ठाडोभाका प्रतिष्ठानले असल आमा– बाबालाई सम्मान गर्दै थाल्यो ऐतिहासिक कार्य

ठाडोभाका प्रतिष्ठानले असल आमा– बाबालाई सम्मान गर्दै थाल्यो ऐतिहासिक कार्य

अन्तरङ्ग न्युज

@antaranganews

२०८० फाल्गुण २९ गते मङ्गलबार १०:२२

कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य एवम् प्रतिष्ठानका सल्लाहकार जमिन्द्रमान घलेले एक लेखकको भनाइ स्मरण गर्दै भन्नुभयो, ‘मानिस ठूलो हुन सकिन्छ तर असल हुन गाह्रो छ ।’ त्यसैले सम्मानित हुनुहुने दम्पतीहरू सबै क्षेत्रमा ‘आहा !’ भन्ने हुन सक्नु पर्छ र यो कार्य हामी सबै आमा– बाबाका लागि सन्देश हो, हामी असल बन्न सकौं, केही सिकौं र जीवनलाईं रुपान्तरण गरौं उहाँले भन्नुभयो ।

मौलिकपन भएन भने समृद्धि भएर पनि जीवन सुन्दर नहुन सक्छ । सुन्दरजीवनका लागि मौलिक लोककला संस्कृतिको संरक्षण आवश्यक छ : घले

