सरकारको सहभागिताबारे रास्वपामा उठ्यो प्रश्न : सभापति रवि र उपसभापति स्वर्णिमद्वारा जवाफ

सरकारको सहभागिताबारे रास्वपामा उठ्यो प्रश्न : सभापति रवि र उपसभापति स्वर्णिमद्वारा जवाफ

अन्तरङ्ग न्युज

@antaranganews

२०८० फाल्गुण २९ गते मङ्गलबार ०७:४७

उपसभापति वाग्लेले कुटनीतिक शैलीमा जवाफ दिनु भएको थियो । उहाँले पार्टी सरकारमा सहभागी हुनको कारण सुनाउँदै भन्नुभयो, ‘त्रिशंकु संसदमा हामी निर्णायक शक्ति हौं । अहिले नयाँ गठबन्धन बन्दा हामी निर्णायक छौँ । चेस खेल्न बसिसकेपछि गोटी नचाल्ने भन्ने हुँदैन ।’

बैठकमा केही केन्द्रीय सदस्यले सरकारमा जानु नै गलत भएको बताए पनि अधिकांश सदस्यहरूले राम्रो काम गरेर देखाउनुपर्नेमा जोड दिए ।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्ता साझेदार बन्दै सरकारमा सामेल भएकोबारे प्रश्न उठेको छ । पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा फागुन २८ गते सरकारमा सामेल भएकोबारे प्रमुख एजेण्डा बन्यो ।
नयाँ समीकरण बन्दा एक वर्षपछि सभापति रवि लामिछानेको नेतृत्वमा रास्वपा फेरि प्रचण्डको सरकारमा सहभागी भएको छ । कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर फागुन २१ मा एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादीसहितको नयाँ समीकरण बनेको छ ।
सरकारको सहभागिता, प्रक्रिया र मन्त्री छनोटका विषयमा केन्द्रीय सदस्यले बैठकमा प्रश्न उठाएका थिए । बैठकमा अधिकांश नेताहरूले सरकारको सहभागिताबारे पार्टीमा पर्याप्त छलफल नभएको गुनासो गरेको केन्द्रीय सदस्य गणेश कार्कीले बताउनु भयो । उहाँका अनुसार निर्णय प्रक्रियामा हामी लोकतान्त्रिक बनौँ । उहाँले भन्नुभयो, रास्वपा सरकारमा गएको आफूले समाचारमार्फत थाहा पाएँ, हाम्रो पार्टीको चुनाव अगाडिका हाम्रा रणनीति, हामीबाट सार्वजनिक भएका विचार र व्यक्तव्यहरू, हाम्रा वाचापत्र र केही अगाडिसम्म पनि अब यिनीहरूलाई बोक्दैनौँ भनेको थियौँ । अहिले उनीहरू नै किन बोक्नुपर्यो ?’
कार्कीले थप प्रश्न गर्दै भन्नुभयो, पार्टीले ‘रोक्ने भनिएकाहरूलाई नै बोक्ने कित्ता’मा समाहित हुन त्यस्तो के बाध्यताले ‘रोक्ने भनिएकाहरूलाई नै बोक्ने’ कित्तामा समाहित नभई जनमुखी काम गर्नै सकिन्न भन्ने निष्कर्षमा पुगियो ? यो प्रश्नको जवाफ मसँग छैन ।’ प्रचण्ड नेतृत्वमा कांग्रेस हटाएर एमाले हुँदैमा केही फरक नपर्ने कार्कीको तर्क थियो । ‘पुरानाकै नेतृत्वमा सरकार बन्दा कुन आशाको सञ्चार हुन्छ ? यो नखोजी एमालेसँग अँगालो हाल्दै किन बालुवाटार गयौँ ?, मन्त्री नभई केही गर्नै नसकिने भाष्य निर्माण गर्ने खोजेको हो ।’ उहाँले भन्नुभयो ।
बैठकमा सरकारको सहभागिता र प्रधानमन्त्रीको विश्वासको मतबारे छलफल भएको रास्वपाका उपसभापतिसमेत रहेका श्रममन्त्री डिपी अर्यालले बताउनु भएको छ । भोलि फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।
