एमालेमा आर्थिक र यौन आचरणमा कानुनी र नैतिक बन्धन तोड्ने प्रवृत्ति बढ्यो भन्दै बहस

एमालेमा आर्थिक र यौन आचरणमा कानुनी र नैतिक बन्धन तोड्ने प्रवृत्ति बढ्यो भन्दै बहस

अन्तरङ्ग न्युज

@antaranganews

२०८० फाल्गुण ९ गते बुधबार ०८:४४

केन्द्रीय कमिटीको बैठक केन्द्रीय कार्यालय च्यासलमा माघ ८ गते सुरु भएको हो । बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले अलग–अलग प्रतिवेदन पेश गर्दै आगामी वर्षको कार्यक्रमबारे प्रस्ताव ल्याउनु भएको छ ।

पार्टी संगठन विस्तारमा बाधक चार विषय औंल्याइएको छ ।

काठमाडौं– एमालेमा आर्थिक र यौन आचरणमा कानुनी र नैतिक बन्धन तोड्ने प्रवृत्ति बढ्यो भन्दै बहसका लागि मूलतः चार विषयको उठान गरिएको छ । जारी सातौं केन्द्रीय कमिटीको बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेलद्वारा फागुन ८ गते प्रस्तुत पार्टी निर्माणसम्बन्धी अवधारणामा उक्त विषय समेटिएको छ ।
उपाध्यक्ष पौडेलले भने पार्टीभित्र देखिएका समस्याहरू समेत प्रस्तुत गर्नु भएको छ । ‘जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त र जनआधारित कार्यकर्ता पार्टीको मर्मलाई बुझ्ने र कार्यान्वयन गर्ने चुनौती’ शीर्षकको प्रतिवेदनमा पौडेलले मुख्यगरी पार्टीभित्र देखिएको चार समस्या उल्लेख गर्नु भएको छ ।
पहिलो ‘पार्टीभित्र दक्षिणपन्थी अराजकतावाद’ देखिएको उल्लेख गरेका छन् । पौडेलले अधिवेशन सम्पन्न गर्ने क्रममा देखिएको प्रवृत्तिलाई यस्तो समस्यासँग तुलना गर्नु भएको छ । जबकी चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनले यस्तो प्रवृत्तिविरुद्ध लड्ने संकल्प गरेको समेत उहाँले स्मरण गर्नु भएको छ ।
दोस्रो, भद्दा कमिटी प्रणाली । पाँचौ महाधिवेशन पश्चात् एमाले जनतामा आधारित कार्यकर्ताहरूको पार्टी भएपनि अहिले सदस्यहरूले आफू सदस्य भएको थाहा नपाउने र संगठनहरू बैठक नै बस्न नसक्ने अवस्थामा छ उहाँले उल्लेख गनर््ु भएको छ ।
‘सबै तहका पार्टी कमिटी तुलनात्मक रुपमा ठूला अकारका छन् र हाम्रा सामू तिनको प्रभावकारी व्यवस्थापन र परिचालनको समेत चुनौती थपिएको छ’, भन्दै चितवनको दशौं महाधिवेशन (संक्रमणकालीन अवस्था) भएकोले भद्दा पार्टी संरचना निर्माण गर्ने छुट दिएको पौडेलको तर्क छ ।
‘ठूला आकारका कमिटीलाई कसरी प्रभावकारी बनाउने ? कमिटीको बैठक बस्ने, बैठकले निर्णय गर्ने र ती निर्णय कार्यान्व्यन हुने अवस्था कसरी सुनिश्चित गर्ने ?’, उपाध्यक्ष पौडेलले भद्दा कमिटी प्रणालीलाई व्यवस्थित गर्ने ? केन्द्रीय सदस्यहरूको राय माग्नुु भएको छ ।
उहाँका अनुसार एमाले भद्दा पार्टी संरचनाबाट मात्रै नभएर दोहोरो इन्चार्जको अप्ठ्यारोमा समेत थिचिएको व्याख्या छ । ‘एउटा कमिटीका लागि सो भन्दा माथिल्लो कमिटीबाट खटिएका इन्चार्जहरुको संख्या धेरै हुने (उदाहरणका लागि पालिका तहमा जिल्ला, प्रदेश र केन्द्रबाट अलगअलग इन्चार्ज खटिनुभएको छ) र उहाँहरूको बीचमा मतान्तर हुने र कमिटीको कामकारवाही प्रभावित हुने अवस्था छ’, प्रतिवेदनमा पौडेलले औंल्याउनु भएको छ ।
प्रतिवेदनमा उपाध्यक्ष विष्णु पौडेलले भन्नु भएको छ, ‘हाम्रो आचरण, व्यवहार र जीवन जिउने काइदा मुलुकको संविधान, प्रचलित कानुन र सामाजिक नैतिकताको सीमा अनुकुल हुनुपर्छ, हामी जनताले उचित नठान्ने काम कारबाहीबाट जोगिनुपर्छ ।’
