ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङले मलाई दोस्रो पटक लमजुङ भम्रण गर्ने सुनौलो अवसर जुराइ दियो । वेदान्त शिरोमणि कविवर दिल्लीजङ गुरुङको ११९औं जन्म जयन्तीका अवसरमा आयोजना गरिएको राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा छनौट भएको खबर प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले मेसेन्जर र फोनबाट गराउनु भयो । कुनै पनि मानिसका लागि आफूले गरेको काममा सफलता पाउँदा खुशीको कुरा त अवश्य हो नै, तर एउटा कलम चलाउने मानिसको सिर्जनाले उत्कृष्ट स्थान पाउनु जस्तो खुशी उनका लागि ठूलो खुशी अरु कुनै हुन सक्दैन ।
यो खबर पाएको दिनदेखि मेरो मनमा लमजुङ खेल्न थाल्यो । आमन्त्रण गरिएको पत्र कम्प्यूटरमा घरी घरी खोलेर हेर्न मन लाग्न थाल्यो । दोहोर्याएर तेह्रयाएर पढ्न थाले पत्रलाई । मैले चैत्र ६ गतेका दिन लमजुङ जाने निधो गरे । चैत्र ६ गते बैतडी गोठलापानीबाट महेन्द्रनगरका लागि चल्ने दिवा सेवाको बसमा टिकेट काटियो । बिहान ६ः४० बजे छुटेको बसको बी साईडको ३– ४ नम्वरको सीटमा मेरो जीवन सहयात्री सीता दयालका साथमा साँझ ५ः०० तिर महेन्द्रनगर नानीबाबुहरूको कोठामा पुग्यौं ।
बैतडीबाट चार दिनको यात्रा पार गरी लमजुङमा :
भोलिपल्ट ७ गतेका दिन नानीबाबुहरूसंग बसियो । ८ गतेका दिन महेन्द्रनगरबाट पोखरा जाने बसमा तनहुँको डुम्रे बजारसम्मको टिकट काटियो । भोलि महेन्द्रनगरबाट पोखराको गाडीमा आउँदैछु भनेर प्रतिष्ठानका अध्यक्ष पहाडीलाई जानकारी गराएँ । एउटा उत्साह बोकेको भ्रमणका बारेमा मैले मेरा शुभ चिन्तकहरूमा बेला बेलामा खबर सम्प्रेषण गरिरहन्थे ।
यात्रा लमजुङ हुने भएपछि २०७५–७६ साल तिर बैतडी जिल्लामा प्रमुख जिल्ला अधिकारी रहेका आनन्द पौडेल सरलाई सम्झे । उनलाई मैले आफ्नो यात्राबारे फोन सम्पर्क गरेर जानकारी गराए । उहाँ मेरो जीवनका मुख्य अभिभावक तथा शुभचिन्तक हुनुहुन्छ । उहाँले आफू अहिले प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा कार्यरत रहेको सुनाउनु भयो । उहाँले भन्नुभयो, ‘अब त मलाई बैतडीले बिर्सिसक्यो होला ।’ उहाँले बैतडी जिल्लाबाट उद्योग मन्त्री बनेका माननीय दामोदर भण्डारीलाई सम्झनु भयो । तत्कालीन अवस्थादेखि हालसम्म शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रराज अवस्थीलाई पनि उहाँले सम्झिनु भयो । उहाँ सितको लामै सम्वाद बैतडी र लमजुङका बारेमा चल्यो र मलाई बधाई पनि दिनु भयो ।
चैत्र ८ गते महेन्द्रनगर पोखराका लागि १ः०० बजे छुट्ने भनिएको बस आधा घण्टा ढिलो गरी साढे एक बजे छुट्यो । भोलिपल्ट ९ गतेको बिहान तनहुँको डुम्रेबजार पुर्यायो । म त्यही डुम्रेमा झरे । डुम्रेबजारबाट तुुरन्तै लमजुङको बेसीशहरका लागि गाडी चढे । स्थानीय गाडी भएको हुनाले बाटो बाटोमा यात्रीहरू झार्दै हाल्दै गरेर १२ः३० बजे बेसीशहर पुर्यायो ।
