काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागढुंगा सुरूङले नेपाललाई सुरूङको नयाँ युगमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ । उहाँले मुख्य सुरूङ ब्रेक–थ्रु कार्यक्रम सम्बोधन गर्दै नेपाल विकास निर्माणको नयाँ गन्तव्यमा प्रवेश गरेको वैशाख ३ गते बताउनु भएको हो ।
नागढुंगा–नौबिसे सुरूङ मार्गको मुख्य सुरूङ छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगेर उक्त सुरूङ मार्गको ‘ब्रेक–थ्रु’ गर्नु भएको हो । उहाँले यो ऐतिहासिक सुरूङ मार्ग निर्माणमा योगदान पुर्याउने जापान सरकार श्रमिक र नेपाली जनतालाई बधाई दिनु भएको छ । उहाँले यो सुरूङले देशका विभिन्न स्थानबाट संघीय राजधानी प्रवेश गर्न र काठमाडौंबाट थानकोट हुँदै बाहिरिन निकै सहज हुने बताउनु भयो । अब यो सुरूङले यो क्षेत्रको सुरक्षा जोखिम कम हुनेछ । यो सडक क्षेत्रमा बर्षामा हुने पहिरोको जोखिम घटाउने उहाँले उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले विद्युतीय स्वीच थिचेर ब्लास्टिङ गर्नु भएको थियो । ब्लास्टिङ गरेसँगै सुरूङ छिचोलिएको थियो । ‘ब्रेक–थ्रु’ गर्नु पूर्व सुरूङ भित्रै पूजा गर्ने कार्यक्रम पनि राखिएको थियो । जापानी संस्कृति र हिन्दू परम्पराअनुसार पूजा गरिएको हो ।
सो सुरूङ मार्ग २ हजार ६ सय ८८ मिटर लम्बाइको मध्ये दुई मिटर खन्न बाँकी थियो । सो दुरीको सुरूङ खनेर ब्रेक थ्रु गरिएको हो । सुरूङमार्ग बनेपछि सिस्नेखोला– बलम्बु दूरी ५ किमी हुन्छ । सिस्नेखोला–बलम्बु जोड्ने सुरूङ तयार गरेर २.८ किमी दूरी घटाउन लागिएको हो । सिस्नेखोलादेखि काठमाडौं बलम्बुसम्म अहिले सडकको दूरी ८ किमी छ ।
आयोजनाको मुख्य सुरूङमा सवारी गुड्ने सडक साढे ९ मिटर चौडा हुन्छ । जसमा दायाँबायाँ साढे तीन÷तीन मिटर र बीचमा तीन मिटर सडक छुट्टाछुट्टै रेखांकन गरिएको हुन्छ । बीचको तीन मिटर दुवै तर्फका सवारी साधनले प्रयोग गर्न सक्छन् ।
योजनाअनुसार खत्रीपौवामा ‘रोड साइड सर्भिस स्टेसन’ रहन्छ । काठमाडौंबाट बाहिरिने र भित्रिने यात्रुका लागि कनेक्सन पोइन्ट हुने गरी स्टेसन बनाइने योजना छ ।
कुनै सवारी बिग्रियो भने पनि छेउमा अड्याएर राख्ने ठाउँ होस् र अन्य सवारी सजिलै आवतजावत गर्न सकून् भनेर बीचमा ३ मिटर खाली राखिएको आयोजनाले बताएको छ । सुरूङको दायाँबायाँ पैदलयात्रीका लागि पेटी रहन्छ । पेटी दुवैतर्फ एक÷एक मिटर रहने उल्लेख गरिएको छ ।
दूरीका हिसाबले सुरूङ मार्ग र अहिलेकै सडकबीच त्यति धेरै फरक नदेखिए पनि सुरूङ मार्गको प्रयोगबाट समयसँगै पेट्रोलियम पदार्थको पनि बचत हुने अपेक्षा छ । त्यतिमात्र हैन सुरूङमार्ग हुँदै काठमाडौंतर्फ आउँदा ३३ मिनेट र काठमाडौं बाहिर जाँदा २३ मिनेट समय बचत हुने आंकलन गरिएको छ ।
छुट्टै शुल्क लाग्ने :
