–पटकमा करोडौँ रुपैयाँ लगेको देखिन्छ । त्यसको धितो र कर्जाको प्रयोजन फेला परेको छैन । पोखरामा अस्तित्व नदेखिएका ‘नेचर नेक्स्ट’, ‘नेचर अब्र्स’, ‘स्प्रिङ वुड रियल स्टेट एन्ड हाउजिङ प्रालि’ लगायतका कम्पनीका नाममा पटक–पटक गरेर करोडौँ रुपैयाँ कर्जा गएको फेला परेको छ ।
‘गोरखा मिडिया नेटवर्क’ का नाममा धितोबिना एकपटक एक करोड, अर्को पटक एक करोड ३० लाख ८९ हजार रुपैयाँ ऋण दिएको देखिएको छ । त्यो दुवै ऋण दिन प्रक्रिया अपुग भएको प्रतिवेदनमा टिप्पणी छ ।
सहकारीबाट सञ्चालकहरूले पेस्की लिएको पनि देखिएको छ । पूर्वअध्यक्ष एवं संरक्षक जिबी राईले पेस्कीका नाममा एकपटक १ करोड ३० लाख ६२ हजार र अर्को एकपटक २ करोड ८९ लाख १८ हजार रुपैयाँ लिएको देखिन्छ। पेस्कीको प्रयोजन खुलेको छैन ।
कानुन विपरीत अन्तरसहकारी लगानी गरेको समेत फेला परेको छ । जिबी राईकै समूहले चितवनमा खोलेको ‘सहारा बचत तथा ऋण सहकारी संस्था’ लाई ६० लाख ५० हजार ३००, सुप्रिम बचत तथा ऋण सहकारीलाई ४६ लाख ५० हजार, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीलाई ८४ लाख ३१ हजार ११२ रुपैयाँ ऋण दिएको देखिएको छ । त्यस्तै, नेपालगञ्जको ‘समानता बचत तथा ऋण सहकारी संस्था’ लाई ५ लाख, वीरगञ्जको ‘सानो पाइला बचत तथा ऋण सहकारी’ लाई एक करोड १८ लाख ९३ हजार ९३६, भैरहवाको ‘सुप्रिम बचत तथा ऋण सहकारी’ लाई दुई लाख ५५ हजार पाँच सय, जितपुरको ‘सुप्रिम बचत तथा ऋण सहकारी’लाई एक लाख ७४१ रुपैयाँ ऋण दिएको देखिन्छ ।
उता, काठमाडौं महाराजगञ्जको ‘स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी’ लाई १ लाख ३३ हजार, काठमाडौंकै न्युरोडको ‘स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी’ लाई २० लाख ७५ हजार ६९० रुपैयाँ ऋण दिएको प्रतिवेदनमा भनिएको छ ।
यति ठूलो रकम अपचलन गरेर फरार भएका सञ्चालकहरूलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीले गत भदौ २४ गते पक्राउ पुर्जी जारी गरेको थियो । उनीहरू विरुद्ध बिगो, बिगो अनुसारको जरिवाना र ८ देखि १० वर्ष कैद सजाय माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा असोज १९ गते मुद्दा दर्ता गराएको हो ।
अवैध नेटवर्किङ व्यवसायमा लगानी :
गितेन्द्रबाबु (जीबी) राई र उनको समूहले सहकारीका बचतकर्ताको १६ अर्बभन्दा बढी रकम दुरुपयोग गर्दै नेटवर्किङ व्यवसाय चलाइरहेको पाइएको छ । कुनै समय राई सबभन्दा ठूलो नेटवर्किङ व्यवसाय हर्बो इन्टरनेसनलका एक साझेदार थिए । सो कम्पनीमा रहँदा उनले २०६६ सालमा गोर्खा ग्रुप अफ कम्पनी खोलेको थिए । सरकारले नेटवर्किङ व्यवसायमा २०६८ मा प्रतिबन्ध लगायो । राईले त्यसको फाइदा उठाउँदै हर्बो बन्द गरी त्यही नेटवर्कलाई प्रयोग गरेर देशभर करिब एक दर्जन सहकारी सञ्चालनमा ल्याए । तिनै सहकारीमा सर्वसाधारणले जम्मा गरेको रकम दुरुपयोग गरी नेचर हर्ब्स, नेचर नेस्टलगायतको नाममा नेपालसहित ७ देशमा नेटवर्किङ व्यवसाय चलाइरहेको समेत खुल्न आएको छक ।
