बैदेशिक रोजगारीका लागि पटक पटकको प्रयास असफल पछि मौरीको सफल व्यवसायी बन्दै ध्रुवकुमार दुरा ः बार्षिक ५ लाख कमाई

बैदेशिक रोजगारीका लागि पटक पटकको प्रयास असफल पछि मौरीको सफल व्यवसायी बन्दै ध्रुवकुमार दुरा ः बार्षिक ५ लाख कमाई

विराट न्यौपाने/अन्तरङ्ग

@antaranganews

२०८० माघ १ गते सोमबार ०८:३९

आजभोलि महको सिजन भएको हुँदा मौरी कर्ममा व्यस्त छन् ध्रुव दुरा । विगत डेढ दशक अगाडि केही वर्ष बैदेशिक रोजगारीका लागि करिब तीन वर्ष पटक पटक गरेको प्रयास असफल भएपछि साथी भाइ र ईष्टमित्रको सरसल्लाहमा गाउँमा नै बसेर कृषि कर्म गर्ने अठोट गरेको स्मरण गर्दै यो पेशा अनपाएको बताउँछन् ध्रुबकुमार दुरा ।

लमजुङ । पछिल्ला केही वर्ष यता लमजुङका एक युवकको मौरीको भुनभुन आवाजका साथ सुरु हुने बिहानी दिउँसो र साँझ समेत तिनहरूकै स्याहार र विस्तार गर्ने कार्यमा बित्ने गरेको छ । उनी हु्न्– लमजुङको सुन्दरबजार नगरपालिका– ११ ठूलोस्वाँराका ४० वर्षीय ध्रुवकुमार दुरा । यतिबेला उनी व्यावसायिक रुपमा उन्नत जातका मौरी पालन गरेर सफल माहुरी उद्यमीका रुपमा स्थापित भएका छन् ।
पछिल्लो डेढ दशकदेखि सो पेसा अँगालेका दुराले आफ्नी श्रीमती सविता र बाबु आमाको साथबाट सो व्यवसाय सञ्चालन गरिरहेका छन् । मौरिपालनबाट वार्षिक ५ लाख बचत गर्न सफल भएको उनले गर्वका साथ सुनाए । सफल मौरी पालक व्यावसायीका रुपमा परिचित दुराको दिनचर्या मौरीका घारलाई स्याहार गर्नेदेखि तिनको संरक्षण, चरण व्यवस्थापन, घार निर्माण अनि मह काड्ने जस्ता कार्यमै बित्ने गरेको उनले बताए ।