पौडेलले संगठनात्मक व्यवस्थापनका लागि केही प्रश्नहरू समेत उठाउनु भएको छ । उहाँले कमिटीको आकार ठूला र भद्दा बन्न थालेको भन्दै यसलाई कसरी प्रभावकारी बनाउने भने केन्द्रीय कमिटीमा छलफल हुनुपर्नेमा जोड दिनु भएको छ ।
तेस्रो,ठूलो समस्यामा पार्टीभित्र गुटबन्दी मौलाएको उपाध्यक्ष पौडेलको बुझाइ छ । गुटबन्दीले पार्टी कमजोर बनाउने निष्कर्ष सहित भन्नु भएको छ, ‘पार्टी र गुट विपरीतधर्मी तत्व हुन् । पार्टी बलियो हुँदा गुट कमजोर हुन्छ, गुट बलियो हुँदा पार्टी कमजोर हुन्छ । हामीले गुटबन्दी समाप्त पार्ने र पार्टीलाई बलियो बनाउने संकल्प गर्नुपर्छ ।’
सँगै उपाध्यक्ष पौडेलले पार्टीभित्र आफ्नो विचार र विश्लेषण प्रस्तुत गर्ने स्वतन्त्रतामा पनि आवश्यक ध्यान दिनुपर्ने तर्क गर्दै तर विधि र मर्यादा ख्याल गर्नुपर्ने प्रतिवेदनमा जनाउनु भएको छ ।
उहाँले चिन्ता व्यक्त गर्दै भन्नुभएको छ, ‘अहिले पार्टीको केन्द्रीय तहमा नीति, नेतृत्वमा कुनै मतभेद छैन । दसौं महाधिवेशनयता केन्द्रीय तहका हरेक निर्णय सहमति वा सर्वसम्मतिमा भएका छन् । त्यहाँ कसैको असहमति वा फरक मत छैन । त्यसैगरी हामी सबै नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा दसौं राष्ट्रिय महाधिवेशनका निष्कर्ष कार्यान्वयन गर्दै अघि बढ्न प्रतिबद्ध छौं । तर, प्रदेश र स्थानीय कमिटीहरू अन्तरविरोधग्रस्त छन्,’ पौडेलको निष्कर्ष छ, ‘कतिपयमा त गुटबन्दी गम्भीर विकृति देखापर्न थालेका छन् । कमिटी प्रणालीलाई बेवास्ता गर्ने र निश्चित व्यक्तिको सेटिङमा पार्टीलाई बन्धक बनाउन खोज्ने प्रवृत्ति हुर्किँदै गएको छ ।’
चौथो समस्यामा, पार्टीभित्र नेता तथा कार्यकर्ताहरूको जीवनशैली र आचरणको समस्या उल्लेख गरिएको छ । चिन्ताकै रुपमा प्रस्तुत यो समस्याबारे उपाध्यक्ष पौडेलको लामो व्याख्या छ ।
‘हाम्रो आचरण, व्यवहार र जीवन जिउने काइदा मुलुकको संविधान, प्रचलित कानुन र सामाजिक नैतिकताको सीमा अनुकुल हुनुपर्छ’ प्रतिवेदनमा चिन्ता व्यक्त भएको छ, ‘हामी जनताले उचित नठान्ने काम कारबाहीबाट जोगिनुपर्छ । तर पार्टीभित्र प्रचलित कानुन, सामाजिक प्रबन्ध र नैतिकताका दृष्टिले अनुचित क्रियाकलाप देखा पर्न थालेका छन् ।’
पौडेलको प्रतिवेदनमा पार्टीका नेता–कार्यकर्ता जनताले उचित नठान्ने कार्यबाट जोगिनु पर्नेमा समेत जोड छ । अहिले नेता–कार्यकर्ताहरूमा देखिएको जीवनशैली, आर्थिक र यौन आचरणले पार्टी जनताबाट अलग हुने खतरा देखिएको उपाध्यक्ष पौडेलको विश्लेषण छ ।
यी सबै समस्याहरूको समाधान केन्द्रीय सदस्यहरूसँगै मागिएको छ ।
बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले अलग–अलग प्रतिवेदन पेश गर्दै आगामी वर्षको कार्यक्रमबारे प्रस्ताव ल्याउनु भएको छ ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले ‘शुद्धीकरण÷सुदृढीकरण सम्बन्ध’ शीर्षकको संक्षिप्त लिखित प्रस्तावमा उहाँले केन्द्रीय सदस्यहरूलाई आफ्नो राय राख्न मार्गदर्शनको आधार प्रस्तुत गर्नु भएको छ ।
महासचिव पोखरेलले गत वर्षको आमचुनाव सम्पन्न भएपछि पार्टीले गरेका गतिविधिहरूको समीक्षा प्रतिवेदन पेश गरेका छन् । उनको प्रतिवेदनमा दुई महिने मिसन ग्रासरुट अभियान, मध्य पहाडी संकल्प यात्रा र पार्टी पुनर्गठनको गतिविधिहरू समावेश गरेका छन् ।
केन्द्रीय कमिटीको बैठक केन्द्रीय कार्यालय च्यासलमा माघ ८ गते सुरु भएको हो ।

प्रकाशित मिति २०८० फाल्गुन ९, बुधबार ०८:४४ गते
हजुरको प्रतिक्रिया