प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले भने अनुसार नै बेसीशहरको माइक्रो काउन्टर नजिक झरे र नवराज पहाडी सर त्यही स्थानमा आएर मलाई रिसिभ गर्नु भयो । उहाँले नजिककैको एउटा होटेलमा मलाई बसाएर आफू कार्यक्रम स्थल घनपोखरा जाने तयारीमा जुुट्नु भयो । यस प्रकार म बैतडीबाट चार दिनको यात्रा पार गरी लमजुङमा पुगेको थिए ।
सिमसिम पानीको स्वागत, शीतप्रवाह र सुधा नदी किनारको बस यात्रा र पुलकित हामी :
बेसीशहरबाट आयोजकले हामी सबैलाई बस लाने बन्दोबस्त गरेको रहेछ । बस दुई बजेतिर चोकमा आई पुग्यो । सहभागी साथीहरू र आयोजकहरू जम्मा हुँदै गए । काठमाडौंबाट पनि एउटा बसमा स्रष्टाहरू निम्त्याइएका रहेछन् । त्यसको नेतृत्व स्वयम् आयोजक प्रतिष्ठानका अध्यक्ष पहाडीले गर्नु भएको थियो । हामी करिव चार बजेतिर कविवर दिल्लीजङ गरुङको जन्मघर मस्र्याङ्दी गाउँपालिका– २ घनपोखराको बाटो लाग्यौं, जहाँ कार्यक्रम स्थल थियो । त्यो बेलामा सिमसिम पानी परिरहेको थियो । लाग्यो ! हामीलाई प्रकृतिले पनि स्वागत गरिहरेको छ । हामी केहीका लागि नयाँ बाटो, नयाँ गाउँहरू, मैले देखेका र अनुमान गरेका भन्दा फरक घरहरू, खेतिपातीहरू, हरियाली जंगल देखिए । बेसीशहरबाट मर्स्याङदी नदीको पूर्व तिरको भेगबाट त्यो नदीसँग लुकामारी खेल्दै मालेबगर, बगैंचा हुँदै भलाम खोला हुँदै नयाँ नयाँ दृश्यहरू आँखामा कैद गर्दै गन्तव्यतर्फ लागियो । त्यो सडक नेपालका प्रसिद्ध १० पदयात्रा मध्येको एक अन्नपूर्ण चक्रीय पदमार्गसमेत रहेछ । तर ऐले भने सडक मनाङसम्मनै पुगेको हुँदा पदमार्गको आवस्था भने कथा जस्तो बनिसकेको रहेछ । जे होस् सिमसिम पानीको स्वागत, शीतप्रवाह र सुधा नदी किनारको बस यात्राले हामीलाई निकै पुलकित बनाएको थियो ।
साहित्यका लागि पर्यटन काव्ययात्रा :
हामीहरूका लागि रिजर्भ गरिएका दुवै बसमा ‘साहित्यका लागि पर्यटन काव्ययात्रा’ नामक व्यानर टाँसिएको थियो । होमस्टेको हव बन्दै गरेको लमजुङले अब साहित्यका माध्यमबाट पनि पर्यटनको विकास गर्ने योजना बनाइरहेको आयोजक प्रतिष्ठानका अध्यक्ष पहाडीले सुनाउनु भयो । त्यो भनाईले पनि हामीलाई फरक स्वाद दिइरहेको थियो ।
बसीशहरबाट छुटेको बस बगैंचा भन्ने ठाउँमा ऐले बजार विस्तार हुने क्रममा रहेको देखियोप, वारी पारी, अगाडि जता हेरे पनि पहाडै पहाड मलाई आफ्नै गाउँमा घुमेझैं अनुभूति भएको थियो ।