सुरूङ मार्ग प्रयोग गर्ने सवारी साधनहरूले छुट्टै शुल्क तिर्नुपर्ने बताइएको छ । सुरूङ प्रयोग गर्दा हुने समय तथा पेट्रोलियम पदार्थ बचतलाई आधार बनाइ शुल्क निर्धारण गरिने आयोजनाको भनाइ छ ।
जाइकाले ऋण लगानी गर्दा नै पैसा कसरी उठाउने भन्ने प्रश्न उठेको थियो । टनेल प्रयोग गर्दा अर्थतन्त्रमा परेको प्रत्यक्ष र अप्रत्यक्ष लाभलाई आधार बनाएर शुल्क उठाउने र यसबाट क्रमशः ऋण तिर्ने सम्झौतामा उल्लेख छ । तर शुल्क के कति भन्ने खुलाइएको छैन ।
यो आयोजनाको कुल लगानी २२ अर्बभन्दा बढी लाग्ने अनुमान छ । कुल लागतमध्ये १६ अर्बभन्दा बढी जाइकाले सहुलियत ऋण उपलब्ध गराएको छ । यसको ब्याजदर ०.०१ प्रतिशत छ ।
नेपाल र जापान सरकारबीच २२ डिसेम्बर २०१६ मा सहुलियत ऋण सम्झौता भएको थियो । ६ अर्बभन्दा बढी सरकारको लगानी छ ।
सुरूको १० वर्ष मिनाहासहित चुक्ता समय ४० वर्ष छ ।
कस्ता सवारीहरू गुड्छन् ?
सुरूङ मार्गबाट मापदण्डअनुसार सामग्री बोकेका मालबाहक ट्रक, एम्बुलेन्स, दमकललगायत खतरारहित सवारी साधनहरू गुड्न पाउनेछन् । सुरूङ मार्गको निर्माण कार्य सम्पन्न भएपछि पनि सबै किसिमका सवारी साधनले यहाँबाट गुड्न पाउने छैनन् ।
दुई पांग्रे (मोटरसाइकल स्कुटर)लाई सुरूङ मार्गबाट आवतजावत गर्न दिइने छैन । आयोजनाका अनुसार पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरू, ग्यास बोकेका सवारी सुरक्षाका हिसाबले सुरूङबाट जान पाउँदैनन् । त्यस्तै मापदण्डभन्दा बढी ठूलो आकार बनाएर सामग्री बोकेका मालबाहक ट्रकहरू पनि सुरूङ मार्ग प्रयोग गर्न पाउँदैनन् । यस्ता सवारी साधन अहिलेकै सडक प्रयोग गरेर गुड्नुपर्छ ।
कहिलेबाट सुचारु हुन्छ सुरुङ मार्ग ?
सुरूङ छेडिने बित्तिकै सवारी साधन गुड्न पाउँछ त ? धेरैको जिज्ञासा छ । तर यसको निर्माण कार्य पुरा हुन अरु एक वर्षपछि मात्रै सवारी साधन गुड्न पाउने गरी निर्माण सकिने आयोजनाले बताएको छ ।
विकासका लागि जापान सहयोग नियोग (जाइका) को सहयोगमा २०६९ देखि २०७२ सालसम्म यस आयोजनाको सर्वेक्षण गरिएको थियो ।
आयोजनाको औपचारिक निर्माण २०७६ कार्तिक २८ गतेदेखि ठेकेदार कम्पनी हाज्मा आन्दो जेभीद्वारा थालिएको हो । सडक विभाग र जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनबीच अप्रिल, २०२३ (४२ महिना) भित्र आयोजना निर्माण सक्ने गरी सम्झौता भएको थियो ।
कोभिड– १९ को महामारीका कारण आयोजना निर्माण काम पछाडि धकेलिएको भन्दै ठेकेदार कम्पनी हाज्मा आन्दो जेभीले ४१६ दिन म्याद थप प्रस्ताव गरेको थियो । तर आयोजना कार्यालयले ८६ दिन म्याद थप गरेको थियो । म्याद थपपछि आयोजना थपिएको समयानुसार जुलाई, २०२३ भित्र उक्त कार्य सम्पन्न भइसक्नुपर्ने थियो । उक्त अवधिमा पनि काम नसकिएपछि २५ अप्रिल २०२४ सम्मका लागि म्याद थपिएको छ । थप भएको पछिल्लो म्याद सकिन अब १० दिन मात्र बाँकी छ ।
आयोजनाले अझै एक वर्ष म्याद थप गर्न माग गर्ने बताएको छ ।
प्रकाशित मिति २०८१ बैशाख ३, सोमबार २०:१३ गते