बेसीशहर– लमजुङको पसगाउँमा महोत्सव १४ औं शृंखलाको तयारी थालिएको छ । पसगाउँ सामुदायिक होमस्टे व्यवस्थापन समितिको आयोजनामा सो महोत्सव यही फागुन १९ र २० गते भव्यताका साथ सम्पन्न गर्ने फागुन ९ गते यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
पसगाउँ सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष एवम् क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले एक विज्ञप्ति पढेर सो बारेमा जानकारी दिनु भएको हो । उहाँले महोत्सव थालिएको २० वर्ष र महोत्सवको १४ औं शृंखलामा आइपुग्दा हामी अझै सिक्ने क्रममा छौं भन्नुभयो । यहाँले महोत्सवको मुल उद्देश्य ग्रामीण पर्यटनको विस्तार गर्ने, लोक संस्कृतिको संरक्षण एवम् संवर्द्धन गर्ने, स्थानीय हस्तकला प्रर्दशनी गर्ने, पसगाउँलाई देश विदेशमा चिनाउने रहेको जानकारी दिनुभयो ।
साथै गुरुङ जातिको कला संस्कृति, भेषभूषा तथा भाषाको संरक्षण र सम्बर्द्धन गर्दै न्युन आय भएका नागरिकहरूको आर्थिक एवम् सामाजिक जीवनस्तर उकास्ने रहेको उहाँको भनाइ छ ।
महोत्सवको माध्यमबाट पसगाउँको मौलिक संस्कृति कृष्णचरित्र नृत्य, झ्याउरे नाच, सारंगी नृत्य, घाँटुजस्ता लोपोन्मुख नृत्यहरूको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्न टेवा पुग्ने वडा अध्यक्ष मनलाल गुरुङले बताउनुभयो । उहाँका अनुसार समुद्री सतहदेखि १ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित पसगाउँ तमू (गुरुङ) जातिको बाहुल्यता रहेको गाउँ हो त्यसैले यहाँ गुरुङ संस्कृतिको बाहुल्यता छ ।
पसगाउँको आकर्षणमा सिल्दु पूजा, छेदुपु पूजा, क्व्होम्रे पूजा, भवानी पूजालगायत विशिष्ट परम्परागत रीतिरिवाज रहेको छ भने ग्रामीण पर्यटकीय दृष्टिकोणले पनि पसगाउँ महत्वपूर्ण मानिएको छ । जहाँ प्राकृतिक शिवलिंग, भौं भौं ह्राब (बजाउने ढुंगा), सूर्योदय र सूर्यास्त अवलोकनका लागि क्व्होम्रेडाँडा सहित चार वटा प्रसिद्धडाँडाहरू छन् ।
२०६० साल बैशाख १६ र १७ गते भएको प्रथम पसगाँउ महोत्सवको आयोजना भएको थियो ।
पछिल्लो दिनमा फेरि पर्यटकीय गतिविधि बढ्न थालेका छन् । १४५ घरधुरी रहेको यस गाँउमा ११ घरधुरी भुजेल एवं १२ घरधुरी दलितको रहेको छ । ढुङ्गाले छाएको घरहरु नै मुख्य रुपमा पसगाँउको विशेषता रहेको छ । हाल करीव २१ घरमा होम स्टे सञ्चालनमा रहेको जानकारी दिइएको छ । कला संस्कृतिमा धनी यस गाउँमा कृष्ण चरित्र नृत्य, झयाउरे र सारङ्गी नृत्य, घाँटु जस्ता लोपोन्मुख नृत्यहरू अझै पनि जीवन्त रहेको छ ।