त्यसपछि भने हामी मर्स्याङदी(शीतप्रवाह) नदी छाडेर खुदी(सुधा नदी) खोला र मुख्य खुदी बजारलाई छाडेर वारी बायाँतर्फबाट घनपोखरा बेसी अर्थात कार्यक्रम स्थल रहेको मोर्ङी गाउँ पुगियो । जो मर्स्याङदी– २, घनपोखराको कविवर हुर्के बढेको स्थाल (निवास)मा पुगियो । जो कार्यक्रम स्थलको क्षेत्र समेत रहेछ । त्यो गाउँमा पुग्ने वेलामा पनि मसिनो सिमसिम पानी पर्ने क्रम रोकिएको थिएन । लाग्थ्यो, त्यो ऐतिहासिक स्थलोमा कविवरले हाम्रो स्वागतका लागि स्वर्गबाट स्वागत गरिरहेको छ । काठमाडौंबाट आएको गाडी र हामी चढेको गाडीसंग संगै पुगेको थियो । जब हामी कविवरको निवासमा पुग्यौं, हामीलाई त्यहाँ रहेको मिलिजुली र सिर्जनशील आमा समूहमा आवद्ध दिदी बहिनीहरूले सबैको घाँटीमा फूलमाला पहिराएर स्वागत गर्नु भयो ।
जल भरिएका गाग्री, भुुटेका मकै, भटमास, गुन्द्रुकको अचार र मोहीका परिकार :
कविवरको निवासमा प्रवेश गर्ने थल, गेटमा पानीका जल भरिएका गाग्रीहरू राखिएका थिए । अलि अलि चिसो बढेको थियो । हामीलाई तातो पानी दिइयो । त्यसपछि खाजा स्वरुप त्यही गाउँमा उत्पादन भएको अर्गानिक वस्तुहरू भुुटेका मकै, भटमास, गुन्द्रुकको अचार एक ग्लास मोही (ठेकीबाट सारेर) हाम्रा हात हातमा थमाइयो । साथमा सेल रोटी पनि थियो, सबै साथीहरूले फोटाहरू खिच्दै र खाजा खाँदै गर्न थाले । यस कार्यबाट गाउँको महत्व दर्शाइरहेको अनुभूति भइरहेको थियो ।
खाजा खाइसकेपछि अतिथिहरूलाई रातमा बस्न/सुत्न सेल्टरका लागि कविवरको निवासको केही तल कविवरले आफ्नो पालामा भूमिदान गरी निर्माण गरिएको त्रिभुवन माविका कोठाहरूमा व्यवस्थान गरिएको रहेछ । विद्यालयका कोठाहरू निकै सफा सुग्घर थिए । कार्पेट र म्याटहरू बिछ्याइएको थियो । ओड्नका लागि व्यवस्थापकले रेडक्रस लगायतका संस्थाहरूबाट कम्बलहरू जुटाइएको रहेछ । हामी त्यहाँ पुगेर हामीले आ–आफ्नो सरसमान झोलाहरू राखेका मात्र के थियौं, कविवर निवासको माथि तिर रहेको मोर्ङी सामुदायिक भवनमा आउनु भन्ने जानकारी गराइयो । त्यो भवन निर्माणका लागि पनि कविवरकै परिवारले जग्गा दान गरी निर्माण गरिएको भन्ने सुन्न पाउँदा थप हर्ष लाग्यो ।
आफ्ना झोलाहरू राखेर साँझको खाना खान मोर्ङी सामुदायिक भवनमा गयौं र खाना खाएर भवनको हलमा ठाडोभाकाको कार्यक्रम हुन्छ भन्ने जानकारी आयोजकबाट दिइएको थियो । हामी त्यो कार्यक्रममा सरिक भयौं ।
लमजुङको ठाडोभाकाले सुदुरपश्चिमको देउडा र ठाडी भाका तथा बैतडीको भाडाहा र चैतलोलाई सम्झायो :
साँझको खाना पछि ठाडोभाका कार्यक्रम शुरु भयो । ठाडोभाकाको बारेमा ठाडोभाका लोककला प्रतिठानका अध्यक्ष नवराज पहाडीले त्यसको इतिहास, परिभषा, वर्तमानमा ठाडोभाकाको अवस्थाबारे प्रकाश पार्नु भयो । कलाकर्मीहरूबाट ठाडो लोक भाका गाउन लगाइयो । हलमा हाामी पाहुना र स्थानीयको खचाखच भिडका बीचमा ठाडोभाका गुञ्जायमान भयो । साह्रै मिठो स्वरमा गाइएको भाकामा कलाकारसगैं अतिथिहरू पनि छमछमी नाच्न थाले । रातको एक बजेसम्म कार्यक्रम धुमधामका साथमा चल्यो ।
