बेसीशहर– लमजुङका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले वन हाम्रो गौरव भएको हुँदा यसलाई डढेलोबाट जोगाउने हामी सबैको कर्तव्य भएको बताउनु भएको छ । उहाँले डिभिजन वन कार्यालय, लमजुङले यहाँ स्थित आफ्नै कार्यालयको सभाहलमा आयोेजना गरेको वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धि गोष्ठीमा कार्यक्रमको अध्यक्षीय मन्तव्य व्यक्त गर्दै फागुन १६ गते त्यस्तो बताउनु भएको हो ।
उहाँले वन क्षेत्र देश विकासका लागि समृद्धिको आधार भएको हुँदा पनि यसको संरक्षण गर्नु हामी सबैको जिम्मेवारी र कर्तव्य हो भन्नुभयो । हिजोआज वन क्षेत्र जोगाउने चुनौती थपिएको उल्लेख गर्दै वातावरणको दिगो विकासका लागि वनको संरक्षण अपरिहार्य छ र त्यस कार्यमा सबै जुटौं भन्नेमा उहाँले जोड दिनुभयो ।
केही नीतिगत र व्यवहारिक कमजोरी र कठिनाईका कारणले आशानुरुप वनको संरक्षण हुन नसकेको स्विकार गर्नु हुँदै प्रजिअ अधिकारीले वन हाम्रो गौरव हो भन्ने सन्देश दिनु आजको आवश्यकता हो भन्नुभयो । यतिबेला पहाडका बस्तिहरूमा मानिसको बसोबास पातलो हुँदै गए पनि वनलाई बाल्को बनाउन सकेमा कुनै दिन फेरि मानवबस्ती बाक्लो हुन सक्ने आशालाई समेत बचाउन सकिन्छ उहाँको तर्क थियो ।
वनका तस्करहरू वनसम्पदा चोर्नेहरूबाट पनि डढेलो लाग्ने गरेको उल्लेख गर्दै उहाँले त्यसतर्र्फ सचेत हुन आवश्यक छ भन्नुभयो । यौटा सिंगो रुख काट्दा जरिवाना तिर्नु परेको अवस्था छ । तर डढेलोले त्यस्ता कति रुख सखाप बनाउँछ– बनाउँछ त्यसैले पनि यस्तो कार्य गर्नु हुँदैन, यस्तो सन्देश गाउँघर बस्तीहरूमा दिन सकौं उहाँले आह्वान गर्नुभयो ।
वन डढेलो लाग्दा वन सम्पदा मात्र नभई वन्यजन्तु समेत नासिने हुँदा त्यसतर्फ सचेत हुन आवश्यक छ प्रजिअ अधिकारीले बताउनु भयो । डढेलो विकासको बाधक हो उहाँले ठोकुवा गर्नु भयो । यसैले वन र नागरिकका बीचमा दोस्ती बढाउन आवश्यक छ उहाँले उल्लेख गर्नुभयो । उहाँले पैसामात्र सबैथोक होइन, यो कार्यक्रमले भोलिका दिनमा प्रकावभाकारी भूमिका निभाउन सकोस् र वातावरण जगेर्ना गर्ने कार्यमा प्रेरणा दिन सकोस् भन्नुभयो ।
सो कार्यक्रम पछि प्रजिअ अधिकारीले जिल्ला स्थित तीनवटै सुरक्षा निकायलाई डढेलो नियन्त्रण गर्न प्रयोगमा आउने विभिन्न छ प्रकारका सामग्रीका केही सेट हस्तान्तरण समेत गर्नु भयो । उहाँलाई सामग्री वितरण कार्यमा डिभिजन वन अधिकृत दिपकप्रसाद पण्डितले सहयोग गर्नु भएको थियो । ती सामग्री एक निकायका लागि ८३ हजार ३८४ रुपैयाँ बराबरका भएको डिभिजन वन अधिकृत दिपकप्रसाद पण्डितले जानकारी दिनुभयो ।
