सुप्रिम सहकारीका अध्यक्ष गुरुङ र व्यवस्थापक चापागाई पाण्डे पक्राउ

सुप्रिम सहकारीका अध्यक्ष गुरुङ र व्यवस्थापक चापागाई पाण्डे पक्राउ

अन्तरङ्ग न्युज

@antaranganews

२०८० फाल्गुण ५ गते शनिवार १०:०४

१० हजार ३९१ जना बचतकर्ताहरूको एक अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना दावी गरिएको छ ।

संस्थापक अध्यक्ष एवम् संरक्षक जिबी राई अझै फरार छन् ।

बुटवल– यहाँ सञ्चालनमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्था(साकोस)का अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई एकदिनको फरकमा प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताहरूको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई पाण्डेलाई प्रहरीले फागुन ४ गते पक्राउ गरेको हो ।
संस्थापक अध्यक्ष एवम् संरक्षक जिबी राई भने रेडकर्नर नोटिस जारी गरिए पनि सम्पर्क विहीन छन् । प्रहरीले सुप्रिम साकोसका संस्थापक अध्यक्ष एवम् अहिलेका संरक्षक गितेन्द्रबाबु राई, बुटवल शाखाका व्यवस्थापक सागर केसीसहित सात जनालाई खोजिरहेको जनाएको छ ।
सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कले साढे १० करोड रुपैयाँ ऋण लिएको बताइएको छ । सो सहकारीका संस्थापक अध्यक्ष गितेन्द्र बहादुर (जिबी) राई हुन् । उनी २०७८ सम्म अध्यक्ष थिए । २०७८ सम्म हालका अध्यक्ष गुरुङ उपाध्यक्ष थिए ।
रुपन्देही लगायत आसपासका जिल्लाका १० हजार ३९१ जना बचतकर्ताहरूको एक अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको भन्दै बचतकर्ताहरूले प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका छन् । उक्त रकम कागजी प्रक्रिया पुरा नगरी ऋणको रुपमा उपलब्ध गराएको बचतकर्ताको आशंका छ ।
सहकारीले राई अध्यक्ष तथा सञ्चालक रहेका विभिन्न पाँचवटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण दिएको थियो । पाँचवटा कम्पनीमा लगेको ऋणबापत राईले सहकारीलाई ब्याज मात्रै नौ करोड १९ लाख एक सय रूपैयाँ बुझाउनु पर्ने छ । साँवा र ब्याज गरी ८७ करोड ६९ लाख ७६ हजार ७६५ रूपैयाँ लिएर राई सम्पर्क बिहीन भएको बताइन्छ ।
त्यस्तै अन्य सञ्चालक तथा विभिन्न ५२ जना ऋणीलाई दिएको २४ करोड ३ लाख ९३ हजार ७२५ रूपैयाँ पनि सहकारीले उठाउन सकेको छैन । ती ऋणीले पनि ब्याजबापत मात्रै ३ करोड ९८ लाख १९ हजार ७७५ रूपैयाँ बुझाउन बाँकी देखिन्छ ।
यति ठूलो रकम हिनामिना गरी संरक्षक राई फरार भएपछि बचतकर्ताको उजुरीको आधारमा प्रहरीले अध्यक्ष गुरूङ र भैरहवा शाखा व्यवस्थापक पाण्डेयलाई पक्राउ गरेको हो ।
सुप्रिम सहकारीबाट विभिन्न मितिमा राई अध्यक्ष रहेको गोरखा मिडिया नेटवर्क प्रालिमा विभिन्न ५ वटा मितिमा १२ करोड १४ लाख ८४ हजार ८ सय ६०, जिबी ग्रुप एण्ड कम्पनी लि.मा विभिन्न सात मितिमा गरी १४ करोड ९९ लाख ५९ हजार ५ सय २०, स्प्रिङ उड रियल स्टेड हाउजिङ प्रालिमा ३ वटा मितिमा ६ पटक गरी १८ करोड २१ लाख ७८ हजार १ सय ८३ रुपैयाँ रकम लगेको देखिएको स्रोतको भनाइ छ ।
सो साकासेका अध्यक्ष गुरुङलाई अघिल्लो दिनमा र व्यवस्थापक पाण्डेयलाई भोलिपल्ट अर्थात फागुन ४ गते पक्राउ गरी अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले बताउनु भयो । उहाँका अनुसार व्यवस्थापक दुर्गा लामो समय बुटवलस्थित केन्द्रीय कार्यालयमै कार्यरत थिइन् । उहाँले भन्नुभयो, ‘दुवै जनालाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।’

प्रकाशित मिति २०८० फाल्गुन ५, शनिबार २२:०४ गते
हजुरको प्रतिक्रिया