बेसीशहर– लमजुङको जिल्ला सदरमुकामको यहाँ स्थित कालिका बचत तथा ऋण सहकारी संस्थाका पीडक सञ्चालकहरूले पीडितहरूलाई न्याय दिनभन्दा झनै धम्क्याउने, तर्साउने गर्र्दै ‘घुडाको औषधि नाइटो’मा लगाएर उपचार खोज्ने ध्याउन्नमा लागेको यस अघि पनि सुनिदै आएको विषयले यतिबेला भने पुष्टि भएको पाइएको छ । त्यस काण्डका नायक सो सहकारीका प्रमुख प्रशासकीय अधिकृत रहेका वेदराज खनियाले गरेको व्यवहार चैत १८ गते उदाङ्गो भएसँगै खुलासा भएको हो ।
यतिबेला पीडित बचत तथा शेयर सदस्यहरू हरेकलाई भेट्दै आफूहरूले जिल्ला अदालतमा राखेको ‘धरौटी तिमीलाई दिन्छौं, ऐले पैसा पाएँ भनेर सही गरिदेऊ’ भन्दै आएका छन् । अचारजस्तो त्यो धरौटी रकमले कति जना पीडितलाई झुक्याउन, ठाट्न तथा छल्न सकिने हो, अझै पनि त्यस्तो दुस्साहसपूर्ण काममा उनीहरू जुटिरहेकै थिए । यतिबेला उनीहरू अर्को षडयन्त्रमा समेत जुटिरहेको खुलासा हुन आएको छ ।
कालिका साकोसलाई आजको यो अवस्थामा पुर्याउने ‘मास्टर माइण्ड’ भनेकै सो सहकारीका प्रमुख प्रशासकीय अधिकृत रहेका वेदराज खनिया हुन् भन्ने यसअघि केही भुक्तभोगीहरूले भन्ने गरेको भनाई यतिबेला सत्यको नजिक पुगेको आभास भएको छ । त्यो खाडलबाट उम्कनका लागि उनीहरूले चालेका एक पछिका अर्का कदम ‘सुकिदे गाँडभन्दा फुकी दे गाँड’ सावित हुने स्थिति उत्पन्न भएको छ ।
पछिल्ला दिनमा नानुमाया पराजुली(प्रअ शिशुविद्याश्रम मावि, राइनास– ५)ले लिनु पर्ने बचत रकमको हिसाब मिलाउनका लागि आफ्ना ज्वाइँ सुदीप पाण्डेलाई वेदराज खनियाका नाउँमा रहेको चितवनको घडेरी खरिद गर्न लगाउनु भएको रहेछ । पराजुलीको रकमबाट मिलाएर थप गर्नु पर्ने रकमका त्यो बेलामा नपुग भएको करिब आठ लाख रुपैयाँ रहेकोमा त्यसको चेक लिएर (नानुमायाको शेयर रकमको समेत) बसेका वेदराज खनियाले लिएका रहेछन् । सो ठगी काण्ड मच्चिएदेखि वेदराजको बैंक खाता रोक्का भएको हुँदा उनले सो रकम आफ्नी श्रीमती सीता पोखरेलको खाता नंबर दिएर रकम जम्मा गर्न लगाएका रहेछन् । सो रकम चुक्ता गर्ने क्रममा डेढ लाख रुपैयाँभन्दा कम मात्र रहेको अवस्थामा वेदराजले पराजुलीको ज्वाइँका नाउँको बैंक खाता चैत ३ गते रोक्का गरिदिएछन् ।
आफ्नो रोकिएको खाता फुकुवा गर्नका लागि बाँकी रकम लिएर सुदीप चैत १८ गते बेसीशहर आउनु भएको रहेछ तर उहाँलाई वेदराजले ‘तिम्री शाशुआमा नानुमायाले हाम्रा विरुद्ध दिएको मुद्दा फिर्ता नगरेसम्म तिम्रो खाता पैसा दिए पनि खोल्दिन जे गर्छौं गर’ भन्ने धम्कीपूर्ण बचन लगाउँदै थर्काउँदै फिर्ता पठाएछन् ।
उनीहरूको नियत र भनाइ नानुमायाको शेयर रकम ५० हजार समेत त्यसमै गोलमटोल गर्ने देखिएको उहाँले बताउनु भएको छ ।
घुडाको दवाई नाइटोमा लगाई :
नेपाली जनजीवनमा यौटा प्रचलित उखान छ ‘घुडाको दवाई नाइटोमा लगाई’ । यही उखान चरितार्थ गर्दै थप प्रष्ट हुन आएको छ कि ! कालिका सहकारीको ठगी काण्डमा मुछिएका र सो काण्डका प्रमुख नायक रहेका प्रमुख प्रशासकीय अधिकृत वेदराज खनियाले गरेको व्यवहारले बोलिरहेको निचताको पनि पराकाष्टा हुने गरी यिनीहरू कति हदसम्म तल ओर्लिएका छन् ? र अझै ओर्लने दौडमा छन् भन्ने पुष्टि हुन आएको छ । नानुमायाले डुबेको त्यो सहकारीको त्यही आठ लाख रुपैयाँ ऋण भने पनि घटाउन सहयोग गर्नु भएकोमा धन्यवाद भन्दै कृतज्ञ हुनुपर्नेमा उल्टो ‘हाम्रा विरुद्धको मुद्दा फिर्ता नलिएसम्म पैसा बुझाए पनि खाता खोलिदैन, खोल्दिन जे नाप्छै नाप’ भन्नुको अर्थ के हो ?
