लमजुङ उद्योग वाणिज्य संघमा नेतृत्वको खडेरी !

लमजुङ उद्योग वाणिज्य संघमा नेतृत्वको खडेरी !

अन्तरङ्ग न्युज

@antaranganews

२०८० पुस ८ गते आईतबार ०७:३६

यसपटक ११ औं नेतृत्व(अध्यक्ष) चयनको मिति संघारमा आउँदा पनि त्यस्ता गतिविधि सुनसान छन् । अध्यक्षका सम्भावित उम्मेदवार दुवै जनालाई एउटै कालिका बचत तथा ऋण सहकारी संस्था लि.मा भएको करोडौंको ठगी काण्डका नायक मानिदै आएको छ ।

संघको ४८ वर्षको इतिहासमा अध्यक्षका सम्भावित दुबै पक्षका उम्मेदवार सहकारी ठगी काण्डमा फसेपछि नेतृत्वमा सुख्खा लागेको हो

बेसीशहर– लमजुङ उद्योग वाणिज्य संघको ३७ औं वार्षिक साधारण सभा तथा १८ औं अधिवेशन आँगनमा भित्री सकेको छ । विगतका अधिवशेनमा निर्वाचनको मितिभन्दा महिना दिन अघिदेखि प्यानलगत निर्वाचनको सरगर्मी चल्दथ्यो । यसपटक ११ औं नेतृत्व(अध्यक्ष) चयनको मिति संघारमा आउँदा पनि त्यस्ता गतिविधि सुनसान छन् । त्यसको कारण हो, नेतृत्वको खडेरी ! लमजुङ उद्योग वाणिज्य संघमा अध्यक्ष पदका लागि सम्भावित दुबै प्यानलतर्फका उम्मेदवार सहकारी ठगी काण्डमा फसेपछि नेतृत्वमा सुख्खा लागेको हो ।
संघमा नयाँ नेतृत्व चयन हुन अब २१ दिनमात्र बाँकी छ । लमजुङ उद्योग वाणिज्य संघको ४८ वर्षको इतिहासमा पहिलो पटक नेतृत्वको खडेरी पर्न गएको हो । लमजुङ उद्योग वाणिज्य संघमा लोकतान्त्रिक समूहबाट मृगेन्द्र घिमिरे र प्रगतिशील समूहबाट श्रीकृष्ण लामिछाने अध्यक्षका लागि सम्भावित उम्मेदवार मानिएको थियो । घिमिरे लमजुङ उद्योग वाणिज्य संघका हाल प्रथम उपाध्यक्ष हुन् भने लामिछाने यसअघिको निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका व्यक्ति हुन् । तर विडम्बना ! यी दुवै जनालाई एउटै कालिका बचत तथा ऋण सहकारी संस्था लि.मा भएको करोडौंको ठगी काण्डका नायक मानिदै आएको छ । लामिछानेलाई जिल्ला अदालतबाट ठेकिएको १२ लाख रुपैयाँ धरौटी राखेर तारेखमा छुटेका छन् भने घिमिरे अझै पनि फरार भएको प्रहरी भनाइ छ । यसप्रकार अध्यक्ष हुने दुवै व्यक्ति फसेपछि संघको नेतृत्वमा सुख्खा स्थिति सिर्जिएको हो ।
यसबारेमा लामो समयदेखि उद्योग वाणिज्य संघको अभियानमा जुट्नु भएर एक कार्यकाल अध्यक्ष समेत हुनु भएका रामकुमार श्रेष्ठसँग सम्पर्क गर्दा ऐलेको आर्थिक मन्दीले जर्जर बनाएको अवस्थामा क्षमतावान्, समय र नेतृत्व दिन सक्ने व्यक्तित्वको खोजीमा छौं । पुस २८ गते अधिवेशन हो, समय छ हामी यसपटक सर्वसम्मत नेतृत्व चयनको तयारीमा छौं उहाँले भन्नुभयो । यो त बाहिर भन्ने र देखाइने विषय भयो तर आन्तरिक रुपमा त नेतृत्वको खडेरी परेको आभास भएको छ, किनकि सम्भावित अध्यक्षका दुवैतर्फका उम्मेदवार सहकारी काण्डमा डामिए, त्यसले पनि समस्या परेको त हैन ? भन्ने जिज्ञासामा उहाँले हाँस्दै भन्नुभयो, ‘उद्योग वाणिज्य संघमा इमान्दर, सक्षम र समय दिन सक्ने नेतृत्व आउछ, हामी बदनाम भएका, कतै न कतै तारेखमा जोडिएका मान्छेलाई नेतृत्वमा स्वीकार गर्दैनौं, ४, ६ दिनमा थाहा पाउनु हुन्छ, समय छ नेतृत्व चयनमा हतार छैन ।’