बहुनडाँडा(लमजुङ)– ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङले अर्को एक ऐतिहासिक कार्य गरेको छ । मर्स्याङ्दी गाउँपालिका– ६ को यहाँस्थित चन्द्रोदय माविको हातामा ‘असल आमा– बाबा सम्मान’ कार्यक्रम गरी सो कार्य फागुन २९ गते गरेको हो ।
संविधानसभाका सदस्य एवम् प्रतिष्ठानका सल्लाहकार जमिन्द्रमान घलेको प्रमुख आतिथ्यता एवम् सोही गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको विशेष आतिथ्यतामा उक्त कार्यक्रम गरिएको हो । दीप प्रज्वलन गरी प्रमुख अतिथि घलेले उक्त कार्यक्रमको उदघाटन गर्नु भएको थियो । उहाँले यो कार्यक्रमले हामी सबैलाई असल बन्नका लागि थप प्रेरित गरेको बताउनु भयो । उहाँले एक लेखकको भनाइ स्मरण गर्दै भन्नुभयो, ‘मानिस ठूलो हुन सकिन्छ तर असल हुन गाह्रो छ ।’ त्यसैले सम्मानित हुनुहुने दम्पतीहरू सबै क्षेत्रमा ‘आहा !’ भन्ने हुन सक्नु पर्छ र यो कार्य हामी सबै आमा– बाबाका लागि सन्देश हो, हामी असल बन्न सकौं, केही सिकौं र जीवनलाईं रुपान्तरण गरौं उहाँले भन्नुभयो । उहाँले पहिचान गुमेको खण्डमा आफ्नोपन समेत गुम्छ भन्ने प्रतिष्ठानका अध्यक्ष पहाडीको मतसँग सहमत छु भन्दै पछिल्ला वर्षमा पहिचान गुम्ने खतरा छ । त्यसतर्फ सबैको ध्यान जाओस् भन्ने उहाँले आग्रह गर्नुभयो । लोकसंस्कृति भनेकै मौलिकता हो र त्यसमध्येको ठाडोभाका लमजुङको मात्र नभई गण्डकी प्रदेशकै पहिचानसँग जोडिएको कला हो यसको गीत, नाच, बाध्यवादनमा आफ्नैपन छ । यसको संरक्षण हुनु आवश्यक छ । प्रतिष्ठानको प्रवद्र्धन र विकास कार्यमा लाग्नु हुने सबैलाई बधाई दिन चाहन्छु भन्नुभयो ।
प्रतिष्ठानले राम्रा काम गरिरहेको र यो मूलतः अध्यक्ष पहाडी गतिशीलताको पर्याय भएकोले आजको उपलब्धि सम्भव भएको हो भन्नुभयो । म पनि यो प्रतिष्ठानको स्थापना कालदेखिनै जोडिएको छु सबै मिलेर यो भाकालाई बचाउनु पर्छ र यसमा स्थानीय सरकारले पनि धेरथोर बजेटको प्रवन्ध गरी सघाउनु पर्छ उहाँले भन्नुभयो । उहाँले मौलिकपन भएन भने समृद्धि भएर पनि जीवन सुन्दर नहुन सक्छ । सुन्दरजीवनका लागि मौलिक लोककला संस्कृतिको संरक्षण आवश्यक छ हामी सबै यस कार्यमा जुटौं भन्ने आह्वान गर्न चाहुन्छ घलेले भन्नुभयो ।
यसैगरी, कार्यक्रमका विशेष अतिथि मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले प्रतिष्ठानबाट सराहनीय कार्य भएको बताउनु भयो । यस कार्यक्रमले सबैलाई असल बन्न प्रेरित गरेको छ । मौलिक लोककला संस्कृतिको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण गर्न आवश्यक छ । हरेक जातिको आ– आफ्नो मौलिक लोकसंस्कृति छ, त्यसको समेत संरक्षण हुनुपर्छ र त्यसका लागि अग्रजपुस्ताले काम गर्नु पर्छ उहाँले जोड दिनुभयो । उहाँले प्रतिष्ठानले विभिन्न रचनात्मक कार्य गरिआएको र त्यस्ता कतिपय कार्यक्रममा गाउँपालिकाले सहकार्य गरेको समेत स्मरण गर्नुभयो । उहाँले प्रतिष्ठानले आउँदा दिनमा थप रचनात्मक कार्यहरू गरोस् भन्ने सुभेच्छा व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा सोही वडाका अध्यक्ष मीनराशी गुरुङले कार्यक्रम राम्रो रहेको र आफ्नो वडा छनौटमा परेकोमा खुशी व्यक्त गर्नु भयो । उहाँले गुनासो शैलीमा यसअघि आयोजित भएको यस्तै कार्यक्रममा नाच्न पाएको थिइनँ तर आज भने नाच्न पाएँ, यस्ता कार्यक्रम गर्दा हामी जनप्रतिनिधिसँग सहकार्य गरेमा थप जनहभागिता जुट्ने थियो यसतर्फ ध्यान दिन आयोजकलाई आग्रह गर्दछु उहाँले भन्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले सञ्चालन गर्ने क्रममा कार्यक्रमको उद्देश्यमा प्रकाश पार्दै गुनासाको समेत जवाफ दिनु भएको थियो । पहाडीले प्रतिष्ठानका गतिविधिको संक्षिप्त जानकारी दिदै असल आमा– बाबा सम्मान सहितको तीन वटा पुरस्कारको अक्षयकोष सहित सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले आजको सम्मानको यसै समारोहका अध्यक्ष एवम् प्रतिष्ठानका संरक्षक तथा ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ हुनुहुन्छ । प्रतिष्ठानले उहाँबाट लोककलाका क्षेत्रमा गर्नु भएको योगदानको कदर गर्दै उहाँलाई ‘ठाडोभाका महानायक’को उपधिबाट सम्मान गरेको छ । उहाँसँग संगीतका तीनै विधा ‘गायन, नाच र बाध्यवादन’ समेतको क्षमता रहेको र यस्तो प्रतीभा अर्को नदेखिएका कारणले उहाँलाई उक्त सम्मान गरिएको पहाडीले भन्नुभयो ।
