बुटवल(रुपन्देही)– खानेपानी समितिमा पनि राजनीतिक गन्ध भित्र्याइएको छ । यस जिल्लाको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार एकबहादुर क्षेत्री विजयी हुनु भएको छ । उहाँले सत्ता गठबन्धनका माओवादी उम्मेदवारलाई ६४ मतले उछिन्दै फागुन ८ गते विजयी हुनु भएको हो ।
खानेपानी उपभोक्ता समितिको उक्त निर्वाचनमा दुई हजार चार सय मत खसेको थियो । जसमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार नारायण पाण्डेले ६४१ मत ल्याई निकटत्तम प्रतिद्वन्द्वी बन्नुभयो । संघीय संसदको विपक्षी दल नेकपा एमालेका नारायण थापाले ६२६ र स्वतन्त्र उम्मेदवार दिएका रेशम खांडले २८१ मत पाउनु भएको थियो भने रास्वपाका क्षेत्री ७०५ मत ल्याई विजयी हुनुभएको हो ।
अन्य सबै पदमा नेकपा एमालेका उम्मेदवारहरू विजयी भए भने सत्ता गठबन्धनका उम्मेदवार शुन्य भएको छ ।
स्मरणीय छ, यसअघि तिलोत्तमाको खानेपानी संस्थामा एमाले, कांग्रेस र माओवादीसहितको गठबन्धन हुँदा समेत रास्वपाका तीनजना उम्मेदवार कार्यसमिति सदस्यमा विजयी भएका थिए ।
प्रकाशित मिति २०८० फाल्गुन ८, मंगलवार १८:३१ गते