ठाडोभाका गाएर सवाल जवाफ गर्दा म मेरो जिल्लाको देउडा र ठाडी भाका सम्झिराखेको थिए । पुरुष र महिला बीच बीचमा एकअर्का सित स्वर मिलाएर गाउँदा म मेरो जिल्लाको भाडाहा र चैतलोलाई सम्झिरहेको थिए । कार्यक्रम एक बजे समापन भएपछि आराम गर्न आ–आफ्नो ठाउँमा गएर आराम गर्यौं ।
भोलिपल्ट अर्थात चैत १० गते कार्यक्रमको मुख्य दिन । बिहान पाँच बजे उठी हात मुख धोएर विद्यालयकै प्राङ्गण वरिपरि घुमघाम गरियो । सात बजे माथि कविवरको निवासमा नास्ताका लागि जानु पर्ने समय थियो । हामी त्यहाँ पुग्यौं र नास्ता चलिरहेको थियो । नास्तामा सेल, तरकारी, चटनी र चिया खायौं । केहीबेर फोटो सेसन चल्यो ।
वेदान्त शिरोमणि कविवर गुरुङको सालिका अनावरण :
त्यसपछि निर्धारित समय अनुसार ८ बजे त्रिभुवन माविसगैं जोडिएर रहेको लाँकुरी चौतारा– जहाँ बसेर वेदान्त शिरोमणि कविवर गुरुङले कविता कोर्ने गुर्न हुन्थ्यो मात्र हैन, लाँकुरी नामक खण्डकाव्य समेत लेख्नु भएको जानकारी पाइयो । त्यो चौतारासँगै कविवरको सालिक स्थापना गरिएको रहेछ । त्यो स्थलमा त्यो वडाको कार्यालय भवन, स्वास्थ्य चौकी भवन समेत तारबारको घेरामा रहेछ । त्यो जग्गा समेत कविवरकै परिवारबाट प्रदान गरिएको जानकारी मिल्यो ।
संस्कृतिविद् एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति डा. जगमान गरुङ :
कविवर डिल्लीजङ गुरुङको सालिक अनावरणको कार्य प्रारम्भ भयो । कार्यक्रमका प्रमुख अतिथि संस्कृतिविद् एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति डा. जगमान गरुङ अघिल्लो दिनमा नै कार्यक्रम स्थलमा आइसक्नु भएको थियो । कार्यक्रमलाई उहाँको उपस्थितिले निकै गौरवपूर्ण बनाएको अनुभव गरिएको थियो । उहाँबाट सालिक अनावरणको काम गरियो । सालिक अनावरण पश्चात सालिकसगैं उभिएर फोटो खिच्ने काम पालोपालो गरियो । कविवर दिल्लीजङ गुरुङका परिवारहरू, स्थानीयहरू, कार्यक्रमका अतिथीहरू सबैले सालिकसंग एकल, युगल र सामूहिक रुपमा फोटा खिच्ने काम भयो ।
अनावरणको काम समापन पछि सबैलाई डिल्लीजङ गुरुङको निवासको माथि रहको कार्यक्रम स्थल मोर्ङी सामुदायिक भवनमा उपस्थित हुनु पर्ने पूर्व जानकारी थियो । त्यो भवन रोडको नजिक थियो । गाडीहरू त्यसै ठाउँमा स्टेण्ड गरिका थिए । घर फर्किन सजिलो होस् भनेर । राति वास बसेको ठाउँबाट आ–आफ्नो झोला बोकेर सबै कार्यक्रम स्थलमा पुग्यौं ।
मर्स्याङ्दी गाउँपालिका प्रवर्द्धक :
कार्यक्रम औपचारिक रुपमा सुरु भयो । त्यस कार्यक्रमको सोही स्थान रहेको मर्स्याङ्दी गाउँपालिका प्रवद्र्धक रहेछ । त्यो दृश्यले पनि एकखालको खुशीको सञ्चार गरायो । यो सन्देश मुलुकभरका स्थानीय हतमा पुग्नु पर्छ भन्ने लाग्छ ।
ठाडोभाकामा स्वागत :
