भारतमा विवादका बीच संशोधित नागरिकता ऐन लागू

भारतमा विवादका बीच  संशोधित नागरिकता ऐन लागू

एजेन्सी

@antaranganews

२०८० फाल्गुण ३० गते बुधबार ०५:४३

सन् २०१९ मा अघि बढेको नागरिकता ऐन संशोधनअघि कुनै पनि व्यक्तिले भारतीय नागरिकता पाउन कम्तीमा ११ वर्ष भारतमा बस्नुपर्ने प्रावधान थियो । अहिले त्यो घटाएर ६ वर्ष गरिएको छ ।

चुनाव नजिकिँदै गर्दा मुस्लिम विरोधी नियम तयार गरेर प्रधानमन्त्री नरेन्द्र मोदीले भोट बढाउने गलत प्रयास गरेको भन्दै आलोचना

नयाँ दिल्ली– भारत सरकारले चार वर्ष पहिले संसदले पारित गरेको विवादास्पद नागरिकता (संशोधन) ऐन, २०१९ (सिएए) लागू गरेको छ । भारतको गृह मन्त्रालयले यस सम्बन्धमा आधिकारिक सूचना जारी गरेसँगै फागुन २९ गते त्यस्तो खुलासा भएको हो ।
भारतको केन्द्र सरकारले ऐनको नियमसम्बन्धी अधिसूचना जारी गरेको छ । योसँगै कानुन लागू भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो पटक पनि प्रधानमन्त्री बन्ने दाउ गरिरहँदा निर्वाचन सुरु हुनु केही हप्ता अघि यो कानुन लागू भएको हो ।
सो कानुन अनुसार सन् २०१४ को डिसेम्बर १४ अघि मुस्लिम बाहुल्यता भएका पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानबाट धार्मिक उत्पीडनका कारण भारत आएका अल्पसङ्ख्यक हिन्दु, सिख, बौद्ध, जैन, पारसी र इसाई समुदायलाई नागरिकता दिइनेछ । यो कानुन सन् २०१९ को डिसेम्बरमै पारित भएको थियो ।
सिएएअन्तर्गत नागरिकता प्राप्त गर्न चाहनेहरूले यसको लागि वेब पोर्टलमार्फत अनलाइन आवेदन गर्नुपर्नेछ । डिसेम्बर २०१९ मा सिएए पारित भएपछि देशका धेरै भागहरूमा बसोवास गर्ने मुस्लिम समुदायका मानिसहरूले मुख्यतः दिल्लीमा व्यापक विरोध प्रदर्शन भएको थियो । कयौँ दिनसम्म हिन्दु र मुस्लिमबिच भएको झडपमा कम्तीमा ५३ जनाको मृत्यु भएको थियो भने २०० भन्दा धेरै घाइते भएका थिए ।
हिन्दुवादी सरकारले हिन्दु मतदाताहरूको मत बटुल्न प्रवासी हिन्दुका लागि भारतमा आएर बस्न सजिलो बनाउन खोजेको भन्दै विरोध पनि भइरहेका छन् । कानुन भारतका २० करोड मुस्लिमलाई भेदभाव गरेको अधिकारवादी समूह र मुस्लिम संघसंगठनहरूले बताउँदै आएका छन् ।
सन् २०१९ मा अघि बढेको नागरिकता ऐन संशोधनअघि कुनै पनि व्यक्तिले भारतीय नागरिकता पाउन कम्तीमा ११ वर्ष भारतमा बस्नुपर्ने प्रावधान थियो । अहिले त्यो घटाएर ६ वर्ष गरिएको छ ।
भारतको आसाम, मेघालय, मणिपुर, मिजोरम, त्रिपुरा, नागाल्याण्ड र अरुणाञ्चल प्रदेशमा यो संशोधनको विरोध भइरहेको छ । त्यहाँ छिमेकी मुलुक बंगलादेशबाट ठूलो संख्यामा मुस्लिम र हिन्दुहरू अवैध रूपमा आएर बसोबास गर्ने गरेका कारण त्यहाँ विरोध भइरहेको बीबीसी हिन्दीको भनाइ छ ।
चुनाव नजिकिँदै गर्दा मुस्लिम विरोधी नियम तयार गरेर प्रधानमन्त्री नरेन्द्र मोदीले भोट बढाउने गलत प्रयास गरेको भन्दै आलोचना भइरहेको छ । तर नयाँ नियमले श्रीलंकाबाट आएका तमिल शरणार्थीहरु र म्यानमारबाट आएका रोहिंग्या मुस्लिम शरणार्थीहरूलाई नागरिकता दिने कल्पना गरेको छैन ।
आम चुनावको मिति घोषणा हुनु केही दिनअघि सो कानुन जारी भएको हो । मिति घोषणा हुन बाँकी रहे पनि अप्रिल–मेमा निर्वाचन हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति २०८० फाल्गुन ३०, बुधबार ०५:४३ गते
हजुरको प्रतिक्रिया