दाङ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका पूर्वमहामन्त्री स्वर्गीय खुमबहादुर खड्कालाई तत्कालीन अवस्थामा झुटो मुद्दा लगाएर फसाउन खोजिएको दावी गर्नु भएको छ । यहाँ स्थित लमही नगरपालिका– ९ अमिलियामा खड्काको पूर्ण कदको सालिक अनावरण गर्दै देउवाले देशका लागि काम गर्न खोज्दा खड्कामाथि झुटो मुद्दा लगाएर फसाउन खोजिएको चैत १६ गते बताउनु भएको हो ।
देउवाले स्वर्गीय नेता खड्का विकासप्रेमी, मिलनसार र जनताले रुचाएका नेता भएको समेत दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘खुमबहादुरलाई झुटा आरोप लगाएर फसाउन खोजियो र फसाए पनि तर उहाँको व्यक्तित्वमा कुनै असर परेन । उहाँको हाईट झन्झन बढ्दै गयो, उहाँ राष्ट्रको सपुत हो । त्यस्ता व्यक्तिलाई मुद्दा लाग्दैमा आश्चर्य मान्नुहुदैन हामीले । त्यसकारण मुद्दाको कुरा हाम्ले उठाउने कुरा छैन् । उहाँ त्यस्तो व्यक्तिको हो, गरेर नथाक्ने, ठूलो अडान भएको व्यक्ति हो, साथिहरूका लागि समर्पीत व्यक्ति हो, साथीको लागि ज्यान दिन सक्ने, ठूलो कष्ट सहन सक्ने व्यक्ति हुनुहुन्थ्यो ।
खड्का जनताको हितका लागि जस्तोसुकै कदम उठाउन पनि पछि नपर्ने व्यक्ति भएको भन्दै देउवाले खड्का एक असल नेता भएको जिकिर गर्दै प्रजातन्त्रका बेला दुई जनासँगै जेल परेको स्मरण गर्नु भयोे । उहाँले भन्नुभयो, ‘साथी माझ मात्रै होइन, जनता माझ पनि लोकप्रिय हुनुहुन्थ्यो । सहयोगी व्यक्ति हुनुहुन्थ्यो, त्यस्तो व्यक्तिको बारेमा कुरा गरेर साध्य हुदैन । उहाँले छोडेर गएका कामहरू हामीले पूरा गर्नुपर्छ ।’
पार्टीकी उपमहासचिव डिना उपाध्याय संग्रौलाले काठमाडौंमा हुँदा नै नेता खड्कालाई राप्तीको नेता भनेर चिनेको बताउनु भयो । उहाँकै कारण दाङमा कांग्रेसको संगठन निर्माण भएको समेत उहाँको दावी थियो ।
केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले स्व. खुमबहादुरलाई पार्टी भित्र मिस युज गरिएको जिकिर गर्नुभयो ।
घिमिरेले भन्नुभयो, ‘एक असल नेताको छवि सिध्याएर राजनीतिक रोटी सेक्ने काम भयो, उहाँको सम्पत्ति त्यतिखेरै १९ बिगाहा हाराहारी थियो र उहाँलाई एक करोड भन्दा कम रुपैयाँमा राजनीतिक पूर्वाहका कारण भ्रष्टचारी करार गर्ने अन्याय भएकै हो ।’
खड्का कांग्रेसको पूर्वमहामन्त्री हुनुको साथै पटक–पटक मन्त्री हुँदा पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा खड्का जेलसम्म पुगे । उनका विरुद्ध ०५८ मा विशेष अदालतमा मुद्दा परेको थियो ।
वैधानिक रूपमा कमाएको सम्पत्ति र अन्य सम्पत्तिको अन्तरलाई अस्वाभाविक भन्दै सर्वोच्चले दोषी ठहर गरेको थियो ।
सर्वोच्चले खड्कालाई डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १ सय बिगो र त्यति नै जरिवानाको फैसला सुनायो । २०७० मा जेलमुक्त भएका थिए ।
अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले सफाइ दियो तर सर्वोच्चबाट खड्का दोषी ठहर भएर र उनका विरुद्ध २ करोड ३६ लाख सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियारले सर्वोच्चमा ०६३ चैतमा पुनरावेदन गरेको थियो ।
स्मरणीय छ, स्व. खड्काको भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा २०७४ साल चैत १६ गते निधन भएको थियो ।
प्रकाशित मिति २०८० चैत्र १६, शुक्रबार २०:४४ गते