
चण्डीस्थान(लमजुङ)– लमजुङको बेसीशहर नगरपालिका– ६ को सारिङ निवासी स्वतन्त्र अभियानका नायक मीनबहादुर भण्डारीको स्मरण गरिएको छ । उहाँको वार्षिक पुण्य तिथिका अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बेसीशहर नगरसमितिले बैशाख १ गते उहाँको स्मरण गरेको हो ।
सो अवसरमा रास्वपाका नगर अध्यक्ष कृष्णबहादुर राउतले स्व. भण्डारीको व्यक्तित्व र कीर्तित्वमा प्रकाश पार्नु भएको थियो । उहाँले रास्वपाको जन्म हुनु अघि नै स्थानीय निर्वाचनको बेलामा देशका ठूला भनिने पार्टीको पछि लागेर देश बन्दैन भन्ने उहाँले अठोर गर्नु भई अब फरक बाटो हिड्नु पर्छ भन्ने उदघोष गर्नु भयो । त्यसकै परिणाम स्वरुप यो वडामा हामीले स्वतन्त्र रुपमा प्रकाश थापालाई वडाध्यक्षमा चुनाव जिताउन सफल भएका हौं भन्नुभयो । स्व. भण्डारी साहसिक, समाजका लागि अमूल्य योगदान गर्नु हुने निर्भिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो, हामीले उहाँकै पदचाप पछयाउँदै उहाँको सपना साकार पार्नेतर्फ लागि परेका छौं राउतले भन्नुभयो ।
यसैगरी, रास्वपाका जिल्ला सहसंयोजक अशोक सापकोटाले उहाँ स्वर्गे हुनु भएको हिजो जस्तो लाग्छ तर एक वर्ष भइसकेछ भन्दै स्व. भण्डारीले आफ्नो नेतृत्वमा नेपालभरमै यो वडालाई नमूना वडा बनाउन सफल हुनु भएको छ । ऐले मुलुकभर उहाँकै अभियान सञ्चालन भइरहेको छ भन्दै उहाँको सपनालाई साकार पार्न सक्दा मात्रै उहाँ प्रति सच्च श्रद्धाञ्जली हुने उल्लेख गर्नु भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीकोतर्फबाट तयार गरिएको श्रद्धाञ्जली पत्र स्व. मीनबहादुरकी धर्मपत्नी विष्णुमाया भण्डारी र माहिला छोरा भरत भण्डारीलाई रास्वपाका जिल्ला सहसंयोजक अशोक सापकोटा, सो दलका नगर सभापति कृष्ण राउत, सोही पार्टीका उक्त वडाका सभापति तेजबहादुर भण्डारी, सो दलका कार्यकर्ता एवम् वरिष्ठ पत्रकार नवराज पहाडी, रास्वपाका कार्यकर्ता राजकुमार राउत लगायतले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो ।
संक्षिप्तमा मीनबहादु भण्डारी :
विसं १९९९ सालको चैत १२ गतेका दिनमा आमा टोपली र बाबा कालु भण्डारीको कान्छो सुपुत्रको रुपमा उहाँको सोही गाउँमा जन्म भएको हो । भारतीय सेनाबाट हवल्दार पदमा निवृत्त हुनुभएका उहाँ गाउँमा फर्केपछि सामाजिक काममा भिज्न थाल्नु भयो । सो क्रममा गाविसको उपाध्यक्ष हुनुका साथै गंगा मिलन माध्यामिक विद्यालय व्यवस्थापन समितिको सदस्य, रेडक्रस सोसाइटीको आजीवन सदस्य, नेकपा एमालेको वडा कमिटिको संयोजक लगायतका पदमा रहेर काम गर्नु भएको थियो ।
निरोगी तथा ऋष्टपुष्ट रहनु भएका उहाँलाई गाउँको वनभोज कार्यक्रममा जाँदा अचनाक पेट दुख्न गयो, त्यसपछि वनभोज समेत नखाई स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगियो । सलाई चढाएर डिस्चार्ज गरियो । तर पनि उहाँको शरिर गल्न छाडेर भोलिपल्ट थप उपचारका लागि काठमाडौं जाने क्रममा उहाँको बाटोमै निधन हुन गएको हो । त्यस समयमा उहाँ ८१ वर्षको हुनुहुन्थ्यो ।
उक्त कार्यक्रमको सञ्चालन राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति तेजबहादुर भण्डारीले सञ्चालन गर्नु भएको थियो ।
प्रकाशित मिति २०८१ बैशाख १, शनिबार १७:५३ गते