यसैगरी, निवर्तमान अध्यक्ष राजेश थापासँग सम्पर्क गर्दा अवस्था क्रिटिकल नै छ, तपाईले सबै देख्नु भोग्नु भएको छ, मैले भन्नु पर्छ र ? भन्दै प्रतिप्रश्न गर्नु भयो । ‘तपाईहरूको विरासत थाम्ने व्यक्ति को हो त्यो त तपाईहरूले भन्ने/छान्ने/चुन्ने हो नि ?’ भन्ने जिज्ञासामा परिस्थिति नयाँ ढंगबाट पनि अघि बढेको छ । केन्द्रदेखिनै निर्विरोध नेतृत्व चयनको अभ्यास पनि हुन थालेको छ, हामी पनि त्यही नीति अपनाउनु पर्छ भन्ने सोचमा छौं, त्यसैले नेतृत्वको पालोमा क्रमशः रहनु भएका साथीहरू अघि आउनु हुन्छ होला थापाले भन्नुभयो ।
यसैगरी, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालसँग सम्पर्क गर्दा अहिलेको परिस्थिति र आवश्यकतालाई हेरेर सर्वसम्मत नेतृत्व चयन गर्नु पर्छ भन्ने स्थिति बलियो बनिरहेको छ । हिजोमात्र पाँच इकाईको अधिवेशन पनि निर्विरोध भएको थाहापाई सक्नु भएको छ ।जो भए पनि सक्षम, अनुभव, व्यवसायिक साथी आउनु पर्छ भन्ने मान्यतामा छौं उहाँले भन्नुभयो ।
२०३२ सालमा स्थापना भएको लमजुङ उद्योग वाणिज्य संघको संस्थापक अध्यक्ष तिलकबहादुर पौडेल हुनुहुन्थ्यो । त्यसपछि क्रमशः स्व. चिजकुमार पिया, हिरालाल श्रेष्ठ, मदन श्रेष्ठ, स्व. धर्मराज श्रेष्ठ(एक वर्ष रामबाबु श्रेष्ठ कार्यवाहक), प्रमोद श्रेष्ठ, भेषबहादुर पौडेल, रामकुमार श्रेष्ठ, राजेश थापा र गुणराज सिलवालले नेतृत्व लिनु भएको छ ।
प्रमोद श्रेष्ठको कार्यकालबाट तीन वर्ष अवधिको कार्यकाल रहन गएको छ भने त्यसअघि दुई वर्षे कार्यकाल थियो । पैडेलले चार कार्यकाल, हिरालाल श्रेष्ठले तीन कार्यकाल, चिजकुमार, मदन र धर्मराजले २/२ कार्यकाल नेतृत्व गर्नु भएको संघले जनाएको छ ।
दूधपोखरी पहुँच विहीन :
लमजुङमा आठ स्थानीय तह रहेका छन् । लमजुङ उद्योग वाणिज्य संघका ९ वटा इकाई छन् तर दूधपोखरी गाउँपालिकामा संघको पहुँच अर्थात इकाई अझै स्थापना हुन सकेको छैन । ती इकाई बेसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका र मध्यनेपाल नगरपालिकामा २/२ वटा इकाई छन् भने अन्य पालिका राइनास, दोर्दी, मर्स्याङदी र क्ब्होलासोथरमा १/१ इकाई छन् ।
हाल करिब दुई हजार तीन सय सदस्य रहेको आंकलन छ, अन्तिम संख्या तोकिन भने बाकी रहेको संघले जनाएको छ ।
नेतृत्व र कर्मचारी कति सक्षम ?
लमजुङ उद्योग वाणिज्य संघको विधान अनुसार लगातार दुई वर्ष नवीकरण नगर्दा सदस्यता खारेज हुने प्रावधान राखिएको बताइन्छ । तर, सदस्यता खारेज गर्नेबेलामा सम्बन्धित सदस्यलाई सूचनासम्म नदिई आफ्नो सदस्यता खारेज गरिएको कतिपय सदस्यले गुनासो गरेका छन् । यसबाट सबैको छाता संगठन दावी गर्ने संघको आदर्श तथा नेतृत्व र कर्मचारीहरूले आफ्नो पदीय जिम्मेवारी, अधिकार, कर्तव्य एवम् दायित्वलाई के कसरी निर्वाह गरिरहेका छन् ? सदस्यहरूको नवीकरणमा समेत उदासिन हुनु एक ज्वलन्त उदाहरण हो ।

प्रकाशित मिति २०८० पुष ८, आईतवार ०७:३६ गते
हजुरको प्रतिक्रिया