गोर्खा ग्रुप अफ कम्पनीका अध्यक्ष कुमार रम्तेलले आफ्नो समूहले सातवटा सहकारी सञ्चालन गरिरहेको स्वीकार गरे । रम्तेल भन्छन्, ‘हाम्रो टिमको सुरुवात पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट भएको हो ।’
ती संस्थामध्ये ३ अर्ब रुपैयाँ निक्षेप रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था, काठमाडौंको अध्यक्ष जीबी राई आफैं हुन् भने कुमार रम्तेल कोषाध्यक्ष छन् । उपत्यका बाहिर पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी, नेपालगञ्जको समानता बचत तथा ऋण सहकारी, चितवनको सहारा चितवन बचत तथा ऋण सहकारी र वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था पनि यही समूहको हो । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको सचिवमा पूर्वउराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन रहेको बताइन्छ ।
नाम कृषि सहकारी : काम धन्दा अर्कै :
सो समूहले चलाएको हाम्रो नयाँ कृषि सहकारी संस्थाले भने नेटवर्किङकै शैलीमा सर्वसाधारणसँग पैसा उठाएको पाइएको छ । १३ जेठ २०७० मा काठमाडौंमा केन्द्रीय कार्यालय रहने र नेपालभरि कारोबार गर्ने गरी सहकारी विभागमा दर्ता भएको सहकारीको अध्यक्ष जीबी राई छन् । यो सहकारीले विभिन्न स्थानमा सेवा केन्द्र खोल्न सेयर सदस्य बनाउने भनेर प्रति सदस्य ११ रुपैयाँको दरले पैसा उठाउने गरेको पाइएको छ ।
सहकारीका प्रतिनिधि सरोज पुडासैनीले मकवानपुरको बकैया गाउँपालिका र बागमती गाउँपालिकाका ३२५ जनाभन्दा बढी किसानबाट प्रति सदस्य ११०० रुपैयाँ उठाएका थिए भने दुई जना किसानको करिब ८ लाखको अन्न खरिद गरेका थिए ।
सहकारीका एजेन्ट सरोज पुडासैनी र अंगिता सुवेदीले सर्वसाधारणलाई विश्वासमा लिन स्थानीय शिवबहादुर खुलाललाई पनि प्रयोग गरेका थिए । अन्य स्थानीयलाई झुक्याएर सदस्य बनाएको र रकम लिएर बेपत्ता भएको खुलाल बताउँछन् ।
महिलालाई १५ लाख र पुरुषलाई १० लाखसम्म विना धितो ऋण दिने, साना किसान सहकारीबाट थप ५ लाख पनि ऋण दिने भन्दै सेयर सदस्य बनाएका थिए । सेयर प्रमाणपत्र दिने भनेर कागजात र फोटो संकलन गरे भने कार्यालय खोल्ने भनेर तयारी गरेका थिए । ‘१०० रुपैयाँ सेवा शुल्क र १ हजार सेयर सदस्य बापतको पैसा भनेर संकलन गरे । पैसा उठाएपछि अनेक बाहना गरेर सहकारीका एजेन्टहरू हराए’, पीडितहरू भन्छन् ।
स्मरणीय छ, तीनवटा सहकारी संस्थामा जीबी राई आफैं अध्यक्ष छन् भने कुमार रम्तेल ४ वटामा । सहकारी ऐन– २०७४ मा एउटा व्यक्ति एक समयमा एउटा मात्रै संस्थाको सञ्चालक हुनसक्ने व्यवस्था छ । तर, यो समूहले संघ, प्रदेश र स्थानीय तह फरक–फरक नियामकअन्तर्गत सहकारी दर्ता गरेर सरकारलाई समेत झुक्याएको समेत भेटिएको छ । नेपालभरि विभिन्न नाममा सहकारी संस्थाहरू सञ्चालनमा रहे पनि त्यसको सबै नियन्त्रण जीबी राईसँगै हुने गरेको सरकारी नियामक निकायहरूकै अनुगमनका क्रममा खुलेको छ । – एजेन्सीको सहयोगमा ।
प्रकाशित मिति २०८० पुष ७, शनिबार ०७:१९ गते