त्यसअघि उक्त कार्यक्रममा डिभिजन वन अधिकृत दिपकप्रसाद पण्डितले रोग लागेपछि उपचार भन्दा रोग लाग्न नदिनु बुद्धिमानी हुने भन्ने सिद्धान्त अनुसार हामी सचेतना कार्यक्रममार्फत डढेलो नै नलागोस् भन्ने प्रयासमा छौं । त्यसका लागि जिल्लाबासी सबैको सहयोग आवश्यक छ भन्नुभयो । २, ४ वटा रुख काटिदा कति हल्ला हुन्छ तर हराजौं संख्यामा डढेलोले सखाप पर्दा पनि हामी मौन बस्छौं, यस्तो कार्य गलत हो उहाँले उल्लेख गर्नुभयो ।
उहाँले आगलागी हुनका लागि मूलतः तीन वस्तुको आवश्यक पर्ने जानकारी दिदै तिनीहरू आगोको स्रोत, अक्सिजन र प्रज्वलनशील वस्तु हुन् भन्ने बताउनु भयो । सो अवसरमा उहाँले त्यस अवसरमा पछिल्ला ११ वर्षका विभिन्न अध्ययनका प्रतिवेदन समेत प्रस्तुत गर्नु भएको थियो ।
उहाँले एक कार्यपत्र प्रस्तुत गर्नु हुँदै वन वर्तमान मानवजीवनका लागि मात्र नभई भावी पुस्ताका लागि पनि आवश्यक भएको हुँदा हामीले वातावरण जोगाउन जरुरी छ र त्यसका लागि डढेलो नियन्त्रण, न्यूनिकारण आवश्यक छ भन्ने विभिन्न उदाहरण सहित प्रस्ट्याउनु भएको थियो । उहाँले जिल्लामा वनको स्थिति, वन जोगाउनका लागि भएका प्रयास, कार्यालयको क्षमता र सेवा केन्द्र तथा सेवा क्षेत्रका बारेमा प्रकाश पार्नु भएको थियो ।
उहाँले वातावरण न्यूनिकरण हुनुमा १७ प्रतिशत भूमिका वन डढेलोको रहेको जानकारी दिदै डढेलो तथा वातावरण जोगाउने कार्य विश्वव्यापी मुद्दा बनेको बताउनुभयो । नेपालमा ७५ प्रकारका प्राकृतिक वनस्पति फेला परेको उहाँले जानकारी दिनुभयो ।
नेपाल जैविक विधितायुक्त देशका हिसावले विश्वमै २५ औं स्थानमा रहेको र यो पनि गौरवको विषय हो भन्ने जानकारी दिनुभयो । नेपालमा ४५ प्रतिशत भूभाव ग्रिन पार्क रहेको उल्लेख गर्दै लमजुङमा त्यो प्रतिशत झनै बढी ५५ प्रतिशत रहेको जानकारी डिभिजन वन अधिकृत दिपकप्रसाद पण्डितले दिनुभएको थियो । उहाँले जिल्लामा सबैभन्दा बढी डढेलो लाग्ने मौसम चैत १५ गतेदेखि बैशाख १५ गतेसम्म भएको जानकारी दिनु भएको थियो ।
सो अवसरमा प्रजिअ अधिकारीले डिजिटल सूचना बोर्डको स्विच थिचेर उदघाटन गर्नु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन सोही कार्यालयका सूचना अधिकारी सन्तोष खनालले गर्नु भएको थियो ।
स्मरणीय छ, वन डढेलो नियन्त्रणका लागि चालु आव– २०८०/८१को अवधिमा जम्मा सात लाख रुपैयाँ विनियोजन भएको जानकारी गर्दै एफएम रेडियोबाट सचेतनाका कार्यक्रम गरेको तर छापामाध्यम र अनलाइनका लागि बजेट नआएकोले सूचना दिन नसकेको उल्लेख गर्नु भएको थियो । यसप्रकार सञ्चारमाध्यमप्रति विभेद गरिएको भने सम्बद्ध पत्रकारहरूले आपत्ती व्यक्त गरेका छन् । विज्ञापन रेडियोलाई मात्र दिने भएपछि कार्यक्रममा र समाचार पनि उनीहरूलाई मात्रै दिए भैगो नि ! उनीहरूको तर्क छ ।
प्रकाशित मिति २०८० फाल्गुन १६, बुधबार १९:३५ गते