पसगाउँको प्रमुख खाद्यान्न बालीमा धान, कोदो, मकै हो भने सबै अर्गानिक खेती हुने गरिआएको छ । पछिल्ला वर्षमा यहाँका वासिन्दहरू नगदे बाली चिया खेती, अलैची खेती, एभाकाडो, किवी खेतीतर्फ आर्कषित भएका छन् । जीवीकोपार्जनका लागि विशेष गरी यहाँका युवाहरू बैदेशिक रोजगारीमा निर्भर छन् ।
पसगाउँमा सुस्ताएको पर्यटकीय गतिविधीलाई विस्तार गर्नको लागि पछिल्लो समय पसगाउँको कोम्रे डाँडामा शौचालय, खानेपानी तथा विजुली वत्तीको व्यवस्था सहितको पिकनिक स्पटको निर्माण भइसकेको छ । सूर्योदय र सुर्यास्त अवलोकनका लागि पसगाउँको कोम्रेडाँडा, खुमेरा डाँडा, क्यूवी डाँडा, लेदे डाँडा र पले डाँडा प्रसिद्ध रहेका छन् । अझ पनि पर्यटकीय संरचनाहरू निर्माण हुने क्रम जारी रहेको छ ।
महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न गठित उप समितीहरूमा समिति र संयोजकको नाम क्रमशः आर्थिक संकलन– युगदेवी गुरुङ, मञ्च व्यवस्थापन– मखतबहादुर गुरुङ, साँस्कृतिक– रिमबहादुर गुरुङ (गणेश), अतिथि व्यवस्थापन– इन्द्रकुमारी गुरुङ, खानपान व्यवस्थापन– थोकबहादुर गुरुङ, मासु व्यवस्थापन– पदमबहादुर गुरुङ, स्वास्थ्य सेवा– अनिता गुरुङ, कलाकार तथा पत्रकार व्यवस्थापन– मनलाल गुरुङ, खाजा व्यवस्थापन– तलकाशी गुरुङ, परम्परागत भेषभूषा प्रदर्शन– शर्मिला गुरुङ (दिपु) र जन सम्पर्क उप समिति– गोपाल गुरुङ हुनुहुन्छ ।
सो अवसरमा लोकप्रिय गुरुङ तथा दोहोरी कलाकारहरूको बेजोड प्रस्तुती महोत्सवको अर्को आर्कषण रहनेछ । लोकप्रिय कलाकार गोरे गुरुङको साथै ख्याति प्राप्त कलाकारहरू सविना गुरुङ, टसबहादुर गुरुङ, गजेन्द्र गुरुङ, संगीता गुरुङको बेजोड दोहोरी, राजबहादुर गुरुङ, प्रिया गुरुङको गुरुङ गीत एवम् अन्य प्रस्तुतीहरू रहनेछन् । साथै स्थानीय तथा अन्य कलाकारहरूको समेत प्रस्तुती रहनेछ । स्थानीय सांस्कृतिक कार्यक्रम, आमा समूहको नाँच, कृष्ण चरित्र नाच, घाँटु नाँच, सारङ्गी नाँच महोत्सवको अर्को थप आकर्षण रहने अध्यक्ष गुरुङले जानकारी दिनु भयो ।
पहिलो पसगाँउ महोत्सवसँगसगै आन्तरिक पर्यटकहरूको आगमनमा विस्तारै बृद्धि हुदै गईरहेको अवस्थामा देशमा देखा परेको कोभिड– १९ को असहज परिस्थितीको कारणले पर्यटन व्यवसाय पुन ओझेलमा पर्न गयो विज्ञप्तिमा भनिएको छ ।
पसगाउँमा प्रदेश राजधानी पोखरादेखि लमजुङको रामबजार– गिलुङ हुँदै तथा पोखरादेखि थुम्सीकोट हुँदै पुग्न सकिन्छ । त्यस्तै, तनहुँको सदरमुकाम दमौलीबाट लमजुङको भोर्लेटार– गिलुङ हुँदै तथा लमजुङ सदरमुकाम बेसीशहरदेखि क्ब्होलासोंथर गाउँपालिकाको केन्द्र मालिङ, साल्मेभन्ज्याङ हुँदै तथा बेसीशहदेखि घलेगाउँ– भुजुङ हुँदै पसगाउँ पुग्न सकिन्छ ।
प्रकाशित मिति २०८० फाल्गुन १३, आईतवार १२:०० गते