मन्त्रिमण्डल समावेशी नभएको गुनासो गर्दै रास्वपा केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले भन्नुभयो, ‘हामी सहभागी यत्रो मन्त्री मण्डलमा एक जना पनि दलित नहुनु विडम्बना भयो । जे भइरहेको छ गलत भइरहेको छ ।’ उहाँका अनुसार पछाडि परेको समुदायलाई यसरी अनदेखा गर्नु राजनीतिक रुपमा ठूलो त्रुटी भएको छ । ‘नेतृत्वले समावेशितालाई किन अनदेखा ग¥यो ?,’ उहाँको प्रश्न थियो ।
बैठकमा केन्द्रीय सदस्य रमेश प्रसाईँले पनि सरकारमा सहभागी हुँदा राम्रो सन्देश नगएको प्रतिक्रिया दिनु भएको थियो । उहाँका अनुसार अहिले हामी सरकारमा सहभागी हुँदा राम्रो सन्देश गएको छैन । उहाँलेभन्नुभयो, ‘हामी गलत समयमा सरकारमा गयौँ । हामी सरकारमा सहभागी भएको हाम्रो शुभचिन्तकलाई चित्त बुझेको छैन ।’
बैठकमा केही केन्द्रीय सदस्यले सरकारमा जानु नै गलत भएको बताए पनि अधिकांश सदस्यहरूले राम्रो काम गरेर देखाउनुपर्नेमा जोड दिएका थिए ।
केन्द्रीय सदस्यले उठाएका सो सम्बन्धि प्रश्नको जवाफ सभापति रवि र उपसभापति स्वर्णिमले दिनु भएको थियो । सभापति रविले पार्टीभित्र र बाहिरी उठेका प्रश्नको जवाफ कामबाटै दिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘सरकारमा सहभागी हुनेबारे तपाईँले सन्देह राख्ने कुरा ठिकै छ । सबै कुराको जवाफ काममार्फत दिन्छौँ ।’
मन्त्री छनोटमा विषय विज्ञतालाई प्राथमिकता दिँदा समावेशिता छुटेको रविको स्वीकारोक्ति थियो । उहाँले भन्नुभयो, ‘मान्छे हेरेर मन्त्रालय होइन मन्त्रालय हेरेर मान्छे छानिएको हो । सबैलाई स्वीकार्य मान्छेलाई नै मन्त्री छानिएको छ ।’
यसैगरी, उपसभापति वाग्लेले कुटनीतिक शैलीमा जवाफ दिनु भएको थियो । उहाँले पार्टी सरकारमा सहभागी हुनको कारण सुनाउँदै भन्नुभयो, ‘त्रिशंकु संसदमा हामी निर्णायक शक्ति हौं । अहिले नयाँ गठबन्धन बन्दा हामी निर्णायक छौँ । चेस खेल्न बसिसकेपछि गोटी नचाल्ने भन्ने हुँदैन ।’
२०८४ सालको चुनावलाई मिसन बनाएको दलले त्यसअघि केही काम गरेर सन्देश दिनुपर्ने भएकाले सरकारमा गएको उहाँको तर्क थियो ।
सरकारमा साझेदार भएको विषयलाई केन्द्रीय कमिटी बैठकले स्वागत गरेको भन्दै सबैले सहयोग गर्ने र सफल बनाउन सिंगो केन्द्रीय समिति लाग्ने निर्णय भएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालय र पार्टीबिचको पुलका रुपमा काम गर्न एउटा संयन्त्र बनाउने निर्णय भएको छ । उहाँले भन्नुभयो, ‘बैठकले सरकारको कामबारे समीक्षा गर्न हरेक हप्ता पार्टीका उपसभापति वाग्ले र महामन्त्री मुकुल ढकाललाई जिम्मेवारी तोकेको छ ।’
महामन्त्री मुकुल ढकाललृ भन्नुभयो, ‘सरकारमा सहभागी हुने निर्णयलाई अनुमोदन गर्दै पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई सहयोग गर्दै यस ऐतिहासिक अवसरलाई आवश्यक योगदान र समन्वय गर्ने निर्णय गरेको छ ।’

प्रकाशित मिति २०८० फाल्गुन २९, मंगलवार ०७:४७ गते
हजुरको प्रतिक्रिया