कालिका सहकारी ठगी : दोस्रो लटका २६ विरुद्ध उजुर गर्ने पाँच जना मात्र

कालिका सहकारी ठगी : दोस्रो लटका २६ विरुद्ध उजुर गर्ने पाँच जना मात्र

अन्तरङ्ग न्युज

@antaranganews

२०८० चैत ३० गते शुक्रबार ०६:०२

२६ जनाका विरुद्ध उजुर गर्नेमा करिब २४ सय रुपैया बचत भएकी एक महिला समेत रहेको पाइएको छ । यसप्रकार कालिका सहकारीका हर्ताकर्ता रहेका पीडक अर्थात ठग सञ्चालकहरूका विरुद्ध अन्य पीडितहरूले उजुरी किन नदिने भन्ने स्थिति समेत सुनिश्चित हुन आएको छ ।

पीडकहरूको पीडितलाई घेराबन्दी गर्ने क्रम जारी

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाममा कुनै दिन सञ्चालनमा रहेको कालिका बचत तथा ऋण सहकारी संस्थाको बहुचर्चित ठगी काण्डमा ३४ जना विरुद्ध उजुरी परेको विदितै छ । तीमध्ये ८ जनाका विरुद्धमा पहिलो लटमा आठजनाका विरुद्धमा उजुरी परेकोमा पनि उनीहरूको चलखेल तथा डिजाइनमा अन्य २६ जनालाई समेत डाम्ने काम भएको छ । उनीहरूका विरुद्ध उजुर दिनेहरू पनि तिनै आठ जनामध्येका पनि मुख्यनायकहरूको इसारामा चल्ने र उनीहरूका आफन्तजन भएको चैत २९ गते खुलासा हुन आएको छ ।
ती २६ जना उक्त सहकारी संस्था सञ्चालनमा कुनै बखतको समितिमा वा वर्तमान समितिमा रहेको भएता पनि सहकारीको नगद सञ्चालन कार्यमा खासै भूमिका नभएका व्यक्ति भएको खुल्न आएको छ । उनीहरूलाई मुछ्दा २– ३ वटा फाइदा हुने देखेर त्यो षडयन्त्र रचिएको बुझिएको छ । पहिलो यति धेरै मानिसलाई पोल्दा ती मात्र रहेनछन् धेरै मिलेर खाएका रहेछन् भन्ने भ्रम छर्न र सर्वसाधारणका आँखामा छारो हाल्दै ‘ती मात्रै हैन रहेछन्’ भन्ने देखाउँदै सहानुभूति बटुल्नका लागि हो । दोस्रो, तैमाया गुरुङलाई तर्साउने र आत्मसमर्पण गर्न लगाउने, तेस्रो, कथम्कदाचित उनीहरू पनि दोषि देखिए भने आफू उपर थोपरिने बिगो कम हुने, चौथो, धेरै मानिसलाई मुद्दामा मुछ्दा समय बढी लाग्ने र लिंगरिङ हुने, त्यो अवधिमा आफूले चलखेल गर्न पाइने जस्तो नियतका कारण यो षडयन्त्र बुनिएको समेत खुल्न आएको छ । ती २६ जनामा अधिकांश पुरानो समिति र उपसमितिमा रहेका व्यक्ति भएको खुल्न आएको छ । यसबाट पनि यस्तो गरिनुमा को कस्तो डिजायन वा नियत हो भन्ने बुझ्न कठिन हुँदैन । अझ अनौठो त के पनि देखिएको छ भने सहिदा मिया जसको घरमा वेदराज खनियाको भोजभतेर समेत चल्ने गर्दछ– उनी वर्तमान समितिमा हुँदाहुँदै पनि उनका विरुद्ध उजुरी नगरी उन्मुक्ति दिने प्रयास गर्नुले तथा पाँच उजुरकर्ताहरूको नाता तथा घनिष्टताले समेत यस कार्यका नायकहरू को को हुन् भन्ने छरप्रष्ट हुन आएको छ ।
त्यस्तो २६ जनाका विरुद्ध उजुर गर्नेमा करिब २४ सय रुपैया बचत भएकी एक महिला समेत रहेको पाइएको छ । यसप्रकार कालिका सहकारीका हर्ताकर्ता रहेका पीडक अर्थात ठग सञ्चालकहरूका विरुद्ध अन्य पीडितहरूले उजुरी किन नदिने भन्ने स्थिति समेत सुनिश्चित हुन आएको छ ।
२६ जनाका विरुद्ध उजुृर दिनेहरूमा दुई हजार ३९१ रुपैयाँ बचत रहेको सीता सेढाई, नौ हजार ६२० रुपैयाँ बचत भएका पदमराज लामिछाने, ६५ हजार ६८० बचत भएकी कुसुम श्रेष्ठ, एक लाख नौ हजार ४१५ बचत भएकी गीतादेवी लामिछाने र तीन लाख २४ हजार १०७ बचत भएकी उषादेवी घिमिरे रहेको जानाकारीमा आएको छ । उजुरकर्ताहरूले उनीहरू २६ जनाबाट आफ्नो विगो भराई विगो बराबरको जरिजाना गरी हदैसम्मको कारवाही गरी पाउँ भन्ने माग गरेका रहेछन् ।
पीडितलाई घेराबन्दी गर्ने क्रम जारी : 
पीडितहरूलाई घेराबन्दी गरी पीडकका सामु आत्मसमर्पण गराउनका लागि पीडिकहरू राम्रैसँग लागि परेको हामीले यसअघि पनि लेखेको हो । त्यसको थप प्रमाण आजै फेला परेको छ । पीडकहरूले मुलुकमा सुशासनको नारा र अभियान बोकेर हिडेर राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक धर्म केसीलाई फोन गरेर तपाईले पहाडी र तैमायालाई सम्झाइदिनु पर्यो, भनिएछ ।
केसीले उनीहरूलाई उहाँहरूले पाउनु पर्ने रकम सबै नगद पाउनु भएको हो ? भनेर सोध्नु हुँदा ‘हैन त्यसको व्यवस्था भएको छ, तपाईले भन्दिन पर्यो । भन्दै गोलमटोल उत्तर दिएछन् । त्यसपछि केसीले उधारो चेक लिने वा सहकारीका नामको बाहेकको जग्गा किन भन्ने जस्ता कुराले हुँदैन, उहाँहरू हाम्रो पार्टीको कार्यकर्ता भएपनि त्यस्तो काम गर्नुस् भन्न म सक्दिन, त्यस्तो गर्नु भयो भने त उल्टै उहाँहरूलाई पार्टीले कारवाही गर्नु पर्ने हुन्छ भन्दिनु भएछ । उहाँको त्यो जवाफ सुनेपछि भने पीडकहरूले पीडितहरू खासगरी तै माया गुरुङ, विष्णुप्रसाद अधिकारी, गंगा घले लगायतलाई त्यस अघिसम्म जग्गा र चेक भिडाएर उहाँहरूले पाउने रकम मिलाउने भन्ने सोच र योजना भताभुङ्ग हुन गई थप विलखबन्दमा परेको बुझिन आएको छ ।

प्रकाशित मिति २०८० चैत्र ३०, शुक्रबार ०६:०२ गते

हजुरको प्रतिक्रिया