कविवर दिल्लीजङ गुरुङका कान्छा सुपुत्र मेजर गोपाल गुरुङ(८२)को अध्यक्षतामा गरिएको कार्यक्रमको प्रमुख अतिथि संस्कृतिविद् डा.जगमान गुरुङ हुनुहुन्थ्यो । अनेसासका नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केशी, गण्डकी प्रदेशसभाका सदस्य भेषबहादुर पौडेल, त्यसै गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, छिमेकी क्ब्होलासोंथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङ, त्यस जिल्लामा क्रियाशील रहेका विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलगायतका थुप्रै गन्यमान्य व्यक्तित्वहरूलाई मञ्चमा आसन ग्रहण गराइयो । कार्यक्रमका सहभागी प्रमुख अतिथि सहितका पाहुनालाई ठाडोभाकामा स्वागत गरी नयाँपन दिइएको थियो ।
तीन कृतिको विमोचन, पुरस्कार वितरण र कवि गोष्ठी :
कार्यक्रममा कविवर डिल्लीजङ गुरुङकाबारेमा कविवर मेदिनीनाथ सुवेदीद्वारा लेखिएको ‘मेरा कविगुरु डिल्लीजङ गुरुङ’, अनेसास नेपाल च्याप्टरको राष्ट्रकवि विशेषांकको दर्पण र आयोजक ठाडोभाका प्रतिष्ठानको स्मारिका विमोचन गरियो । कार्यक्रममा भाषा साहित्य क्षेत्रमा योगदान पुर्याउनु भएका लब्धप्रतिष्ठित व्यक्तित्वहरूलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरियो । कवि गोष्ठीमा विभिन्न क्षेत्रका कविहरूले आफ्ना रचनाहरू बाचन गरेका थिए ।
पुरस्कृत हुँदा हर्षित :
गोष्ठीमा प्रतियोगितामा उत्कृष्ठ रुपमा छनौट भएका कविहरूले समेत आ–आफ्नो रचना वाचन गर्नु भयो । प्रतियोगितामा छनौट भएका कविहरूलाई पुरस्कार वितरण गरियो । म आफूले पनि पुरस्कार पाउँदाको पल निकै हर्षानुभूति गरेको थिए । करीब साढे चार बजे तिर कार्यक्रम समापन भयो । कार्यक्रम समापनपछि सबै आ–आफ्नो क्षेत्र तिर फर्किन हतारो गर्न थाले । अधिकाँस सबै समूहमा वा साथी– साथी भएर आएका थिए ।
बैतडीबाट एकल सहभागी :
सुदूरपश्चिमको बैतडीबाट त्यो कार्यक्रममा सहभागी हुन पुग्ने एक जना म मात्र थिए । एक जना पार्वती म्याडम डँडेलधुराबाट प्रतिनिधित्व भए पनि उहाँ काठमाडौंबाट आउनु भएको रहेछ र उतै फर्कनु भयो । काठमाडौंबाट आयोजकले रिर्जभ बसको प्रवन्ध गरेको थियो । मैले पनि मनमनै विचार गरें, मुग्लिङसम्म काठमाडौंकै टिमसँगै जाने र मुग्लिङबाट पश्चिम जाने जो गाडी समात्ने सोंच बनाए । एक जना काठमाडौंबाट आएका साथीलाई मैले यो प्रस्ताव राखे । तर उनले गाडी प्याक छ भन्ने जवाफ दियो । १२ गते फागु पूर्णीमा भएका कारण छुट्टीका दिन लामो दुरीका सवारी साधन चल्छन् कि चल्दैनन् ? भन्ने मनमा मलाई पीर थियो । मैले एउटा उपाय खोजे । मेरो समस्याको हल लोककला प्रतिष्ठानका अध्यक्ष समेत रहेका नवराज पहाडीलाई काठमाडौको टीमसंग कुरा गरिदिनु भनी अनुरोध गरे । उहाँले भन्नुभयो, ‘काठमाडौका साथीहरू आज फर्किदैनन्, आज राइनासकोट बस्छन् भोलि मात्र निस्किन्छन् उनीहरू त ।’ मैले भने ‘म पनि राइनासकोट जान्छु । उहाँले त्यसो भए म कुरा गरिदिन्छु । उहाँले काठमाडौंको टोलीको नेतृत्व गरेका मध्येका एक कवि ऋषभदेव घिमिरेलाई कुरा गरी दिनु भयो । ऋषभले हुन्छ सगैं जाउँला भन्नुभयो । मैले भने ‘सर पक्का हो नि ! मलाई राम्ररी चिनिराख्नु ।’ उहाँले हाँस्दै भन्नुभयो, ‘मलाई पनि चिनिराख्नु ।’ म खुशी भए । एउटा खुशी त साधन पाएर भयो । अर्को त्यो भन्दा ठूलो खुशी भनेको लमजुङकै ग्रामीण पर्यटकीय स्थल राइनासकोटको अध्ययन गर्न पाउनु ।
फागु पूर्णिमा र राइनासकोट :
करीब साढे पाँच बजेतिर घन पोेखराबाट गाडी हिड्यो, राइनासकोट वास बस्ने गरी । त्यो यात्राको उद्देश्य फागु पूर्णिमा राइनासकोटमा मनाउने थियो । बेसीशहरबाट पाउँदी बजारसम्म केही स्थानीय साथीहरू हामीसगैं फर्किए । मध्यमर्स्याङदी जलविद्युत आयोजनाको बाँध स्थल, उदीपुर, भोटेओडार हुँदै हामी पाउँदी पुगेका थियौं । बाटोमा स्थानीय साथीहरूले गाडीमा बसेर गीत गाए, हामी सबैले ताली बजाएर ती साथीहरूलाई साथ दियौं । पाउँदी बजारबाट मर्स्याङदी पारी तरेर उकालोका घुम्ती घुम्ती मोड काट्दै करीब सात बजेतिर पुगियो राइनासकोट ।
राइनास होमस्टेका परिकल्पनाकार राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङ :
यसअघि आयोजक प्रतिष्ठानका अध्यक्ष पहाडीले सोही गाउँमा पैतृक स्थलो भएका राइनास होमस्टेका परिकल्पनाकार राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङलाई साहित्यकारको टोली आउँदैछ भनेर अग्रिम जानकारी दिनु भएको थियो । राति राइनासकोटको सामुदायिक होमस्टेमा बस्ने र भोलिपल्ट राइनासकोटको अध्ययन भ्रमण गर्ने योजना थियो ।
मांसाहारी र साकाहारीलाई अलग अलग ठाउँमा व्यवस्थापन :
कति पाहुना आउने र कति जना मांसाहारी अनि कति जना साकाहारी भनेर पहिल्यै विवरण मागिएको थियो । हामी राइनास कोटको सामुदायिक होमस्टेमा पुग्ना साथ होमस्टेका अध्यक्षले तपाईहरू कताबाट आउनु भएको भनेर सोध्नु भयो । साहित्यकारहरूको नेतृत्व गरिरहेका एक जनाले भने हामी साहित्यकारको टीम काठमाडौंबाट आएका हौं । उनले हाम्रो टोलीलाई विभाजन गर्यो । मांसाहारी र साकाहारीलाई अलग अलग ठाउँमा व्यवस्थापन गर्यो ।
हामी मांसाहारी जम्मा ९ जना भयौं । हाम्रा लागि खाना एक ठाउँमा बन्यो । खाना खानु भन्दा अगाडि हामीलाई पानी, चिया मकैका लाया र अचार खान दिएर स्वागत गरेको थियो । खाना खानु अघि खान खाई सके पश्चात् पनि थुप्रै मीठा मीठा गफहरू ठोकिए साथीहरूको माझमा । सुत्ने बेला व्यवस्थापकले अरु कोठाहरूमा पनि सुत्ने व्यवस्था मिलाए ।
