बेसीशहर– लमजुङ र मनाङमा डोना हिमताल जलाधार क्षेत्रबारेमा स्थानीय आदिबासी समुदायसँग परामर्श गरिएको छ । नेपाल आदिबासी जनजाति महासंघ संघीय परिषद सचिवालयको आयोजना, नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषदको व्यवस्थापन एवम् यूएनडिपीको सहयोगमा उक्त कार्यक्रम माघ ६ गते गरिएको हो ।
सो अवसरमा नेपालका हिमनदी बेसीहरूमा र अन्य जलवायु परिवर्तनबाट हुने जोखिमबाट जीवन र जीविकोपार्जन संरक्षण, जलवायु परिवर्तन र नेपालको हिमनदी र हिमतालहरूमा यसको प्रभाव, विपद्को चपेटामा नेपाल, तापमान वृद्धि र ग्लेसियर, नेपालमा हिमताल फुट्ने बाढी, नेपाल सरकारको जलवायु जोखिम व्यवस्थापनको प्राथमिकता जस्ता विषयमा प्रकाश पारिएको थियो ।
सो परियोजना निर्माणको क्रममा कोशी र गण्डकी प्रदेशमा सामुदायिक परामर्श, विभिन्न तहमा सरोकारवालाहरूसँग परामर्श गरिएको कार्यक्रमका प्रस्तोता एवम् जलवायुविज्ञ दिपक केसीले बताउनु भयो ।
प्रस्तावित परियोजना अवयवहरूमा संरचनात्मक उपायहरू, हार्डवेयर, उपकरण, हरियाली प्रवद्र्धन रहेको जानकारी दिदै अवयवहरू,आउटपुटहरू र अपेक्षित परिणामहरूबारेमा जानकारी दिइएको थियो ।
यसैगरी, सामाजिक र वातावरणीय सुरक्षा सिद्धान्तहरूका बारेमा समेत केसीले जानकारी दिनुभएको थियो । सो अवसरमा समूहसँग ती क्षेत्रमा आदिबासी समुदायको संलग्नता, भूमिका र अपनत्वका लागि के के गर्नुपर्ला भन्ने सुझाव पनि मागिएको छ । सो अवसरमा छ वर्ष अघि गरिएको परामर्श कार्यक्रमको सिफरिस ठीक छ भन्ने सुझाव दिइएको थियो ।
उक्त अवसरमा सहभागीहरूलाई तीन भागमा विभाजन गरी सामूहिक छलफल गरी विभिन्न सुझाव संकलन गरिएको हो ।
तीमध्ये ज्ञान सीप बढाउन तालिमको प्रवन्ध गर्नुपर्ने, स्थानीयका लागि रोजगार व्यवस्थापन, परियोजनासँग स्थानीयले समन्वय र सहकार्य गर्ने, स्थानीय स्रोत साधनको प्रयोग र संरक्षण गर्ने, अति जोखिमयुक्त क्षेत्रको पहिचान गरी स्थानान्तरणको पहल गर्ने आदि रहेको सहभागीहरूले बताए ।
नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद लमजुङका अध्यक्ष हरिजङ तामाङले स्वागत गर्नु भएको थियो । नासों गाउँपालिका, मनाङका अध्यक्ष बेदबहादुर गुरुङ समेत सहभागी रहनु भएको सो कार्यक्रमको सञ्चालन आयोजक संस्थाका सचिव विमल सारु मगरले गर्नु भएको थियो ।
प्रकाशित मिति २०८० माघ ११, बिहीबार २१:५७ गते