आजभोलि महको सिजन भएको हुँदा मौरी कर्ममा व्यस्त छन् ध्रुव दुरा । विगत डेढ दशक अगाडि केही वर्ष बैदेशिक रोजगारीका लागि करिब तीन वर्ष पटक पटक गरेको प्रयास असफल भएपछि साथी भाइ र ईष्टमित्रको सरसल्लाहमा गाउँमा नै बसेर कृषि कर्म गर्ने अठोट गरेको स्मरण गर्दै यो पेशा अनपाएको बताउँछन् ध्रुबकुमार दुरा ।
कृषि कर्म त गर्ने तर के चाहिँ गर्ने भन्ने यकिन गर्न नसक्दा विभिन्न ठाँउमा केही महिना भौतारिएँ दुराले भने । त्यसपछि घरमै रहेका दुई वटा मौरीका परम्परागत (मुढे) घारबाट मौरीपालन व्यवसाय शुरु गरेको उनले जानकरी दिए ।
वि.स. २०६५ सालमा जिल्लामा कार्यरत एक गैसस च्वाईस नेपालसंग ५० हजार ऋण लिएर कास्कीको बेगनास ताल मौरी फर्मबाट सेरेना जातका १५ गोला सहितको मौरी घार किनेर व्यवसायिक रुपमा यो पेशामा अंगालेको बताउने दुराको फर्ममा हाल १६० सेरेना जातका गोला सहितका मौरीहरूले उत्पादन दिइरहेका छन् ।
वि.सं.२०७३ सालमा ‘दुराँडाडा मौरिपालन तथा घार उद्योग’ विधिवत दर्ता गरी व्यवसायको थालनी गरेको उनको घरको आँगन, बार्दली तथा घरको आसपासको जग्गा जमिन तथा घर नजिकै रहेको सडकको छेउछाउमा समेत मौरीका घारहरूले सजाएर दुराको आफ्नो घरको शोभा बढाउने काम गरेका छन् ।
मह किन्नका लागि धेरै जसो ग्राहकहरू आफ्नो घरमा नै आउने र फोन सम्पर्कबाट पनि अडर आउने गरेको उनको भनाइ छ । स्थानीय गाउँका साथै बजारका लागि जिल्लाकै सुन्दरबजार, बेसीशहर, भोर्लेटारका अतिरिक्त प्रदेशको राजधानी एवम् पर्यटन नगरी पोखरा तथा संघीय राजधानी काठमाडौसम्म आफ्नो मह निर्यात हुने गरेको उनले जानकारी दिए । उनले आउँदो फागुनसम्मका लागि मौरी सहितका ४२ घरको अर्डर आइसकेको सुनाउँदै यो वर्ष एक सय ५० घार विक्री गर्ने लक्ष्य रहेको सुनाए ।
वर्षमा दुई पटक आम्दानी लिन सकिने मौरी पालन व्यवसाय हिजोआज रोजगारीको दरिलो माध्यम बन्न थालेको उनी बताउँछन् । आधुनिक मौरीको यौटा घारबाट कम्तिमा चार केजी र बढीमा आठ केजीसम्म एक सिजनमा उत्पादन हुने गरेको दुराले जानकारी दिए । उनले भने, ‘एक सिजनमा घार छुट्याएको मौरीले त्यसपछिको अर्को सिजनमा उत्पादन थाल्दछ ।’ मह काड्ने सिजन बैशाख– जेठ तथा कार्तिक– मंसिर हो दुराले जानकारी दिए ।
‘महमा औषधीजन्य गुण पनि हुन्छ । जाडोमा पनि महको सेवन राम्रो मानिन्छ’, उनले भने, ‘५० हजार रुपैयाँबाट थालनी गरेको उक्त फार्ममा हालसम्म एक करोडसम्म लगानी गइसकेको छ ।’ उनले मौरीका घार र मह बिक्रीबाट वार्षिक २२ देखि २५ लाखसम्म आम्दानी हुने गरेको उल्लेख गरे । उनले गर्वका साथ भने, ‘सबै खर्च कटाएर वार्षिक चारदेखि पाँच लाख रुपैयाँ बचत हुने गरेको छ, त्यसैले घर व्यवहार, छोराछोरीको पढाई आदि चल्ने गरेको छ ।’
उनको मौरी पालन कर्ममा कुममा कुम जोडेर उनकी श्रीमती सविताले साथ दिएकी छन् । यो पेशाबाट सविता समेत सन्तुष्ट देखिन्छन् । सविताले भनिन्, ‘झरी, बादल, घाम पानी, हुरीबतास आदिमा सेकिनु, रुझ्नु र धेरै पसिना पनि बगाउन नपर्ने भएको हुँदा यो पेशा मन परेको छ ।’ मौरी पालन गर्नु अघि घाम पानी नभई खेतबारीको काम, वनजंगलमा घाँस दाउरा गर्न, मेलापात जानु पथ्र्यो, ऐले त धेरै सजिलो भएकोले यो पेशा मन परेको सविताले बताइन् ।
