
बेसीशहर– राष्ट्रिय भूमि आयोग जिल्ला समिति लमजुङका अध्यक्ष दामोदर अधिकारीले आयोगको केन्द्रले असहयोग गरेका कारण आयोगको जिल्ला समितिले आशातित उपलब्धि गर्न नसकेको बताउनु भएको छ । आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उहाँले चैत १ गते त्यस्तो बताउनु भएको हो ।
राष्ट्रिय भूमि आयोगको केन्द्रले यस जिल्लामा न एक जना अमिन पठायो न त कार्यालय सहायक नै दियो । न त फिल्डमा जानका लागि यातायातको साधन न पर्याप्त इन्धन नै दियो, हात खुट्टा बाँधेर काम गर भनेर हुन्छ ? भन्ने प्रतिप्रश्न गर्नु हुँदै तर पनि आफूहरूले आफ्नो पदीय जिम्मेवारीलाई उपलब्धिपूर्ण बनाउन सक्दो पहल गरेको उल्लेख गर्नु भयो ।
अध्यक्ष अधिकारीले लमजुङमा रहेका आठ पालिकामध्ये तीन पालिका दूधपोखरी गाउँपालिकाको काम सबै पुरा भएको, सुन्दरबजार नगरपालिकाका २३ जनलाई जग्गाको प्रवन्ध गरी लालपूर्जा वितरण गरेको, १० जनाले विधि पूरा गरेमा तत्कालै लालपूर्जा दिन सकिने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी, राइनास नगरपालिकामा ७३ जना भूमिहिनका लागि कित्ता काट गर्ने चरणमा पुगेको उहाँको भनाइ छ ।
मर्स्याङदी गाउँपलिकामा ६८ जनाको मालमोतमा मठ भिडाउन बाँकी रहेको, मध्यनेपाल नगरपालिकामा ३७ जनाको पनि मालमोतमा मठ भिडाउने काम बाँकी छ भने जिल्ला सदरमुकाम रहेको बेसीशहर नगरपालिका र क्ब्होलासोथर गाउँपालिकाको काम बाँकी रहेको अधिकारीले जानकारी दिनुभयो । उहाँले यी दुई पालिकामा २५ प्रतिशत, दोर्दी र मर्स्याङदी गाउँपालिकामा ३० प्रतिशत काम भएको छ भने राइनास नगरपालिकामा ८० प्रतिशत, सुन्दरबजार नगरपालिकामा ९० प्रतिशत र दूधपोखरीमा सत प्रतिशत प्रगति हासिल गरेको उहाँले उल्लेख गर्नुभयो ।
आयोगको केन्द्रले छ सय जना कर्मचारी नियुक्ति गर्दा पनि लमजुङले एक जना पनि कर्मचारी पाएन तर पनि यतिको काम हामीले गर्यौं । एकजना अमिन र एक जना कार्यालय सहायक पाएको भए धेरै उपलब्धि हुन्थ्यो उहाँले गुनासो शैलीमा भन्नुभयो ।
सो अवसरमा आयोगका विज्ञ सदस्य ऋषिकेश घिमिरेले अपवाद पालिका प्रमुख बाहेक धेरैबाट असहयोग भएको गुनारो गर्नु भयो । उहाँले पालिकाहरूले वडा र पालिका सहजिकरण समितिको बैठक बसेर भूमिहीन र अव्यवस्थित बसोबासीहरूको सिफारिस गर्नु पर्ने हो तर त्यसो नगरी जति जनाले सुकुम्वासी वा अव्यवस्थित बसोबासी हौं भनेर फर्म भरे जस्ताको तस्तै आयोगमा पठाउने काम पालिकाबाट भएको हुँदा पनि काममा विलम्ब हुन गएको हो भन्नुभयो । उहाँका अनुसार भूमि आयोगको कार्यविधिको अध्ययन नै नगरी पालिकाहरूले हचुवाका भरमा सिफारिस गर्ने, त कतिले सिफारिस नै अड्काएर राख्ने गरेका कारणले आशातित उपलब्धि हासिल गर्न नसकेको हो । यस्तो स्थितिमा हामीले गरेको कामलाई अन्यथा भन्न मिल्ने अवस्था छैन उहाँको दावी थियो ।
सो अवसरमा आयोगका सदस्य सचिव विनोद श्रेष्ठले यो प्रगति आयोगको वर्तमान जिल्ला समितिले दुई वर्षे कार्यकालको अवधिमा भएको जानकारी दिनुभयो ।
उक्त पत्रकार सम्मेलनमा आयोगका सदस्यद्वय राजेन्द्र अधिकारी र शोभा थापा समेत सहभागी हुनुहुन्थ्यो ।
स्मरणीय छ, लमजुङमा राष्ट्रिय भूमि आयोग, जिल्ला समितिका अध्यक्ष अधिकारीले २०७८ को पुस २३ गते नियुक्त हुनु भएको हो भने समितिले चैत २ गतेमात्र पूर्णता पाएको थियो ।
प्रकाशित मिति २०८० चैत्र २, शुक्रबार १०:०८ गते