भोलिपल्ट ११ गते बिहान ५ः०० बजे सबै नित्यकर्म गरी राइनासकोटको दृश्यावलोकनका लागि तयार भयौं । गाडीमा जाने कि ! हिडेर जाने भनेर एक छिन टिममा छलफल भयो । कच्ची बाटो ठूलो गाडी उकालो चढ्न नसक्ने र हिडेर जाँदा बाटो छोटो पर्ने कुरा जानकारीमा आएपछि हामी हिड्दै फोटा खिच्दै राइनासकोटको चुचुरोमा पुग्यौं । बिहानको बेला थियो, राइनासकोट कुइरोको सेतो घुम्टो भित्र लुकिरहेको थियो । हामीले उसको घुम्टो खोलेर उसको अनुहार मात्र हेरेनौं कि ऊ सित हामीले फोटा खिच्यौं र सेल्फी पनि हान्यौ ।
राइनासकोट र शाहवंशको साइनो :
राइनासकोटमा एउटा कटेज खोलेर चिया पसल चलाएका एक जान स्थानीय व्यक्ति गजमान घलेबाट राइनास कोटकोबारे मैले केही जानकारी लिन खोजे । उहाँले राइनासकोट र शाहवंशको गठिलो साइनो रहेको बताउनु भयो । राइनासकोटमा नरभुपाल शाहका कान्छा छोरा द्रव्य शाहले शासन गरेको स्थलो भएको जानकारी दिनु भयो । दाजु नरहरी शाह भन्दा भाइ द्रव्य शाह बलशाली थिए भन्ने भनाइ छ । राइनासकोटको चारै दिशातिर उनका फौंजहरू राखेका थिए । यी थुम्का जस्ता टाकुराहरूमा द्रव्य शाहका घोडा राख्थे । घोडाको तबेला थियो । त्यहाँ आगो ताप्ने अँगेना पनि रहेको थियो ।
होमस्टेमा कोदो, फापरका सेल र तरकारी नास्ता निकै स्वादिलो :
राइनासकोटमा गुरुङ र लामाहरूको वस्ती छ । राइनासकोट नजिकै दुई वटा सालिकहरू राखिएका थिए । ती सालिकहरू स्व. जिमाल नरबिरे गुरुङ लामा र स्व. नन्द लामा गुरुङका थिए । एक घण्टाको अध्ययन अवलोकन पछि हामी होमस्टेमै फिर्ता भयौं । होमस्टेमा कोदो, फापरका सेल र तरकारी बनेको थियो । नास्ता निकै स्वादिलो बनेको थियो र खायौं ।
१९ जिल्लाको दृश्यावलोकन गर्न सकिने राइनासकोट र लालीगुँरासको जाम :
फर्किनु भन्दा अगाडि राइनास नगरपालिकाका मेयर खडगबहादुर गुरुङसँग भेटघाट गर्यौं । उहाँकै निवासमा लालीगुँरासको चिया खाएर अनुभवहरू आदान प्रदान गरियो । उहाँले भने ‘पर्यटनका लागि राइनासकोट निकै सम्भावना बोकेको क्षेत्र हो । माथि कोटबाट १९ वटा जिल्लाको दृश्यावलोकन गर्न सकिन्छ । राइनासकोट वरिपरि रहेका लालीगुँरासको प्रशोधन गरेर जामहरू बनाएको पनि उहाँले सुनाउनु भयो । उहाँले भन्नुभयो, ‘यो कोदोे, फापर, सिस्नोको पिठो बनाएर पर्यटकलाई खुवाउन सक्ने उपहार वा किनेर लान सकिने सम्भवना छ । गाउँबाट सबै पलायन भएर विदेशीनुले गाउँ नै खाली हुने हो कि !’ भनेर चिन्ता पनि व्यक्त गर्नु भयो । उहाँले रोचकता साथ सुनाउनुभयो, ‘बुद्धि भएका, बल भएका र पैंसा भएका जति विदेश गइसकेका छन् ।’
मेयर सित भेटपछि फेरी होमस्टेमा गयौं । हामस्टेका आमाहरूले टिका लगाएर हाम्रो विदाइ गर्नु भयो । नमस्ते गर्दै हामी गाडीमा बस्यौं । मुग्लिङ बजारसम्म रमाइलो गर्दै काठमाडौंका साथीहरूसँगै म फर्किएँ । मुग्लिङबाट साथीहरूलाई विदाईका हात हल्लाउँदै बिदा भए । मुग्लिङमा दुई घण्टा प्रतिक्षा गरेपछि पोखराबाट महेन्द्रनगरका लागि आएको बसमा चढेर आफ्नो निवास पश्चिम तिर लागे ।
मेलौली– ७, बैतडी ।
प्रकाशित मिति २०८० चैत्र २३, शुक्रबार ०७:३२ गते