मौरी पालन व्यवसाय गर्दै गर्दा धेरै किसिमका समस्याहरू पार गर्नु परेको ध्रुवले सुनाए । जंगलको बिचमा फर्म भएको हुँदा अरिङ्गालको अत्यधिक प्रकोप छ, त्यस्तै, मलसाप्रोले पनि उस्तै आक्रमण गर्छ । जसले गर्दा कहिले काहिँ निरास पनि बनाउँछ । केही बर्ष अगाडिसम्म रातको समयमा गाउँ घरकै उछि«ंखल केटाहरूले मौरीको घारबाट मह चोरेर दुःख दिन्थे तर पछिल्लो समय त्यस्ता घटनाहरू भएका छैनन् यसले पनि अलिक राहत मिलेको अनुभव भएको छ उनले सुनाए । केही बर्प अगाडि आफू दुर्घटनामा परेको समयमा अधिकांश घारबाट मौरी भागेर फर्म घारहरू करिब खाली जस्तै अवस्थामा पुगेको र मन मरेर निरास भएको उनले स्मरण गरे । बालीनालीमा बढ्दो विषादीको प्रयोगले मौरीको चरणका लागि समस्या हुने गरेको दुराको अनुभव छ ।
‘माहुरी जोन कार्यक्रम’ले जोनमा सुचिकृत गरि प्राबिधिक तथा अन्य सहयोग निरन्तर गर्दैै आईरहेको उनले जानकारी दिए । उनका अनुसार हालसम्म फर्मलाई कृषि ज्ञान केन्द्र लमजुङ, कृषि शाखा सुन्दरबजार, किट विकाश निर्देशनालय पोखरा, व्यवसायिक किट विकास केन्द्र बन्दिपुरले विभिन्न समयमा अनुदान सहयोग गरेका छन् ।
उनी भन्छन्, ‘सरकारले पहिलो प्राथमिकता मौरी पालक किसानलाई उत्पादनमा अधारित अनुदान र महलाई खपतका लागि सहज बजारीकरणको व्यवस्था गरिदिनुपर्छ ।’
हाल उनको फार्ममा मौरीपालनका बारेमा जानकारी लिन, मौरी पालन व्यवसायबारे जान्न तथा फार्म अवलोकनका लागि छिमेकी जिल्लाहरू कास्की, गोरखा, तनहूँ, स्यांङजा, पर्वतबाट पनि किसानहरू आउने गरेको उनले बताए । केही सिक्न र जान्न आउने मानिसहरूलाई आफूले झर्को नमानी जाने सम्मको अनुभवका सबै कुरा सिकाउँदै आईरहेको उनी बताउनु छन् । उनले भने, अन्यत्रका दाजुभाइ पनि यो मौरी पालन व्यवसायमा तथा मह उत्पादनमा सरिक होउन भन्ने लाग्छ ।’
उनका अनुसार हाल फर्ममा सिल्ड गर्ने मेसिन, लेभलिङ मेसिन, आधारचाकाहरू २ फ्रेम र ८ फ्रेमको १÷१ थान महमदानी छन् । मह काडिसकेपछि बाँकी रहेको छोक्रालाई पगालेर पुनः मैन बनाई आधारचाका बनाउने गर्ने गरेको उनले जानकारी दिए ।
यो व्यवसाय छाडेर अर्कोतिर लाग्ने सोच छ कि ? भन्ने जिज्ञासामा ‘आजम्म त्यस्तो सोच आएको छैन, यही व्यवसायबाट आफ्नो सात जनाको परिवार धानेको छु ।’ उनले गर्वका साथ सुनाए । व्यवसायबाट घर परिवार पनि सन्तुष्ट छन् । यहि पेशाबाट भएको आम्दानीले छोरालाई काठमाडौमा राखेर व्याचलर सिभिल ईन्जिनियरिङ र छोरी पनि काठमाडौमा नै व्याचलर पठाउँदै छु उनले उल्लेख गरे ।
उनलाई देशमा नै बसेर केही गर्न चाहाने युवाहरूलाई मौरिपालन व्यवसाय गर्न सरकारले सहयोग र प्रेरित गरोस् भन्ने लागेको सुनाए ।
अब फर्मको विस्तारका लागि गाडी व्यवस्था गर्ने, एपि थेरापि सेन्टर अर्थात मौरीको घारमाथि सुतेर गरिने उपचार पद्दति स्थापना गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । जिल्लाका लागि मौरीका घारहरू बाहिरका जिल्लाबाट आयात गर्न पर्ने परिस्थितिलाई अन्त्य गरी व्यवस्थित घार उद्योग सञ्चालन गर्ने । उद्योगमा कामदारहरू थप्ने योजना रहेको सुनाउँदै आफूलाई स्वास्थ्य एवम् परिस्थितिले साथ दिदासम्म यही पेशलाई निरन्तरता दिने सोच र योजना रहेको दुराले बताउँछन् ।

प्रकाशित मिति २०८० माघ १, सोमबार २०:३९ गते
हजुरको प्रतिक्रिया