लमजुङको सदरमुकाममा आज बृहत ल्होसार झाँकी र र्याली सहितको कार्यक्रम तयारी पुरा

लमजुङको सदरमुकाममा आज बृहत ल्होसार झाँकी र र्याली सहितको कार्यक्रम तयारी पुरा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० पुस १४ गते शनिवार ०८:१७

छोंज धींले ल्होसारकै अवसरमा आयोजना गरेको सामुहिक नृत्य प्रतियोगितामा शान्ति टोल पहिलो भएको छ ।

अहिले १० बजे मनाङ्गे चौतारबाट र्याली सुरु हुँदै

बेसीशहर– लमजुङको सदरमुकाममा आज बृहत ल्होसार झाँकी र र्यालीसहितको कार्यक्रम तयारी पुरा भएको छ । तमू ल्होसारको अवसरमा तमू ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति लमजुङले बेसीशहरमा बृहत ल्होसार झाँकी र र्याली प्रदर्शन पुस १४ गते गर्ने भएको हो ।
आज बिहान मनाङे चौतारामा साँढे १० जम्मा भएर र्याली निकालिने र झाँकी र्याली तमू संग्रहालयमा पुगेर कार्यक्रममा परिणत हुने आयोजक छोंज धींका सचिव गणेश गुरुङले बताउनु भयो । उहाँका अनुसार मनाङे चौताराबाट सुरु हुने झाँकी र्याली बेसीशहरको मुल सडक पुरानो बैंक चोक, त्रिवेणी टोल, भीमसेन स्थान चोक, नारायणस्थान चोक, झ्याङखोला, शेरा चोक हुँदै दनाइँफाँट चोक पुग्ने छ । त्यसपछि जिल्ल्ला समन्वय समितिको कार्यालय हुँदै प्रशासन चोक, क्याम्पस रोड भएर तमू संग्रहालयमा पुगेर मूल कार्यक्रममा परिणत हुनेछ ।
र्यालीमा आ– आफ्नो भेषभुषा तथा संस्कृति झल्कने विभिन्न कला व्यानर सहितको प्रस्तुति रहने भएको छ । छोंज धींको तीन दिने कार्यक्रमका साथमा ल्होसार मनाएको हो । कार्यक्रमको आज अन्तिम दिन हो, समारोह स्थलमा विविध साँस्कृतिक कार्यक्रम, राष्ट्रिय कलाकारहरूको दमदार प्रस्तुति, गुरुङ जातीय पहिचार एवम् उत्थानका लागि विभिन्न क्षेत्रमा योगदान पुर्याउनु हुने व्यक्तित्वहरूलाई सम्मानलगायत कार्यक्रम गरिने भएको छोंज धींका जिल्ला अध्यक्ष जिवराज घलेले बताउनुभयो ।

उहाँका अनुसार समापन कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विषेश उपस्थिति रहने छ ।
यसैबीच, छोंज धींले ल्होसारकै अवसरमा आयोजना गरेको सामुहिक नृत्य प्रतियोगितामा शान्ति टोल पहिलो भएको छ । तमू प्ये ल्हु संघ युवा समिति दोस्रो तथा शेरा टोल तेस्रो भएको छ भने मस्र्याङ्दी गाउँपालिका– ७ नयाँगाउँ सान्त्वना भए । विजयीलाई क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार आजको कार्यक्रममा प्रदान गरिने भएको आयोजकको भनाइ छ । प्रतियोगितामा ११ वटा टिमले भाग लिएका थिए ।
सो कार्यक्रममा सो अवसरमा बुद्धिमाया गुरुङ, सीता गुरुङ, आशकुमारी गुरुङको टोलीले धनबहादुर गरुङका साथमा ठाडोभाका समेत प्रस्तुत गर्नु भएको थियो । धनवहादुरलाई खेमजङ्ग गुरुङ सहितले गीत छोपेर साथ दिनु भएको थियो । त्यस्तै, कलाकारहरू धनबहादुर गुरुङ, कुसुम गुरुङ, पूजा गुरुङलगायत कलाकारले सांगीतिक प्रस्तुति रहेको थियो ।

मानवसेवा आश्रम र ह्युल्सा ह्योँ गुम्बामा खाद्यान्न सहयोग :
यसैबीच, तमू ह्यूला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् बेसीशहर इकाईले बेसीशहर नगरपालिका– ७, हाइस्कुल चोक स्थित मानवसेवा आश्रम तथा चण्डीडाँडामा रहेको ह्युल्सा ह्योँ गुम्बामा खाद्यान्न सहयोग गरेको छ । सो कार्यमा बेसीशहर इकाईको नेतृत्वमा इकाइभित्रको बेसीशहर स्थित ५ वटै टोलका अगुवाहरूको टोलीले दुवै ठाउँमा पुगेर पुस १३ गते खाद्यान्न प्रदान गरेको हो ।
यो वर्ष हेँ ल्हो अर्थात बिरालो बर्गको बिदाइ गरी मु फ्रि ल्हो अर्थात गरुड बर्गको स्वागत तमू ल्होसारको स्वागत गर्न लागिएको शान्ति टोल तमू आमा समूह अध्यक्ष लोकमाया घलेले बताउनु भयो ।
सोही अवसरमा इकाईमा आवद्ध ८५ वर्ष माथिका बृद्धबृद्धालाई सम्मान, नवप्रवेशीलाई सम्मान साथै साँस्कृतिक तथा सांगीतिक कार्यक्रम प्रस्तुत गरिने भएको छ ।

प्रकाशित मिति २०८० पुष १४, शनिबार ०८:१७ गते
हजुरको प्रतिक्रिया