सोही सम्मान ग्रहण गरेपछि त्यसै दिनमा उहाँले यो पुरस्कारको स्थापना गर्नु भई पुरस्कारको स्थायित्वका लागि एक लाख अक्षयकोष समेतको प्रवन्ध गरिदिनु भएको छ । यो पुरस्कार गत वर्षनै वितरण गर्नु पर्ने थियो तर प्रविधिक कारणले वितरण गर्न सकिएन र यो वर्षबाट थालिएको छ र अब हरेक वर्ष यसरी सम्बन्धित विद्यालयमा पुगेर यो कार्यलाई निरन्तरता दिइने छ पहाडीले भन्नुभयो ।
यो कार्य गर्दा कतिलाई लाग्दो हो यिनीहरू कति पैसा खाएर आएका छन्, त्यो होइन, हाम्रो प्रतिष्ठान मुनाफा रहित संस्था हो र हामी स्वयम्सेवी हौं, प्रतिष्ठानका कार्य आफूहरूले स्वयम्सेवी रुपमा गरेका हौं त्यसैले यो कुनै ठेक्काको काम होइन यसको दायित्व हामी सबैको हो भन्नुभयो ।
स्थानीय तहको एक प्रतिशत बजेट कला संस्कृति साहित्यको उत्थानका लागि विनियोजन गर्ने नीतिगत प्रवन्ध गरिने पर्ने माग :
अर्को एक प्रसङ्गमा प्रतिष्ठानका अध्यक्ष पहाडीले हामी स्थानीय निकायसँग सहकार्य गर्न चाहन्छौं तर कतिपय स्थानीय तहले असहयोग गर्ने गरेको तीतो अनुभव आफूसँग रहेको सुनाउँदै सिंहदरबार गाउँघरमा आयो भनिन्छ, तर त्यस्तो अनुभूति लोककला संस्कृति, साहित्यको क्षेत्रमा काम गर्ने आफूहरूले अनुभूति गर्न नपाएको बताउँदै हामीहरूले अझै कतिदिन टुहुरो भएर रहनु पर्ने हो ? राज्य लोककला संस्कृति, साहित्यका क्षेत्रमा काम गर्नेहरूको अभिभावक बन्नु पर्दैन ? त्यस्तो हुन किन सकेको छैन ? के भौतिक निर्माण मात्र विकास हो ? उहाँले प्रश्न गर्नु भएको थियो । उहाँले यिनै स्थानीय तह हुन् जसले खेलकुदको क्षेत्रमा कतिको बजेट खर्चिने गरेको छन् ? खेलकुदको क्षेत्रलाई लगानी गर्नु हुँदैन भन्ने हाम्रो धारणा होइन तर योगदानको हिसावले दुबैको समान देखिन्छ भने बजेट विनियोजन पनि समान हुनु पर्दैन ? उहाँले उल्लेख गर्नुभयो । यसैकारणले स्थानीय तहको कुल बजेटको कम्तिमा एक प्रतिशत बजेट कला, संस्कृति, साहित्यका क्षेत्रमा विनियोजन गर्ने ‘नीतिगत प्रवन्ध गरिनु पर्ने माग’ प्रतिष्ठानको रहेको उहाँले फेरि दोहोर्याउनु भयो । कोही ठाडोभाकाको प्रशिक्षण वा प्रतियोगिताका आयोजक बन्दछन् भने आफुहरूले प्राविधिक सहयोग गर्ने गरेको र यहाँ पनि त्यस्ता कार्यक्रम गरिए सहयोगका लागि तयार रहेको उल्लेख गर्नुभयो । उहाँले ठाडोभाका मौलिकपन भएको कला हो त्यसैले यस भाकाको मौलिकपन मर्न नदिनका लागि जसरी घुमे पनि नाच हुने तथा जसरी मादल ठोक्दा पनि बाध्यवादन हुँदैन भन्ने आफ्नो प्रष्ट धारणा रहेको बताउनु भयो ।
सो कार्यक्रममा उत्तरी लमजुङ सेवा समाजका अध्यक्ष मणिप्रसाद गुरुङले ठाडोभाका सुन्दा गौरववोध हुने गरेको भन्दै शुभकामना व्यक्त गर्नु भएको कार्यक्रममा सम्मानित आमा गंगा घिमिरेले आफूलाई सम्मान गरेको थप हौसला प्राप्त भएको बताउनुभयो ।
सोही माविका प्रधानाध्यापक ढुण्डीराज घिमिरेले स्वागत गर्नु हुँदै असल आमा बाबा छनौटमा केही साता अघि आयोजक प्रतिष्ठानबाट फोन आएको बताउँदै आफ्नो विद्यालय छनौट भएकोमा खुशी लागेको बताउनु भएको थियो । सो कार्यक्रममा विद्यार्थीहरू विनिता विक र जोया परियार, सुरञ्जना अधिकारी र सुजाता नेपाली, आकाश परियार तथा शिक्षक द्वय सूर्यकान्त घिमिरे र केदारनाथ घिमिरेले आ–आफ्ना कविता वाचन गर्नु भएको थियो ।
उक्त अवसरमा सोही विद्यालयका शिक्षक श्रीमान् गुरुङले ठाडोभाका गाउनु भएको थियो भने प्रतिष्ठानका कार्यकारी सदस्य एवम् ८२ वर्षीय तन्नेरी अमरध्वज गुरुङ र मीना गुरुङ तथा बुद्धिमान दुरा धम्पु र उपाध्यक्ष सीता दुराले ठाडोभाका गाएर मनोरञ्जन प्रदान गर्नु भएको थियो ।

प्रकाशित मिति २०८० फाल्गुन २९, मंगलवार २२:२२ गते
हजुरको प्रतिक्रिया