लमजुङ– जिल्ला सदरमुकाम बेसीशहरमा सञ्चालित कालिका बचत तथा ऋण सहकारी संस्था लि.को बहुचर्चित ठगी काण्डमा मुख्य दोषि भनिएका मृगेन्द्र घिमिरेले आफू उपर थोपरिएको अभियोगको इन्कारी बयान दिएका छन् । जिल्ला अदालनको ओदशले ३० लाख रुपैयाँ धरौटी राखेर तारेखमा पुस २४ गते उनी रिहा भएका छन् ।
जिल्ला अदालतका स्रेस्तेदार भेषराज पौडेलको इजलासले ३० लाख रुपैयाँ धरौटी राख्ने आदेश दिएको हो ।
उक्त सहकारी ठगी काण्डका महानायकका रुपमा प्रचार गरिएका घिमिरेले आफ्नो बयानका क्रममा इन्कारी बयान गर्दै आफू दोषि नभएको जिकिर गरेको बझिएको छ । तीन वटा सहकारीहरू कालिका, सम्पदा र कर्पुरेश्वरको एकीकरण पछि संस्था सञ्चालनमा आएको पनि करिब चार वर्ष बितेको र त्यस अवधिमा आफ्नो कुनै हात नभएको, आर्थिक मन्दी, कोभिड– १९ को प्रकोपले केही समस्या सिर्जना भएको हुन सक्ने अवस्था भए पनि यसअघि पक्राउ परेर धरौटीमा रिहा भएका सञ्चालकहरूले आफ्ना नातेदार तथा नजिकका केही ऋणीहरूको व्याजमात्र नभई साँवा रकमसमेत मिनाहा दिने सञ्चालक समितिको तर्फबाट निर्णय गरेको तर त्यसमा आफ्नो कुनै संलग्नता नरहेको लगायतका विषय उठाएको बताएको जानकारीमा आएको छ ।
उनको बयान पछि आजै थुनछेक बहस भएको थियो । बहसपछि भएको आदेशमा घिमिरेलाई ३० लाख धरौटी माग गरिएकोमा सो राखी उनी रिहा भएका छन् ।
सो मुद्दामा सहकारी पीडितहरूको पक्षबाट जिल्ला न्यायाधीवक्ता पूर्णबहादुर थापा मगर र घिमिरेको पक्षबाट अधिवक्ता विजयप्रकाश अधिकारीले वहस पैरवी गर्नु भएको थियो ।
यसअघि पक्राउ परेका सात जनामा अध्यक्ष शिवराम सिलवाल, उपाध्यक्ष श्रीकृष्ण लामिछाने, कोषाध्यक्ष मिलन शर्मा दनाई र प्रवन्धक वेदराज खनिया १२/१२ लाख, एकीकरणको आर्थिक समितिको संयोजक महेन्द्र शर्मा १० लाख तथा सचिव कृष्ण केसी र एक सदस्य हरिबाबु थापा ७/७ लाख धरौटीमा रिहा भएका छन् ।
स्मरणीय छ, सो मुद्दा विदामा बस्नु भएका जिल्ला न्यायाधीश शिवप्रसाद खनाल आउनु भएपछि आदेशका लागि इजलासमा पुनः पेश हुने भएको छ ।
प्रकाशित मिति २०८० पुष २४, मंगलवार १७:४२ गते