काठमाडौं– नेपाली भाषा साहित्यका तपस्वी अमर प्राज्ञ ७६ वर्षीय नव सापकोटा नेपालको दुई लाख पुरस्कार सम्मानका लागि छनौट हुनुभएको छ । उहाँलाई नइ प्रकाशनले २०७९ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ पुरस्कारबाट सम्मानका लागि छनौट गर्ने निर्णय फागुन १ गते अर्थात १३ फेब्र्रुअरीमा गरेको हो ।
छिमेकी मित्रराष्ट्र भारतको असमलाई कर्म थलो बनाएर नेपाली भाषा साहित्यको श्रीबृद्धिमा अनवरत लाग्नु हुने साहित्यिक तपस्वी अमर प्राज्ञ नव सापकोटालाई नेपालमा सम्मान गरिने भएको हो । नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठन मार्फत निरन्तर जागरूक र समर्पित हुँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउनुहुने अमर प्राज्ञ भारत आसामका श्री नव सापकोटालाई समर्पण गर्ने निर्णय गरेको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भएको छ ।
उहाँको अनुसार उक्त पुरस्कारको राशि ताम्रपत्रका साथ दुई लाख रूपैयाँ (नेपाली) रहेको छ ।
उहाँले भन्नुभयो, ‘यो पुरस्कार नेपाली भाषासाहित्य मार्फत अन्तराष्ट्रिय क्षेत्रमा ख्याति कमाएकामध्ये विशिष्ठ नेपाली मूलका विदेशी व्यक्तित्वलाई हरेक वर्ष समर्पण गरिदैँ आएको छ ।’
नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको समेत नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भएको छ ।
उहाँको अनुसार सो पुरस्कार सापकोटालाई आउँदो चैत महिनामा हुने एक विशेष समारोहका बीच समर्पण गर्ने कार्यक्रम छ ।
नेपाली साहित्य साधक नव सापकोटाको संक्षिप्त चिनारी :
नव सापकोटा बडागाउँ (देवकोटानगर), मौजा– थाना– जालुकबारी, गुवाहाटी– ११, असम, भारतका भूमिपुत्र हुनुहुन्छ । उहाँको जन्म २५ जनवरी १९४८ मा भएको हो । उहाँ माता पिता स्व. यशोदादेवी सापकोटा र स्व. लीलाधर सापकोटा (स्वाधीनता संग्रामी) हुनुहुन्छ ।
स्कूल लेवलको अध्ययन कालदेखि नेपाली साहित्यप्रति लगाव राख्दै लेख्न थाले पनि सन् १९६९ मा प्रकाशित भानुस्मारक ग्रन्थमा पहिलो ‘श्रध्दाञ्जली’ शीर्षक कविता प्रशासन गरी साहित्यमा पाइला टेक्ने शुभ साइत उहाँलाई जुरेको ।
उहाँका प्रकाशित कृतिमा कविता संग्रहका चार कीर्ति, नाटक एक र अनुवाद साहित्य चार रहेका छन् । यसैगरी, उहाँले सम्पादन पुनरीक्षण एवम् सम्पादन गरेका पाठ्यपुस्तक २८ रहेका छन् । जसमा पुनरीक्षण १५ थान, साहित्यिक ग्रन्थ ५ र पत्रपत्रिका तथा स्मृति ग्रन्थ आठ वटाको सम्पादन गर्नु भएको छ ।
उहाँ नेपाली भाषाका अतिरिक्त असमीया, बङ्गाली, हिन्दी र अङ्ग्रेजी भाषाको समेत ज्ञाता हुुनुहुन्छ ।
एम.ए. डिग्री हासिल गर्नु भएका सापकोटाले जवानी उमेरमा असम सचिवालय प्रशासनिक सेवामा सन् १९७२ मा योगदान गरी विभिन्न ओहदामा सेवा सम्पादन गर्दै आखिरमा असम मानव अधिकार आयोगमा उपसचिवको पदको सेवामा सेवारत रही सन् २००७ मा निवृत्त ग्रहण गर्नु भएको हो । त्यसपछि भने उहाँले आफूलाई पूर्ण रुपमा अर्थात मूल पेश साहित्यको खेती अर्थात नेपाली भाषा साहित्यको श्रीबृद्धि गर्नु रहँदै आएको छ ।
उहाँले भारत र नेपालका विभिन्न संघसंस्थाबाट दर्जनौं मानसम्मान तथा पुरस्कार पाउनु भएको छ । तीमध्ये मुख्य सन् १९९८–२००२, साहित्य अकादमी नेपाली भाषाको सदस्य नियुक्त, कवि पुष्पलाल उपाध्याय स्मृति पुरस्कार (नेसाप, असमबाट) २००१, सुभद्राकुमारी चौहान शतवार्षिकी सम्मान २००४, अभिजमान सपरिवार सम्मान २००८, मितेरी नेपाल सम्मान सन् २००९, नेसाप असमको अध्यक्ष निर्वाचित (२००२–१२), स्थाई उपदेष्टा असम नेपाली साहित्य सभा (२०१३ देखि यता) तथा भारत नेपालका विभिन्न संघ संस्थाबाट सम्मानित हुनुहुन्छ । उहाँलाई लमजुङको जेठ पत्रिका अन्तरङ्ग साप्ताहिकको रजत उत्सव(विसं २०७३) का अवसरमा ठाडोभाका लोककला प्रतिष्ठान नेपालले पनि सम्मान गरेका छन् ।
उहाँको स्थायी बसोबास कविता निकेतन, देवकोटानगर, गुवाहाटी, असम, भारतमा रहेको छ ।
प्रकाशित मिति २०८० फाल्गुन ४, शुक्रबार २१:२३ गते