वेदराजको सो घडेरी विक्रीको व्यवहारमा कालिका साकोस जोडिएको भए पनि कानुनतः नानुमाया पराजुलीले कालिका सहकारीको ठग सञ्चालकहरूका विरुद्ध दिनु भएको मुद्दा र उहाँका ज्वाइँ सुदीपको खाता रोक्का गर्ने विषयको तालमेल कसरी मिल्न सक्छ ? सुदीपले वेदराजको व्यक्तिगत जग्गा किन्नु भएको हो न कि कालिका साकोसका नामको ?
त्यतिमात्र हैन, नानुमाया पराजुलीसँगै कालिका सहकारीको ठग सञ्चालकहरूका विरुद्ध मुद्दा दायर गर्नु हुने विष्णुप्रसाद अधिकारीलाई समेत ‘कुनै ऋणीका नाउँको जग्गा खान्छौं कि ? चेक लिएर बस्छौं ? र हिसाब मिलाउँछौ ! हैन भने तिम्रो पनि बोर्डिङ कसरी चल्दो रहेछ हेर्छौैं ?’ भन्ने जस्ता धम्की (सो आमाविका प्रिन्सिपलमार्फत) दिएको समेत छताछुल्ल हुन आएको छ ।
नानुमाया पराजुली, विष्णुप्रसाद अधिकारी(पूर्वप्रअ लमजुङ मावि, संस्थापक अर्थ्ली प्याराडाइज आमावि)लाई यसरी धम्क्याउने वेदराज खनिया प्रवृत्तीले अन्य सर्वसाधारणलाई के कति लोभ्याउने, धम्क्याउने, थर्काउने र गुमराहमा राख्ने सुस्साहस गरेका होलान् ? सहज अनुमान गर्न सकिन्छ ।
यसबाट कालिका सहकारीको ठग सञ्चालकहरूले आफूहरूका विरुद्धका उजुरकर्ताहरू विरुद्धमा के के मात्र गर्न उद्दत छैनन् ? भन्ने थप प्रमाण खोज्न परोइन । त्यसो त उनीहरूलाई आफ्ना मान्छे उठाएर त्यहाँबाट सुको पैसा सुँघ्न समेत नपाएका पछि सो काण्डमा मुछिएका २६ जनालाई समेत पोलेबाट पनि उनीहरूको नियत यसअघि नै उजागर भएको हो ।
त्यति मात्र हैन उनीहरूले गरेका करतुतका समाचार लेखेर सर्वसाधारणलाई सुसूचित गराउन पत्रकारिताको जिम्मेवारी, कर्तव्य एवम् दायित्व तथा धर्म निर्वाह गरिआएका अन्तरङ्ग न्यूज डटकमका अध्यक्ष तथा तथा सो साप्ताहिकका सम्पादक नवराज पहाडीले लेखेको तिलजस्तो विषयलाई समेत पहाड बनाएर प्रेस काउन्सिलमा समेत उजुरकर्ता बनेर ‘रुखबाट चरा खसेर मर्छ’ भन्ने सोचमा डुबेका वेदराज खनियाहरूको जमातलाई ‘तातोपानीले घर पोल्ने दुस्सास गर्नेहरू जमात’को संज्ञा दिने पहाडीले भनेकोसमेत थप प्रमाणित हुन आएको छ । कालिका सहकारीका ठग नियत भएका वेदराज खनियालगायतका मतियारहरूलाई हरेक हप्ता आउने बिहीबारले नराम्रोसँग झस्काउने र तर्साउने गरिआएको छ । उनीहरूका विरुद्ध पुर्पक्षमै राखेर उक्त सहकारी ठगी मुद्दाको पुर्पक्ष गरिनु पर्छ भन्ने जिल्ला न्यायाधिवक्तद्वारा माग दावी गरिएको अपिलको बिहीबारका दिन पेशी पर्ने गरेको छ । उक्त मुद्दा सुनुवाई हुँदा उनीहरूलाई उच्च अदालत पोखराले थुनामै राखेर मुद्दा पुर्पक्ष गराउनु भन्ने आदेश दिएमा आश्चर्य हुने छैन ।
स्मरणीय छ, यसप्रकार कालिका सहकारीको ठग सञ्चालकहरूले दुनियाँलाई अनाहकमा दुःख दिने इरिटेड गर्ने कार्य गरेबाट सुल्झिने संकेत देखिएको सो काण्ड पनि झनै बल्झिने स्थिति बलियो बन्दै गएको आम बुझाई छ ।
प्रकाशित मिति २०८० चैत्र १९, सोमबार ०९:४८ गते